Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपूर्वाधार विकास / उर्जा‘नयाँ सरकार बनेसँगै लगानीको वातावरण सिर्जना’

‘नयाँ सरकार बनेसँगै लगानीको वातावरण सिर्जना’


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नयाँ सरकार गठन भएसँगै मुलुकमा लगानीको वातावरण सिर्जना भएको बताएका छन् । भृकुटीमण्डपमा शुक्रबार ‘तेस्रो नेपाल पावरलाइट एन्ड इलेक्ट्रिक प्रदर्शनी’को उद्घाटन गर्दै उनले नयाँ सरकार गठनसँगै आर्थिक, सामाजिक र राजनीतिकरूपमा विश्वसनीय वातावरण सिर्जना भएको बताएका हुन् ।

वर्तमान सरकारलाई आर्थिक हिसाबले मुलुकलाई अगाडि बढाउने जिम्मेवारी रहेको उनको भनाइ थियो । ऊर्जामन्त्री खड्काले वर्तमान सरकार, स्थायी सरकार भएकाले ढुक्क भएर लगानी गर्न समेत आग्रह गरेका थिए । धेरै कम्पनीलाई एकै ठाउँमा राखेर मेला सञ्चालन भएकाले यस्ता मेलाले मुलुकको आर्थिक गतिविधि चलायमान बनाउने उनले बताए । कार्यक्रममा उनले विद्युतीय उपकरणसम्बन्धी मेलाले मुलुकमा जलविद्युत् क्षेत्रको आन्तरिक खपत बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । मुलुकले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकाले निजी क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उनले बताए । प्रदर्शनीले विद्युत्को आन्तरिक खपत बढाउने र घरायसी कामका लागि समय बचत हुने उनको भनाइ थियो ।

मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासका बाधक रहेका नीति नियमको परिमार्जन र संशोधन सरकारले गरिरहेको बताए । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एन्ड इभेन्ट्स तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको मेला आइतबार सकिनेछ । मेलामा स्वदेश र विदेशका ९० भन्दा बढी स्टल रहेको मिडिया स्पेसका सञ्चालक श्रीजल भट्टराईले जानकारी दिए । मेलामा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ स्टेसन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीको सहभागिता छ । मुलुकमा बढ्दो उत्पादित जलविद्युत्को विभिन्न विद्युतीय माध्यमहरूबाट उपभोग बढाई देशलाई आर्थिकरूपमा सवलीकरण गर्दै ऊर्जा तथा विद्युतीय व्यवसायीको विकास तथा व्यापार प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको हो ।


क्याटेगोरी : पूर्वाधार विकास / उर्जा, समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x