Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविगत पाँच वर्षदेखि निरन्तर घाटामा वायुसेवा निगम

विगत पाँच वर्षदेखि निरन्तर घाटामा वायुसेवा निगम


निरन्तर बदनामी खेप्दै आएको नेपाल वायुसेवा निगमको वासलात पनि नकारात्मक रहेको छ । निगमको वासलात विगत पाँच वर्षदेखि निरन्तर घाटामा रहेको छ । सरदर वार्षिक दुई अर्ब सात करोड ६२ लाख रुपैयाँ घाटा बेहोर्दै आएको निगम आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा बढी खुद नोक्सान व्यहोर्ने संस्थानहरुमा परेको छ ।

आर्थिक वर्ष २०७९÷८० मा खुद नोक्सानी घटे पनि संस्थानको वित्तीय अवस्था सन्तोषजनक रहेको छैन । वित्तीय संस्थाबाट कर्जा लिई खरिद गरिएका जहाजको साँवा र ब्याज भुक्तानी गर्न समस्या हुनु, उच्च प्रशासनिक खर्च, जहाजको न्यून सञ्चालन, समयमा उडान नहुनु, व्यावसायिक योजनाको न्यून कार्यान्वयनजस्ता कारणले गर्दा निगमको वित्तीय अवस्था कमजोर रहेको निगमका अधिकारीहरु बताउँछन् । घाटामा गएकै कारण निगम ऋण भुक्तानी गर्ने अवस्थामा समेत देखिँदैन जसले गर्दा ऋणको ब्याजसहित ऋणको आकारमा वृद्धि हुँदै जाने निश्चित रहेको छ । ऋणको आकार समेत ठूलो हुँदा ऋणको ब्याज पुँजीकरणले समेत निगम आर्जन गरेको नाफामा ठूलो असर परेको देखिन्छ । निगमले ऋण भुक्तानी गरी पुँजीमा परिवर्तन गर्नु अथवा ऋणको ब्याज कम गर्नुपर्ने देखिन्छ । आर्थिक वर्ष २०७८÷७९ सम्म निगमको कुल ऋण ३६ अर्ब तीन करोड ९२ लाख रुपैयाँ रहेको छ ।

निगम आर्थिक वर्ष २०७९÷८० मा ६५ करोड २९ लाख रुपैयाँ, आर्थिक वर्ष २०७८÷७९ मा तीन अर्ब ६६ करोड ३० लाख रुपैयाँ, आर्थिक वर्ष २०७७÷७८ मा तीन अर्ब ८९ करोड ८३ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ भने निगमले सोभन्दा अघिल्लो समयमा अर्थात् आर्थिक वर्ष २०७६÷७७ मा एक अर्ब ९६ करोड ५४ लाख रुपैयाँ र आर्थिक वर्ष २०७५÷७६ मा ३० करोड १७ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । अर्कोतर्फ प्रशासनिक खर्च समेत उच्च हँुदा निगममाथि वित्तीय भार बढ्दै गएको हो । आर्थिक वर्ष २०७९÷८० मा निगमको कर्मचारी तथा कार्यालय आदि गरी कुल प्रशासनिक खर्च तीन अर्ब ६७ करोड २० लाख रुपैयाँ रहेको छ ।

निगममा हुने भ्रष्टाचारका कारण निगम धराशायी हुँदै गएको छ । वाइड बडी खरिद प्रकरण होस् वा विमान मर्मतसम्भार र पछिल्लो सयम मर्मतका लागि भन्दै एकैपटक दुईवटा वाइड बडी (ए३३०) (नाइन एन एएलवाइ र नाइन एन एलजेट) विमान ग्राउन्डेड गरिएको छ यस्ता विविध कारणले गर्दा निगम आर्थिक रुपमा धराशायी बन्दै गएको छ । चाडबाड नजिकिएको समयमा निगमको व्यवसाय उच्च हुने अवस्थामा विमान ग्राउन्डेड गरेसँगै निगमको सार्वजनिकरुपमा आलोचना भएको छ । निगम र कार्यकारी अध्यक्ष युवाराज अधिकारीलाई स्पष्टीकरण सोधिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री बद्री पाण्डेको निर्देशनमा मन्त्रालयले निगमका कार्यकारी अध्यक्षसँग वाइड बडी विमानको सेवा बन्द र निगमका अवस्था र बेथितिको बारेमा ११ बुँदे स्पष्टीकरण सोधिएको थियो । सोसँगै निगमका कार्यकारी अध्यक्ष अधिकारीले २९ पृष्ठको स्पष्टीकरण दिएका छन् । मन्त्रालयले गत १२ गते उनलाई सात दिने स्पष्टीकरण सोधेको थियो र बुधबार उनले २९ पृष्ठको जवाफ बुझाएका मन्त्रालय स्रोतले जानकारी दिएको छ । निगमको जहाज २२ जुन २०२४ मा काठमाडौंबाट दुबई हुँदै इटालीस्थित मर्मतसम्भार र परीक्षण (एमआरओ)मा मर्मतको लागि पठाइएकोमा क्यानबाट इटालीको एमआरओ अटिटेकको प्रमाणीकरण प्राप्त नभएको हुँदा तत्काल २४ जुन २०२४ देखि कार्य सुरु हुन सकेको भने छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x