Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशमोरङका नाकामा प्रहरीकै संरक्षणमा तस्करी !

मोरङका नाकामा प्रहरीकै संरक्षणमा तस्करी !


 विराटनगर । मोरङका खुुला नाकाहरूमा प्रहरीकै संरक्षणमा तस्करी हुने गरेको पाइएको छ । नेपाल–भारत खुुला सीमाको सुुरक्षामा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीले संस्थागतरूपमा नै तस्करहरूसँग मिलेर सेटिङमा समान आयात गर्ने गरेका छन् ।

दुुई ठूला पर्वहरू दशैँतिहार नजिकिँदै जाँदा तस्करहरूले नेपाल प्रहरीका उच्च तहमा आसिन अधिकारीहरूलाई प्रभावित पारेपछि दुवै प्रहरी संगठनले तस्करीलाई बढावा दिन थालेको जनाइएको छ । सशस्त्र प्रहरीको बीओपी क्याम्पहरूले तस्करलाई साहारा दिन थालेपछि हाल खुलेयामरूपमा तस्करीका सामानहरू भित्रिन थालेका छन् । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टले तस्करीलाई खुलेआम सहयोग गरेबापत सशस्त्र प्रहरीका उच्च तहका अधिकृतलाई मासिक रकम कबुल गरेर तस्करहरूले बुझाउने गरेका छन् । सोही कारण पनि खुला सीमानाकाका विभिन्न ठाउँहरूबाट व्यापक तस्करी मौलाएको हो । तस्करहरूले आउँदो चाडवाडलाई लक्षित गरी खाद्यान्न, कपडा, चिनीलगायतको तस्करी गर्ने गरेका छन् ।

भन्सारहरूमा राजस्व संकलनमा आएको कमीले पनि तस्करी मौलाएको पुष्टि हुन्छ । मोरङको पूर्वी दक्षिण गाउँपालिका धनपाल थानस्थित मायागञ्जमा रहेको छोटी भन्सारले मुस्किलले महिनामा डेढ लाख रुपैयाँ मात्रै राजस्व संकलन गर्ने गरेको छ । छ जनाको दरबन्दी रहेको सो भन्सारका कर्मचारीहरूले प्रायः घाम तापेर दिन बिताउने गरेका छन् । तर सोही गाउँपालिकामा तीन किलोमिटर पश्चिममा रहेको खयरवोना नाकाबाट दैनिक लाखौँ रुपैयाँको तस्करी हुुँदै गर्दा समेत प्रहरी र सशस्त्र प्रहरी अनभिज्ञजस्तै भएर बस्ने गरेको छ । मोरङको दक्षिणी ग्रामीण नाका र रंगेलीमा रहेको भारतीय नाकादेखि विराटनगरको दरैया र सुगरमिल गेटका पुराना नाकाहरूबाट पछिल्लो समय तस्करी व्यापारको उत्पादन नै बढेको दाबी गर्न थालिएको छ ।

ग्रामीण भेगमा त घरघरमा गोदाम नै खडा गरेर तस्करीका कपडा, खाद्यान्न, हार्डवेयर र अन्य उपभोग्य सामानहरूको स्टोर गर्ने गरेको पाइएको छ । अवैध ओसारपसार गर्ने व्यापारीहरूले उपभोग्य वस्तु तस्करी गर्नका लागि स्थानीयका घरभाडामा लिएर गोदाम बनाउने गरेका छन् । भारतबाट अवैधरूपमा आयात गरी सीमा क्षेत्रमा भण्डारण गरिएका मालवस्तु व्यापारीहरूले दुई प्रहरी संगठनको सहयोगमा वैध बनाएर विराटनगर बजारमा बिक्रीवितरण गर्ने गरेका छन् ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x