Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधथप हवाई प्रवेशमार्गबारे भारतीय समकक्षीसँग पर्यटनमन्त्रीको छलफल

थप हवाई प्रवेशमार्गबारे भारतीय समकक्षीसँग पर्यटनमन्त्रीको छलफल


काठमाडौं । भारतको भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्गबारे भारतीय समकक्षीसँग छलफल गरेका छन् ।

भारतको नयाँ दिल्लीमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को एसिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनको साइडलाइन भेटघाटका क्रममा आज पर्यटनमन्त्री पाण्डेले भारतका नागरिक उड्डयन मन्त्री राममोहन नाइडु किन्जारापुसँगको भेटमा थप हवाई प्रवेश बिन्दु तथा दुई देशका विभिन्न सहरबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गर्नुभएको हो ।

भेटका क्रममा पर्यटनमन्त्री पाण्डेले नेपालमा हाल थप सञ्चालनमा आएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चलनमा रहेकाले भारतको बढ्दो गतिमा अघि बढेको नागरिक उड्डयन क्षेत्रले भारतका विभिन्न सहरबाट नेपाली सहरमा थप सिधा उडान गर्न आग्रह गरे । साथै उनले अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न भारतीय पक्षसँग आग्रह गरे ।

पर्यटनमन्त्री पाण्डेले पोखरा नेपालको पर्यटकीय राजधानीका रुपमा विकसित भइरहेको र विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेपछि अहिले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटकले मुक्तिनाथको दर्शन गर्न जाने क्रम बढिरहेको स्मरण गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न सहरबाट सिधा उडान भर्न भारतीय उड्डयन कम्पनीहरुलाई प्रोत्साहित गनुपर्ने विषयमा जोड दिएका थिए ।

यसैबीच आज भारतका संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्रसिंह शिखावतसँग नयाँ दिल्लीमा भएको भेटका क्रममा पर्यटनमन्त्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सहरहरुबाट सिधा हवाई उडान गर्न भारतीय मन्त्रीसँग आग्रह गरे । सो क्रममा भारतीय संस्कृति तथा पर्यटनमन्त्री शिखावतले नेपाल र भारतबीचको प्रभावकारी आपसी सम्पर्क स्थापना तथा सहज आवतजावतका माध्यमबाट दुई देशबीचको संस्कृति तथा सभ्यतागत सम्पर्कलाई थप मजबुत बनाउन सकिने कुरामा जोड दिए ।

भेटमा विगतमा दुई देशका संस्कृति तथा पर्यटनमन्त्री बीच सांस्कृतिक सम्बन्ध मजबुत बनाउने विषयमा एक सझादारीपत्रमा हस्ताक्षर भएको र अहिले त्यसको म्याद सकिएकाले त्यसलाई थप परिमार्जनसहित पुनः नवीकरण गर्ने विषयमा छलफल भएको थियो । भेटका क्रममा मन्त्री पाण्डेले नेपाल र भारतबीच रहेका नाट्य प्रतिष्ठान, कला प्रतिष्ठानजस्ता निकायबीच सांस्कृतिक तथा प्राज्ञिक ज्ञान आदानप्रदान गर्नेजस्ता विषयमा पनि छलफल भएको थियो ।

भारत र नेपालबीच मानवीय तथा सांस्कृतिक विषयसँग सम्बन्धित स्रोतहरु कतै न कतै एक–अर्कासँग जोडिएको हुँदा ती विषयमा थप खोज अनुसन्धान गरी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा दुवै देशका संस्कृतिमन्त्रीबीच छलफल भएको थियो ।

यसैगरी साइडलाइन बैठकका क्रममा आईकाओ दुईपक्षीय, क्षेत्रीय बहुपक्षीय निकायका प्रतिनिधिसँगको बेग्लाबेग्लै भेटमा नेपालले हवाई सुरक्षाका विषयमा सुरु गरेका नीतिगत सुधारलगायत विषयमा मन्त्री पाण्डेले जानकारी गराएका थिए । सोही क्रममा आईकाओका इरोपियन युनियन एभियसन सेफ्टी एजेन्सी (ईएएसए)का प्रतिनिधिहरुलाई सरकारले नागरिक उड्डयनका क्षेत्रमा सेवा प्रदायक र नियामक निकायलाई अलग गर्ने विषयमा कानुन निर्माणको कामलाई तीव्रता दिएको र आईकाओको हवाई सुरक्षा अडिटमा गरेको सुधारलगायत विषयमा जानकारी गराएका थिए ।

भेटका क्रममा भएका गहन छलफलमा नेपालले हवाई उड्डयन क्षेत्रलाई थप विश्वसनीय, सबल र सुरक्षित बनाउन देखाएको तदारुक्ता, कानुनी तथा संरचनागत सुधारजस्ता विषयले नेपालका नागारिक उड्डयन क्षेत्रको आत्मविश्वास अभिवृद्धि भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरुले जनाएका छन् ।


क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #page 2

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x