Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकति छ बैंकहरूसँग लगानीयोग्य रकम ?

कति छ बैंकहरूसँग लगानीयोग्य रकम ?

ऋण विस्तार नभएपछि प्रणालीबाट तीन सातामा दुई खर्बबढी तानियो


काठमाडौँ ।ऋण विस्तार न्यून भई बैंकिङ प्रणालीमा पैसा थुप्रिँदै गएपछि राष्ट्र बैंकले पछिल्लो तीन सातामा करिब तीन खर्ब रुपैयाँ तानेको छ । बजारमा कर्जाको माग निकै कम भएपछि बैंकिङ प्रणालीमा अधिक तरलताको स्थिति छ । त्यसको नियन्त्रणका लागि राष्ट्र बैंकले अल्पकालीन अवधिको निक्षेप उपकरण जारी गरेर बैंकिङ प्रणालीबाट तीन खर्ब रुपैैयाँ प्रशोचन गरेको हो । बैंकिङ प्रणालीमा भएको अधिक तरलता नियन्त्रणमा राख्नको लागि राष्ट्र बैंकले यही भदौ २ गते एक सय अर्ब अर्थात् एक खर्ब रुपैयाँबराबरको निक्षेप उपकरण बिक्री गरेको थियो । २१ दिन अवधिका लागि लिएको उक्त निक्षेपको साँवाब्याज भुक्तानी भदौ २३ गते अर्थात् आइतबार भएको छ । त्यसपछि राष्ट्र बैंकले भदौ १२ गते पनि ४० अर्ब रुपैयाँको निक्षेप उपकरण निष्काशन गरेको थियो । बैंकहरूले कुल २१ अर्ब रुपैयाँ निक्षेप राखे । २१ दिन अवधिका लागि संकलन गरेको निक्षेपको साँवाब्याज भुक्तानी असोज २ गते हुनेछ । यस्तै भदौ १९ गते पनि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँको निक्षेप उपकरण निष्काशन गरेकोमा बैंकहरूले ३७ अर्ब ६० करोड रुपैयाँ निक्षेप राखेका छन् । जसको साँवाब्याज भुक्तानी असोज ९ गते हुनेछ ।

राष्ट्र बैंकले भदौ २३ गते पनि वित्तीय प्रणालीमा भएको अधिक तरलता व्यवस्था गर्नका लागि एक खर्ब रुपैयाँ निक्षेप प्रशोचन गर्न सूचना निकालेको थियो । तर, बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब ८० करोड रुपैयाँ राख्न बोलबोल गरे । राष्ट्र बैंकले ५१ खर्ब ८० अर्ब रुपैयाँ प्रणालीबाट तानेको छ । नौवटा बैंक तथा वित्तीय संस्थाले २२ वटा बोलकबोल पेस गरेका थिए । राष्ट्र बैंकले २१ दिनका लागि बिक्री गरेको निक्षेप सङ्कलन उपकरण साँवाब्याज भुक्तानी २०८१ असोज १३ गते तोकिएको छ ।

लगानीयोग्य रकम
बैंकिङ प्रणालीमा अहिले ६४ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप जम्मा छ । बैंकहरूले अहिलेसम्म ५२ खर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरेर कर्जा प्रवाह गर्न पाउँछन् । तर, अहिले सीडी रेसियो ७८ दशमलव ९५ प्रतिशत छ । यस आधारमा बैंक तथा वित्तीय संस्थासँग अहिले छ खर्ब २४ अर्ब रुपैयाँ लगानीयोग्य रकम छ ।
वाणिज्य बैंकहरूसँग ५७ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप छ । यस्तै ४६ खर्ब एक अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । वाणिज्य बैंकहरूसँग मात्रै पाँच खर्ब ७० अर्ब रुपैयाँ लगानीयोग्य रकम छ । विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप सङ्कलन सात खर्ब २६ अर्ब रुपैयाँ छ भने छ खर्ब रुपैयाँ कर्जा लगानी छ । विकास बैंक र फाइनान्स कम्पनीहरूसँग ५४ अर्ब रुपैयाँ लगानीयोग्य पैसा छ । अहिले बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जाबीचको अनुपात अर्थात् सिडी रेसियो ७८ दशमलव ९५ प्रतिशत छ । कर्जाको विस्तार न्यून भएपछि बैंकहरूले ब्याजदर घटाएर एकल बिन्दुमा झारेका छन् । बजारमा वस्तुको माग बढ्न नसक्दा उत्पादन खुम्चिएकोे छ । उद्योगीहरूले बैंकबाट ऋण लिएर उत्पादन बढाउन सकिरहेका छैनन् । यही कारण बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको छ ।

निक्षेप सङ्कलन बोलकबोल भनेको के हो ?

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरीकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x