Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसरकारी कार्यालयबाट सेयर कारोबार गर्न प्रतिबन्ध

सरकारी कार्यालयबाट सेयर कारोबार गर्न प्रतिबन्ध


काठमाडौं । सरकारी कर्मचारीले काम नगरी सेयर कारोबार गर्न कार्यालय र सरकारी साधन/स्रोत दुरुपयोग गरेपछि सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ट्रेड मेनेजमेन्ट सिस्टम (टीएमएस) मा प्रतिबन्ध लगाएको छ ।

जनताले गुनासो गरेपछि सम्बोधन स्वरुप त्यसरी प्रतिबन्ध लगाइएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । सरकारी कार्यालयमा बसेर सेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य भएको प्रधानमन्त्रीको दाबी छ ।

‘सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ’, प्रधानमन्त्री ओलीले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ । यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ ।’

प्रधानमन्त्री ओलीका अनुसार अबदेखि सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु ।’

प्रधानमन्त्रीको निर्देशन अनुसार सबै सरकारी कार्यालयका प्रमुखहरुले आ–आफ्नो कार्यालयका कम्प्युटरमा टीएमएस नचल्ने बनाउनैपर्नेछ । यसरी टीएमएस नचल्दा सेयर बजारमा कारोबार रकम र सेयर संख्याको बिक्री÷खरिद पनि घट्ने अपेक्षा गरिएको छ ।

गुनासो आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत हुनेछ ।

सिंहदरबारभित्र सेयर कारोबार रोक्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाएको थियो । सोही पत्रको आधारमा प्रधानमन्त्री कार्यालयले मंगलबार सबै सरकारी कार्यालयमा टिएमएस नचल्ने बनाउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले जानकारी दिए । सरकारले सरकारी कार्यालयमा टीएमएस प्रणाली चल्न नसक्ने बनाएपछि जनस्तरबाट भने स्वागत गरिएको छ ।


क्याटेगोरी : शेयर बजार, समाचार
ट्याग : #Page 1


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x