भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
काठमाडौं, बाङ्ग्लादेशमा शेख हसिनाको सरकार ढलेको एक महिनासम्म पनि छिमेकी राष्ट्र भारतसँग उसको सम्बन्धमा देखिएको चिसोपन मत्थर भएको छैन।
शेख हसिनालाई भारतमा शरण दिएका कारण चिढिएको बाङ्लादेशमा अन्तरिम सरकारमा प्रमुख बनेका मोहम्मद युनुसले हालै दिएको एक अन्तर्वार्ताले भारतलाई झस्काइदिएको छ।
भारत-बाङ्ग्लादेश सम्बन्धको पछिल्लो अवस्थाबारे बीबीसीमा अनबरसन इथिराजनले प्रस्ट्याउने प्रयास गरेका छन्।
बाङ्ग्लादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना भारतको पक्ष लिने नेताको रूपमा आफ्नो देशमा चिनिएकी थिइन्। उनको १५ वर्षे शासन अवधिमा दुई देशबीच आर्थिक तथा रणनीतिक सम्बन्ध राम्रो रह्यो।आफ्नो देशमा आश्रय लिएर सञ्चालन भइरहेका भारत विरोधी केही विद्रोही समूहहरूलाई निस्तेज बनाउनुका साथै दुई देशबीचको सीमा विवाद समाधान गरेका कारण उनको कार्यकाल भारतका लागि पनि फाइदाजनक भएको थियो।
तर उनको अनिश्चितकालको भारत बसाइले दुई देशबीचको बलियो सम्बन्धमा समस्या पैदा गरिदिएको छ।
दुई देशको दूरी देखाउने दृश्यगत साता युनुसले भारतको सरकारी समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियालाई दिएको अन्तर्वार्ताले दुई छिमेकीबीचको सम्बन्धमा देखिएको चिसोपना थप प्रस्ट गरिदियो। शेख हसिनालाई दिल्लीबाट कुनै पनि राजनीतिक वक्तव्य दिन रोक लगाउन युनुसले भारतलाई आग्रह गरे।
“यदि बाङ्ग्लादेशले उनको फिर्ती नचाहँदासम्म भारतले उनलाई आफ्नै देशमा राख्न चाहन्छ भने उनलाई चुप लगाउने सर्त भारतले मान्नुपर्छ,” युनुसले भनेका छन्। नोबेल शान्ति पुरस्कार विजेता युनुसले हसिनाको बहिर्गमनपछि देशको सरकारको नेतृत्व सम्हालिरहेका छन्।
युनुसले सङ्केत गरेको प्रसङ्ग दिल्ली पुगेको केही दिनपछि हसिनाले जारी गरेको वक्तव्य थियो जसले बाङ्ग्लादेशमा आक्रोश पैदा गरेको थियो। त्यसपछि उनले कुनै पनि सार्वजनिक सञ्चार गरेकी छैनन्।
गत जुलाई र अगस्टमा देशमा भएका सरकार विरोधी प्रदर्शनका क्रममा भएका हत्याको सुनुवाइका लागि उनलाई स्वदेश फर्काउनुपर्ने माग बाङ्ग्लादेशमा उठिरहेको छ।अन्तर्वार्ताका क्रममा युनुसले पनि दुई देशबीचको सम्बन्ध निकै “चिसिएको” भन्दै दुवै देशले द्विपक्षीय सम्बन्ध सुधारका लागि काम गर्नुपर्ने बताएका छन्।
भारतको विदेश मन्त्रालयले यो भनाइमा कुनै आधिकारिक टिप्पणी गरेको छैन तर अधिकारीहरू यसप्रति दुखी भएको विवरण आएका छन्।
“बाङ्ग्लादेशमा भइरहेका घटनाक्रम भारतले नियालिरहेको छ र पर्खिरहेको छ। ढाकाका प्रतिष्ठित व्यक्तिका निजी र आधिकारिक भनाइको अभिलेख पनि राखिरहेको छ,” नाम उल्लेख नगर्ने सर्तमा बाङ्ग्लादेशका एक जना अधिकारीले भने।
‘मेगाफोन कूटनीति’विवादित दुई पक्षको विषयलाई सञ्चार माध्यममा बहस बनाउने युनुसको पछिल्लो शैलीलाई भारतका पूर्व कूटनीतिज्ञहरू एक अर्का देशविरुद्ध आरोप प्रत्यारोपको कूटनीति अर्थात् ‘मेगाफोन डिप्लोमेसी’ कूटनीति भन्छन्।
“भारतले बङ्ग्लालादेशसँग वार्ता गर्न इच्छुक रहेको कुरा अन्तरिम सरकारलाई सङ्केत गरिसकेको छ,” ढाकाका लागि भारती पूर्व उच्चायुक्त रहेकी वीणा सिकरीले भनिन्।
“युनुसले के आधारमा अहिले दुई देशबीचको सम्बन्ध चिसिएको बताएका हुन्” भन्ने प्रस्ट नभएको उनको भनाई छ।
तर बाङ्ग्लादेशको विदेश मन्त्रालयले भारतीय पक्षका आलोचनाहरूलाई अस्वीकार गरेको छ।
“भारतीय नेताहरू चाहिँ सञ्चार माध्यमसँग कुरा गर्दैनन्? यदि डा. युनुसलाई कुनै ठोस मुद्दाहरूमा प्रश्न सोधियो भने, निश्चित रूपमा उनले त्यसबारेमा आफ्नो विचार राख्छन्। आलोचना गर्नकै लागि त जे विषयमा पनि गर्न सकिन्छ,” बाङ्ग्लादेशको विदेश मन्त्रालयका सल्लाहकार तौहीद हुसेनले बीबीसीसँग भने।
केही साताअघि मोहम्मद युनुस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको थियो। त्यसयता भारत र बाङ्ग्लादेशबीच अहिलेसम्म मन्त्रीस्तरीय वार्ता भएको छैन।अर्को कुनै देशले शरण दिन राजी नभएसम्म शेख हसिनालाई आफ्नो देशमा राख्ने विषयमा भारतमा आम सहमति देखिन्छ।
तर बाङ्ग्लादेशमा अन्तर्राष्ट्रिय अपराध हेर्ने न्यायाधिकरणका नवनियुक्त मुख्य अभियोजनकर्ता मोहम्मद ताजुल इस्लामले शेख हसिनालाई फिर्ता ल्याउन कदम चाल्ने बताएका छन्।
“उनी बाङ्ग्लादेशमा भएको नरसंहारको मुख्य अभियुक्त बनेकाले हामी उनलाई देशमा कानुनी रूपमै फिर्ता ल्याएर मुद्दाको सामना गर्न लगाउँछौँ,” इस्लामले पत्रकारहरूसँग भनेका छन्।
तर विज्ञहरू बाङ्ग्लादेशले औपचारिक अनुरोध गरे पनि हसिनालाई फिर्ता ल्याउन सम्भव नभएको बताएका छन्।
“शेख हसिना भारतमा पाहुना बनेर बसेकी छिन्। लामो समयदेखि हाम्रो मित्र रहेको साथीसँग आधारभूत शिष्टाचार पनि कायम राख्न सकेनौँ भने भारतलाई भविष्यमा कसैले किन विश्वासयोग्य मित्रको रूपमा हेर्छ?,” ढाकामा भारतको पूर्व उच्चायुक्त भइसकेका रिवा गाङ्गुली दास भन्छिन्।
भारतको दूरी तर चीनको सक्रियताअन्तर्वार्ताका क्रममा युनुसले बाङ्ग्लादेशका विपक्षी दलहरूसँग सम्पर्क नराखेको विषयमा पनि भारतको आलोचना गरेका छन्।
“कस्तो भाष्य छ भने सबै जना इस्लामवादी हुन्, बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी इस्लामवादी हो। अन्य सबै (शेख हसिनाबाहेक) इस्लामवादी हुन् र उनीहरूले यो देशलाई अफगानिस्तान बनाउँछन्। र सत्तामा शेख हसिनाहुँदामात्रै बाङ्ग्लादेश सुरक्षित हातमा हुन्छ भन्ने अवधारणाबाट भारतमुक्त हुन सकेको छैन्,” युनुसले भनेका छन्।
तर भारतीय विश्लेषकहरू युनुसको विचारमा सहमत छैनन्।
“म मोहम्मद युनुसको यो भनाइसँग अलिकति पनि सहमत छैन। बाङ्ग्लादेशमा हाम्रा उच्चायुक्तले कुनै भेदभाव नगरी सबै राजनीतिक दलहरूसँग कुरा गर्छन्,” वीणा सिकरी भन्छिन्।यसपछाडि एउटा पृष्ठभूमि पनि छ। सन् २००१ र २००६ को बीचमा बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टीको नेतृत्वमा बनेको गठबन्धन सरकारका पालामा भारत र बाङ्ग्लादेशबीचको सम्बन्ध बिग्रिएको थियो।
बाङ्ग्लादेशको उत्तर पूर्वी क्षेत्रमा भारतका विद्रोही समूहलाई आश्रय दिएको आरोप भारतले त्यस बेला लगाएको थियो। तर बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टीले यो आरोप अस्वीकार गर्दै आएको छ।अहिले बाङ्ग्लादेशमा पनि धेरै मानिसहरूले भारतले बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टीसँग सम्बन्ध सुधार गर्नुपर्ने सुझाव दिएका छन्। बाङ्ग्लादेशमा चुनाव जहिले भए पनि त्यो निर्वाचन बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टीले जित्नेमा यो दल ढुक्क देखिन्छ।
“शेख हसिनाको सरकार हटेयता कुनै पनि भारतीय अधिकारीले हामीलाई भेटेका छैनन्। यसको कारण मैले बुझ्न सकेको छैन,” बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर भन्छन्।
भारतले सम्बन्धमा दूरी बढाइरहँदा अर्कोतर्फ बाङ्लादेशका लागि चिनियाँ राजदूत र युरोपेली मुलुकका राजदूतले बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टीका नेताहरूसँग लगातार भेटघाट गरिरहेका छन्।
भारतलाई झस्काउने घटनाक्रमशेख हसिनाको सरकार ढलेपछि देशमा सुरक्षाको अभावका कारण धार्मिक अल्पसङ्ख्यकमाथि आक्रमण बढेको छ। भारतले बाङ्ग्लादेशमा हिन्दूहरूमाथि सन्दिग्ध इस्लामवादीहरूले आक्रमण गरेका विवरणहरूबारे बारम्बार चिन्ता व्यक्त गरिरहेको छ।
पछिल्ला केही साताहरूमा इस्लामिक कट्टरपन्थीहरूले सुफी समुदायका धार्मिक व्यक्तिहरूका चिहानमाथि बनाइएका मजार भनिने तीर्थस्थलहरूमा तोडफोड गरेका छन्। बाङ्ग्लादेशमा सुन्नी मुस्लिमहरूको बाहुल्यता रहेको छ। कट्टरपन्थी इस्लाममा विश्वास गर्नेहरूले चिहान र चिहानमा बनाइएका संरचनालाई इस्लाम विरोधी मान्छन्।
“केही दिन अघि मात्रै एउटा समूहले मेरो ससुराको चिहानमा तोडफोड गरे र कुनै पनि गैर–इस्लामिक संस्कार नगर्न चेतावनी दिए,” सिराजगञ्ज जिल्लाको अलि ख्वाजा अली पगला पीरको चिहानको हेरचाह गर्ने श्रीमती तमन्ना अख्तरले भनिन्।
बाङ्ग्लादेशको धार्मिक मामिला मन्त्रालयका सल्लाहकार एएफएम खालिद हुसेनले धार्मिक स्थलमा तोडफोड गर्नेलाई कारबाही गरिने बताए।
यदि इस्लामिक कट्टरपन्थीहरूले यो देशमा आफ्नो प्रभुत्व पुनः स्थापित गर्न सफल भएको अवस्थामा जति सातो सङ्ख्यामा भए पनि त्यो भारतका लागि खतराको घण्टी हुने विज्ञहरू बताउँछन्।हालै मात्र अपराधमा दोषी ठहरिएका एक इस्लामिक अतिवादी बाङ्ग्लादेशमा जेलमुक्त भएका छन्।
त्यस्तै गत महिना नौ जना सन्दिग्ध इस्लामिक कट्टरपन्थीहरू जेलबाट भागेका थिए। तर, चार जना फेरि पक्राउ परे।
शेख हसिनाको सरकारले सन् २०१६ मै आतङ्कवादी घोषणा गरेको अन्सारुल्लाह बाङ्गला टीमका प्रमुख जशिमुद्दीन रहमानी जेलबाट रिहा भएका हुन्।
सन् २०१५ मा एक जना नास्तिक ब्लगरको हत्या आरोपमा उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो। उनीविरुद्ध अरू पनि कैयौँ मुद्दा विचाराधीन भएका कारण सजाय अवधि पूरा भएपछि पनि उनी जेलमै थिए।
“पछिल्ला केही महिनामा धेरै चरमपन्थी रिहा भएका छन्। यी मध्ये केही भारतका लागि परिचित हुन्,” रिवा गाङ्गुली दास भन्छिन्। “यो गम्भीर विषय हो।”(बीबीसी)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया