Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआजबाट चाडपर्वलक्षित बजार अनुगमन गर्दै वाणिज्य विभाग

आजबाट चाडपर्वलक्षित बजार अनुगमन गर्दै वाणिज्य विभाग


अनियन्त्रित बजारलाई चाडबाडमा भने नियन्त्रण गर्ने उद्देश्यका साथ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्ने भएको छ । चाडपर्व नजिकिँदै गर्दा बिहीबारदेखि बजार अनुगमन गर्न लागेको विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए ।बिहीबारदेखि १२ वटा समूहले बजार अनुगमन गर्न लागेको हो भने प्रत्येक समूहमा चार जना सदस्य हुनेछन् भने काठमाडौंका लागि १० वटा समूह परिचालन गरिने महानिर्देशक पौडेलले जानकारी दिए । काठमाडौंमा बजार र उपभोक्ता समेत ठूलो संख्यामा रहेको हुँदा १० वटा समूह परिचालन गर्न लागिएको बताइएको छ । चाडबाड अर्थात् दशैँ, तिहार र छठका लागि खाद्यान्न, लत्ताकपडा, लिकर्स सामग्रीलगायतका सामग्रीहरूको उपभोग्य बढ्ने हुँदा सोही समयमा व्यापारीहरूले फाइदा लिनसक्ने हुँदा बजार व्यवस्थित बनाउनुपर्ने दायित्व विभागलाई हुँदा सोहीअनुरूप अघि बढ्न लागिएको विभागका शाखा अधिकृत गायत्र श्रेष्ठले बताए ।

पछिल्ला दिनहरूमा खाद्यान्नहरूको मूल्यवृद्धि हुँदै गएको छ । चिनी, केराउ र चामलको मूल्य व्यापारीहरूले बढाउँदै लगेको उपभोक्ताहरू बताउँछन् । नेपाल खुद्रा व्यापार संघले चामल प्रतिकिलो ७० रुपैयाँदेखि एक सय ३० रुपैयाँ, दाल प्रतिकिलो एक सय ५० रुपैयाँदेखि एक सय ७० रुपैयाँ, तोरीको तेल प्रतिलिटर तीन सय ५० रुपैयाँ, भटमासको तेल प्रतिलिटर दुई सय २० रुपैयाँ र सनफ्लावर तेल प्रतिलिटर दुई सय ४० रुपैयाँ तोकेको छ । त्यस्तै चिनी प्रतिकिलो ९० रुपैयाँ, केराउ प्रतिकिलो एक सय ४० रुपैयाँ र एक सय ६० रुपैयाँ, कोदो प्रतिकिलो ७५ रुपैयाँ, मैकको पिठो प्रतिकिलो ५० रुपैयाँ र आँटा प्रतिकिलो ५० रुपैयाँ ताकेको छ तर बजारमा भने उक्त मूल्यमा भने व्यापारीहरूले सामग्री बिक्री गरेको पाइँदैन ।

उपत्यकाका मुख्य खाद्यान्न बजार मानिने कालिमाटी, असन, लगनखेल, चाबहिल, बालाजु, कोटेश्वरलगायतका खाद्यान्न पसलहरूमा भने खाद्यान्नको मूल्य फरक रहेको उपभोक्ताहरू बताउँछन् । यता खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्न, तेलहनलगायतका सामग्रीहरूमा पाँचदेखि १५ प्रतिशतसम्म सस्तो मूल्यमा बिक्रीदर कायम गरेको छ । खाद्यले चिनी प्रतिकिलो एक सय सात रुपैयाँ, चामल प्रतिकिलो ६८ रुपैयाँ, तोरीको तेल प्रतिलिटर दुई सय रुपैयाँ र भटमासको तेल दुई सय पाँच रुपैयाँ तोकेको छ ।

चाडबाडमा उपभोक्ता ठगीमा नपरुन्, अखाद्य सामग्रीहरूको बिक्रीवितरण नहोस् भन्ने उद्देश्यका साथ विभागले अनुगमन गर्न लागेको भए पनि प्रभावकारी हुन नसक्ने उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए । बजार अनुगमन गर्न आउँदैछु भनेर सार्वजनिक गरेर गरिने अनुगमन प्रभावकारी कसरी हुन सक्छ ? अधिकारकर्मी तिमल्सिनाले प्रश्न गर्दै भने, उपभोक्ताको अधिकारको उपयोग गर्दै व्यापार व्यवसाय सञ्चालन गर्नुपर्छ, उपभोक्तालाई ठगी गर्ने उद्देश्य राख्नु हुँदैन ।’ चाडबाड नजिकिएसँगै व्यापारीहरू मूल्य वृद्धि गरेर उपभोक्ता अधिकार कुण्ठित गर्ने प्रयास हुन्छ त्यसमा विभागले कुनै काम गर्न सकेको देखिँदैन, कानुनी उपचार गर्न समेत सकेको देखिँदैन अधिकारकर्मी तिमल्सिनाले भने ।

उनले चिनी, केराउ र चामलको मूल्य पछिल्लो दिनमा बढेको समेत बताए । व्यापारीहरूले चाडबाड अर्थात् दशैँ, तिहार र छठ नजिकिएसँगै दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडालगायतका सामग्रीको मूल्य एकाएक वृद्धि गर्ने, मिति गुज्रेका सामग्रीहरूको बेचबिखन गर्ने, लेबलहरू फेर्नेलगायतका कामहरू गर्नेगरेको पाइन्छ, जसले गर्दा उपभोक्ताहरू मारमा पर्नेगरेको छन् । बजार नियन्त्रित नहुँदा हरेक खाद्यान्न स्टोर, लत्ताकपडा स्टोर, जुत्ता चप्पल पसल, लिकर्स स्टोरलगायतका पसल तथा व्यापारस्थलहरूमा फरक–फरक मूल्य सूची रहेको पाउन सक्छौँ । अर्कोतर्फ बजारमा अखाद्य सामग्री, म्याद गुज्रेको सामग्रीहरू पनि पर्याप्त मात्रामा पाउने हुँदा उपभोक्ताको स्वास्थ्यमा समेत असर पर्ने सक्छ ।

संविधानले नै स्वच्छ र सुपथ मूल्यमा खाद्यान्न, जुस, लत्ताकपडालगायतका सामग्रीको उपभोग गर्न पाउने उपभोक्ताको अधिकार सुनिश्चित गरे पनि तीनै तहको सरकार अर्थात् संघ, प्रदेश र स्थानीय तहले त्यसलाई कार्यान्वयन गर्न नसक्दा उपभोक्ताहरू मारमा परेको अधिकारकर्मीहरू बताउँछन् । बजार अनुगमनका लागि चाडबाड मात्र नभई अन्य समयमा समेत गरी उपभोक्ता अधिकारको सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ ।विभागले चाडबाडमा मात्र नभई दैनिक बजार अनुगमन गर्दै आएको शाखा अधिकृत श्रेष्ठले बताए । पछिल्लो समयमा बजार अनुगमनको क्रममा विभिन्न खाद्य, लिकर्स पसल, कपडा पसल, फार्मेसीलाई जरिबाना तथा चेतवनी दिएको विभागले जनाएको छ ।

बिहीबार मात्र ललितपुर महानगरपालिका ३ मा अवस्थित राकेश स्टोर र आराध्या फार्मेसीलाई विभागले सामान्य निर्देशन दिएको थियो । बिहीबार काठमाडौं महानगरपालिका २४ मा अवस्थित पूजा क्लोथ स्टोर, जानवी फेसन, अन्नम टे«डर्सलाई सामान्य निर्देशन र १४ मा अवस्थित किरण ज्योति सप्लायर्सलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएकोे छ । यसैबीच विभागले चाडबाडमा हरेक वर्ष नापतौल तथा गुणस्तर विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालयसँग मिली बजार अनुगमन गर्ने गर्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x