Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिअध्यक्ष दाहालद्वारा संविधानविपरित अभिव्यक्तिको प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान

अध्यक्ष दाहालद्वारा संविधानविपरित अभिव्यक्तिको प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान


काठमाडौँ । सहिदद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानविपरीत अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताएका छन् । उनले कार्यकर्तालाई संविधानविपरित अभिव्यक्तिको प्रतिवाद गर्न आह्वान गरे ।

संविधानले जनयुद्धलाई सशस्त्र सङ्घर्षका रुपमा सम्बोधन गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानको व्याख्यात्मक टिप्पणीमा ‘सशस्त्र सङ्घर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ’ भनेर लेखिएको स्पष्ट पारे । “व्याख्यात्मक टिप्पणीमा सबै दलहरुले हस्ताक्षर गरेका छन् । तर अहिले कतिपय सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्साहस गर्ने गरेका छन्”, उनले भने, “संविधानविपरीत बोल्ने छुट कसैलाई पनि छैन । संविधानमा भएको यथार्थलाई जोडदाररुपमा जनतामा लैजानुपर्छ ।”

पटकपटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकेकाले पछिल्लोपटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरु खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको उनले बताए । जनयुद्धका सहिदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको अध्यक्ष दाहालको भनाइ छ ।

जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउने मन्त्रिपरिषद्बाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुङ्गिएको भनेर अदालतबाट रोकिएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष दाहालले अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसका रुपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनःविचार गर्नेमा विश्वस्त रहेको बताए ।

सो अवसरमा सहिदद्वय कुँवर र गौतमको तस्वीरमा अध्यक्ष दाहाल, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङ, सचिव देवेन्द्र पौडेललगायत नेता कार्यकर्ताले माल्यार्पण गरेका थिए ।


क्याटेगोरी : राजनिति, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x