इजरेलमा सरकारलाई बन्धक मुक्त गराउन दबाव दिन हडताल
काठमाडौं,हमासले इजरेलबाट बन्धक बनाएर लगेकामध्ये छ जनाको शव गाजा स्ट्रिपमा फेला परेपछि इजरेलका विभिन्न स्थानमा हजारौँ मानिसले इजरेल सरकारसँग असन्तुष्टि व्यक्त गर्दै विरोधप्रदर्शन गरेका छन्।
बन्धक मुक्तिको सम्झौता गर्न दबाव दिने उद्देश्यले इजरेलको एउटा ठूलो ट्रेड यूनियन ‘हिस्टाड्रूट’ले सोमवार देशव्यापी हडताल आह्वान गरेको छ। त्यसको पूर्वसन्ध्यामा आइतवार देशभरि जुलुस निकालिएको थियो।
हडतालका कारण सोमवार इजरेलमा व्यापार व्यवसाय, विद्यालय, ब्याङ्क तथा यातायात प्रभावित भए। केही उडानहरूमा पनि हडतालको प्रभाव पर्यो।हडतालका क्रममा प्रदर्शनकारीहरूले विभिन्न सडकमा अवरोध गरेका छन्।हडताललाई राजनीतिक भन्दै सरकारले त्यसविरुद्ध अदालतको हस्तक्षेप खोजेको छ।
हडताल गर्ने निर्णयमा विपक्षी दल, तेल अभिभका नगरप्रमुख र प्रमुख उत्पादक सङ्घको समर्थन छ।
इजरेलको झण्डा अङ्कित लुगा लगाएर सडकमा भेला भएका प्रदर्शनकारीहरूले आइतवार तेल अभिभ, जेरुसलेम र अन्य सहरमा इजरेल सरकार र प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले बाँकी बन्धकहरूको मुक्तिका लागि हमाससँग सहमति गर्न पर्याप्त काम गरेको आरोप लगाए।
आइतवार आयोजित विरोधप्रदर्शन प्रायः शान्तिपूर्ण रह्यो। यद्यपि तेल अभिभमा भिडले प्रहरीको घेरा नाघ्दै एउटा राजमार्गमा अवरोध गरेको थियो।
नेतन्याहूले आफू बाँकी बन्धकको रिहाइ सुनिश्चित गर्न र देशको सुरक्षालाई संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन्।इजरेलभरि आक्रोशइजरेल डिफेन्स फोर्स (आईडीएफ)ले शनिवार दक्षिण गाजाको रफाह क्षेत्रस्थित भूमिगत सुरुङमुनि छ जनाको शव फेला परेको जनाएको थिए। मृतकमध्ये पाँच इजरेली र एक अमेरिकी नागरिक थिए।
आईडीएफका अनुसार इजरेली सैनिकहरू घटनास्थलमा पुग्नु केही समयअघि मात्रै ती बन्धकको हत्या भएको थियो।
उक्त समाचार प्रकाशित भएपछि सरकार र प्रधानमन्त्री नेतन्याहू हमाससँग भएका बाँकी बन्धकको रक्षा गर्न विफल भएको आरोप लगाउँदै चर्को विरोध हुन थालेको हो।आइतवार राति प्रहरीको घेरा नाघ्दै तेल अभिभस्थित एउटा मुख्य राजमार्गमा पुगेका कतिपय प्रदर्शनकारीहरू उक्त भेला कत्रो ठूलो छ भनेर हेर्न बसको छत तथा फोहोर सङ्कलन गर्न राखिएका ‘बिन’माथि पनि चढेका थिए।
सडकमा नारा लगाइरहेका कतिपयले नेतन्याहूको मुखुन्डो लगाएका व्यक्तिलाई घेरा हाल्दै, “हामीलाई उनीहरू जीवित चाहियो, जीवत, जीवित, जीवित…” भनेर नारा लगाएका थिए। एक प्रदर्शनकारीले बोकेको प्ल्याकार्डमा लेखिएको थियो, “तिमी प्रमुख हौँ। दोष तिम्रो हो।”
प्रदर्शनकारीहरूले प्रहरीविरुद्ध पनि नाराबाजी गरेका थिए। कतिले बन्धकहरूप्रति ऐक्यबद्धता व्यक्त गर्न हातमा पहेँलो पट्टी बाँधेका थिए।के भन्छन् सहभागीहरू
लेबर पार्टीकी सांसद नामा लाजिमीले बीबीसीलाई बताएअनुसार चर्को आवाज निस्किने र प्रकाश छर्ने ग्रिनेड प्रहरीले फ्यालेपछि उनी लडेकी थिइन् र उनलाई सामान्य चोट लागेको छ।
उनले उक्त प्रदर्शनलाई “उल्लेखनीय र महत्त्वपूर्ण” भन्दै सोमवार के हुन्छ त्यो मुख्य प्रश्न भएको बताइन्।
प्रदर्शनमा सहभागी हुनेमा गाजामा बन्धक बनाइएका इडानका पिता एलि श्टिभी पनि थिए।
“निर्णयकर्ताहरू अब बिउँझिएलान् कि भन्ने हाम्रो अपेक्षा छ। हामीसँग समय छैन।”उनका अनुसार आइतवार आयोजित जुलुसमा इजरेली समाजको सबै वर्गका मानिसहरू सहभागी थिए र उनीहरू बन्धकहरू फिर्ता होऊन् भन्ने पक्षमा छन्।
“मलाई मेरो छोराको धेरै न्यास्रो लागेको छ। सबै परिवारहरू पनि एक किसिमले बन्धकजस्तै भएका छन्।”
तेल अभिभको जुलुसमा सहभागी अर्की प्रदर्शनकारी नोगा बुर्क्मानले आफू “घरमा बस्न नसकेको” बताइन्।
“मानिसहरूले बुझेका छन् कि अब हामीले नियम तोडेर भए पनि केही गर्नैपर्छ। यो थालनी मात्रै हो।”पूर्वप्रधानमन्त्री पनि सहभागी
जेरुसलेममा प्रदर्शनकारीको एउटा ठूलो समूह प्रधानमन्त्री कार्यालयबाहिर भेला भएको थियो।
एक ५० वर्षे व्यक्तिले आइतवार आयोजित प्रदर्शन विगतको तुलनामा सबैभन्दा ठूलो भएको बताए। “आज अवस्था फरक छ, योभन्दा अघिको भन्दा भिन्न परिस्थिति छ।”
स्थानीय सञ्चारमाध्यमहरूले विपक्षी नेता तथा पूर्वप्रधानमन्त्री याअर लापिड पनि प्रदर्शनमा सहभागी भएको जनाएका छन्। उनी ‘येश आतिड’ पार्टीका नेता हुन्।
पूर्वप्रधानमन्त्री लापिडले बन्धकहरूको रिहाइका लागि नेतन्याहूलाई बाध्य पार्नका लागि हडतालप्रति आफ्नो समर्थन रहने बताएका थिए।हडताल आह्वान गर्दै ट्रेड यूनियन नेता आर्नोन बार-डेभिडले भने, “हामी एउटा समझदारीमा पुग्नैपर्छ। सम्झौता अरू कुराभन्दा धेरै महत्त्वपूर्ण छ।”
“हामीले सम्झौताको सट्टामा शवहरू प्राप्त गरिरहेका छौँ।”
के भन्छन् बेन्जमिन नेतन्याहूहमासले बन्धक बनाएका व्यक्तिका परिवारहरूले नेतन्याहूको सरकारलाई र हमाससँग युद्धविराम गर्न दबाव दिने उद्देश्यले विगत केही सातादेखि आमहडताल गर्नुपर्ने बताउँदै आएका थिए।
बन्धकका परिवारजनको एउटा समूहले अहिले शव भेटिएका छ जनाले “विगत ११ महिनादेखि हमासको नियन्त्रणमा हुँदा दुर्व्यवहार, यातना र भोक खप्नुपरेको” र अहिले उनीहरूको “हत्या भएको” जनाएको छ।
“सम्झौतामा हस्ताक्षर गर्न भएको विलम्बले उनीहरूको र अन्य धेरै बन्धकको मृत्यु भएको छ,” उक्त समूहले भनेको छ।
प्रधानमन्त्री नेतन्याहूले आफू बाँकी बन्धकको मुक्ति र देशको सुरक्षा सुनिश्चित गर्ने सम्झौताका लागि प्रतिबद्ध रहेको बताए।
“तर जसले बन्धकहरूको हत्या गर्छ, उनीहरू सम्झौता चाहँदैनन्,” उनले भने।इजरेलका अतिदक्षिणपन्थी अर्थमन्त्रीले अहिले हडताल आह्वान गर्नेहरूले “हमासको स्वार्थको प्रतिनिधित्व गरिरहेको’ बताए।
तर अरू कतिपय उक्त हडतालको पक्षमा खुलेर आएका छन्।
तेल अभिभका नगरप्रमुखले आफ्नो कार्यालयका कर्मचारीहरू “बन्धक र तिनका परिवारप्रति ऐक्यबद्धता” व्यक्त गर्ने हडतालमा सहभागी हुन स्वतन्त्र रहेको बताएका छन्।
गाजामा कति बन्धक बाँकी छन् भन्ने स्पष्ट छैन। गत वर्ष अक्टोबर ७ मा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएर लगेका थिए। तीमध्ये एक नेपालका विपिन जोशीसहित केही विदेश नागरिक पनि थिए।
हमासले गरेका आक्रमणमा परेर केही नेपाली नागरिकसहित १,२०० जनाको मृत्यु भएको थियो।
उक्त अनपेक्षित आक्रमणपछि इजरेलले गाजामा थालेको सैन्य कारबाहीमा परेर ४०,००० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको तथ्याङ्क हमासले गाजामा सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले दिएको छ। मृतकमध्ये महिला र बालबालिकाको सङ्ख्या उल्लेख्य भएको बताइएको छ।
(बीबीसी)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया