Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशअन्टार्क्टिका पुग्ने पहिलो नेपालीलाई गृह जिल्लामा सम्मान

अन्टार्क्टिका पुग्ने पहिलो नेपालीलाई गृह जिल्लामा सम्मान


गलकोट (बागलुङ) । अन्टार्क्टिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ । अन्टार्क्टिकामा पहिलो टेक्ने नेपाली विश्वकर्मालाई बागलुङ नगरपालिकाले २५ हजारसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

नौ करोड लागतमा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा विश्वकर्मालाई सम्मान गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले राससलाई बताए ।

बागलुङ–१४ नारायणस्थानमा जन्मिएका विश्वकर्मा सन् १९८६ मा पृथ्वीको दक्षिणी ध्रुव अन्टार्क्टिका महादेशमा पुग्ने पहिलो नेपाली हुन् । उनी भारतीय सेनामा कार्यरत हुँदा भारतीय सेनाको अनुसन्धान टोलीका साथ प्राविधिकको रुपमा त्यहाँ पुगेका थिए ।

प्रसिद्ध प्रबल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित र गिनिजबुकमा नाम लेखाउन सफल विश्वकर्माले बागलुङ नगरपालिकाको नाम चिनाउनुभएको नगरपालिकाले जनाएको छ । “बागलुङमा जन्मेर अन्टार्क्टिकामा पुग्ने पहिलो नेपालीका रुपमा देशभर परिचय बनाइसक्दा उहाँको गृह नगरपालिकाले सम्मान गर्न आवश्यक थियो”, नगरप्रमुख श्रेष्ठले भने, “बागलुङ जिल्लाको नाम चिनाउन उहाँको महत्वपूर्ण योगदान छ ।”

विश्वकर्मा हाल बुटवल उपमहानगरपालिका–११ मा बस्दै आएका छन् । उनका नाममा बुटवल उपहानगरपालिकाले ‘भुवनसिंह मार्ग’ भनेर सडकको नामाकरण गरेको छ । सम्मान ग्रहणपछि विश्वकर्माले प्रबल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित हुँदाभन्दा गृह पालिकाले सम्मान गर्दा धेरै उत्साहित भएको बताए । उनले गृह नगरले सम्झेर गरेको सम्मानप्रति आफू सदैव कृतज्ञ रहने उल्लेख गरे ।

“नेपालका विभिन्न जिल्लामा सम्मान भइसक्दा बागलुङले सम्झेन भन्ने लाग्दथ्यो, बागलुङ नगरपालिकाले भव्य कार्यक्रमकाबीच सम्मान गरेको छ, जन्मगाउँमा केही गर्नका लागि बागलुङ नगरपालिकासँग सहकार्य गर्नेछु”, विश्वकर्माले भने ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x