Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुनचाँदी धितोमा बैंकहरूले दिए ५८ अर्ब कर्जा

सुनचाँदी धितोमा बैंकहरूले दिए ५८ अर्ब कर्जा


विश्वबजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ । मध्यपूर्वमा भू–राजनीतिक अस्थिरता बढ्दै गएको र अमेरिका र चीनबीचको व्यापार शत्रुता झन् बढ्ने सम्भावना देखिएकाले लगानीकर्ताले सुनमा लगानी बढाइरहेका छन् । यस्तै रुस–युक्रेनबीच लामो समय द्वन्द्व हुनु पनि सुनको मूल्य बढ्नुको अर्को कारण हो ।चीनले सक्रियरूपमा आफूसँग भएको अमेरिकी डलर होल्डिङलाई सुनमा प्रतिस्थापन गर्दै गएको छ । हालसालै चिनियाँ केन्द्रीय बैंकले १७ दशमलव छ टन सुन खरिद गरेर आफ्नो भण्डारमा राखेको छ । जुन कारण विश्वबजारमा सुनको माग बढ्न गयो र मूल्य बढ्दै गयो । यस्तै, भारत, पोल्याण्ड, सिंगापुर, फिलिपिन्स, टर्की, इराक, लिबिया, काजकिस्तान र चेक गणतन्त्रलगयातका देशका केन्द्रीय बैंकले पनि आफ्नो सुन भण्डार बढाउँदै लगेका छन् । केन्द्रीय बैंकहरूले सुनलाई दीर्घकालीन मूल्यको भण्डार र आर्थिक र अन्तर्राष्ट्रिय उथलपुथलको समयमा सुरक्षित स्थानको रूपमा हेर्छन् ।

विगत दुई वर्षयता एसिया, पूर्वी युरोप र मध्यपूर्वका केन्द्रीय बैंकहरूले सुनको भण्डार बढाउँदै लग्दा विश्वव्यापी बजारमा मूल्य बढ्दै गएको देखिन्छ । सुनलाई लचिलो लगानी मानिन्छ । जब ब्याजदर घट्छ तब सुनको मूल्य बढ्छ । किनभने लगानीकर्ताले पनि सुनलाई मुद्रास्फीतिविरुद्ध हेजको रूपमा हेर्छन् । सुनको मूल्य बढ्नुको अर्को कारण लगानीकर्ताले यस वर्षको अन्त्यसम्म अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौती गर्नसक्ने अपेक्षा गर्नु पनि हो । फेडले ब्याजदर कटौती ग¥यो भने डलरको मूल्य घट्छ । त्यसो हुँदा सुनको मूल्य झन् बढ्न सक्छ । किनभने डलर र सुनको मूल्यबीच विपरीत सम्बन्ध हुन्छ । अर्थात् डलरको भाउ बढ्दा सुनको घट्छ भने डलरको घट्दा सुनको बढ्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव हुँदा नेपाली बजार पनि प्रभावित हुन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाव भएको आधारमा दैनिक मूल्य समायोजन गर्दै आएको छ ।

महासंघका अनुसार अहिले नेपालमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी प्रतितोला १७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । सुनको गहना बनाउँदा केही निश्चित प्रतिशत ज्याला र जर्ती जोड्ने भएकाले बजारमा एक तोला सुनको गहना किन्दा एक लाख ६० हजार रुपैयाँभन्दा बढी पुग्ने व्यवसायीहरू बनाउँछन् ।बैंकहरूले सुनचाँदीलाई कर्जाको लागि सबैभन्दा विश्वासिलो धितो मान्दै आएका छन् । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले सुन धितोमा कुल ५८ अर्ब ४८ करोड ९० लाख रुपैयाँ ऋण लगानी गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा दुई अर्ब ९५ करोड ६० लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा सुन धितोमा बैंकहरूले ५५ अर्ब ५३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०÷८१ मा सुनचाँदी धितोमा ५३ अर्ब ४२ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा दुई अर्ब ८४ करोड ८० लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष ५० अर्ब ५७ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह गरेका थिए । विकास बैंकहरूले गत आर्थिक वर्षमा सुनचाँदी धितोमा कुल तीन अर्ब ९३ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५० लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरूले सुनचाँदी धितोमा प्रवाह गरेको कर्जा रकम तीन अर्ब ९३ करोड १० लाख रुपैयाँ थियो ।
फाइनान्स कम्पनीहरूले गत आर्थिक वर्षमा सुनचाँदी धितोमा एक अर्ब १३ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १० करोड ४० लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा फाइनान्स कम्पनीहरूको सुनचाँदी धितोमा एक अर्ब दुई करोड ७० लाख रुपैयाँ ऋण प्रवाह गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x