नयाँसडकको पेटी विस्तार बालेनको लहड कि बाध्यता ?
काठमाडौं । एकाएक बिहान सबेरै काठमाडौं महानगरले पेटी विस्तार गर्न डोजरसहित ठेकेदार कम्पनीको समूह नयाँसडकमा ओर्लेको हुन्छ । उनीहरूको सुरक्षार्थ महानगरका नगरप्रहरी ठूलो संख्यामा देखापर्छ । निर्माणका कार्य सुरु गरिन्छ । उत्नैखेर यसको विरुद्ध, निर्माणकार्य रोक्न अर्को समूह देखा पर्छ र घम्साघम्सी सुरु हुन्छ । नयाँसडकमा के भइरहेछ, हुनलागेको छ जनताले बुझ्न सकिराखेका थिएनन् ।
नगरसभामा अध्ययन गरेपछि मात्र पेटी विस्तार गर्ने बालेनको आफ्नै बोली किन लत्यायो ? बिनासहमति किन यस्तो बालहठ गर्छ, किन विवादमा पर्न रमाउँछ ? यसबाट आफूले सोचेको परिणाम ल्याउन मद्दत गर्छ ? बालेनलाई सोधिने प्रश्नहरू हुन् ।
नयाँसडकको यो क्रमलाई लिएर सामाजिक सञ्जाल भाइरल हुन्छ तथा नयाँसडक राम्रै तात्न थाल्छ । विस्तार गर्ने पक्ष र विपक्षको यो विवाद अगुवाइ गर्नेमा महानगरपालिकाका प्रमुख बालेन पक्षमा छन् भने विपक्षमा महानगर २२ वडाका अध्यक्ष ।
महानगरको तर्फबाट प्रमुख बालेनले शक्ति प्रदर्शन गर्न आफ्ना मातहतका एसएसपीको कमान्डमा चाहिनेभन्दा ठूलो संख्यामा महानगर प्रहरीहरू परिचालन गरिएको थियो भने महानगर २४ वडाका अध्यक्षसहित उनका समर्थकहरूको पनि साथ थियो । यसको अलावा नेपाल प्रहरी समेत तैनाथ थिए ।
महानगरको निर्णयविरुद्ध, निर्माणकार्य रोक्न २२ वडा का अध्यक्षसहितको स्थानीय समूह नारा लगाई सडकमै पाल टाँगेर रातमा पनि पहरा दिएको र वडा अफिस समेत सञ्चालन गरेको अवस्था थियो ।
यस घटनाले स्थानीय बासिन्दा, छिमेकी युवाहरू जो एक–आपसमा मिलेर बस्नुपर्नेहरू स्पष्टरूपमा दुई चिरामा विभाजित भई, वादविवाद, आरोप प्रत्यारोप र सीमा नाघेर गालीगलौचमा समेत उत्रेको देखियो । कुनै सरोकार समेत नभएका व्यक्तिहरूको अनलाइन टेलिभिजनमा ‘इन्टरभ्यु’ लिएर नानाथरीका मुद्दा उठाउन लगाएर कसैलाई चमत्कार गर्यो भन्ने कसैलाई होच्याउने प्रचारप्रसार गरियो । एकाएक नयाँसडक रणभूमिमा परिणत हुनपुग्यो । के बालेनले यस्तो चाहेको हो दाइभाइबीच विभाजन ?
लगातारको जनदबाबपछि, महानगरका प्रमुखलगायत पदाधिकारीहरू बाध्य भएर आन्दोलनकारीसँग छलफल गर्नुपर्ने अवस्था आउँछ । समस्या समाधान खातिर विषेशज्ञसहितको अध्ययन टोली गठन गर्ने निर्णय गर्छ । टोलीले २ मंसिरभित्र विस्तृत अध्ययन गरी सिफारिससहितको प्रतिवेदन तयार पार्ने र सिफारिसहरूको आधारमा समीक्षा गरी भावी कार्य तय गरिने समझदारी बन्छ । टोलीमा महानगरपालिका सहरी विकास विभागका उपाध्यक्षको संयोजकत्वमा २२, २३, २४ वडा का वडा अध्यक्षहरू समेतको सहभागिता छ ।
महानगरप्रमुखले आफ्नो बालहठ त्यागी समस्या समाधानको लागि विपक्षीसँग छलफलमा सहभागी भएको सम्भवतः पहिलो हुनुपर्छ जुन स्वागतयोग्य मान्नु पर्दछ ।
पेटी विस्तारका विषयमा चलेको वादविवाद, आन्दोलन, दुवै पक्षको ताण्डव नृत्य अथवा शक्ति प्रदर्शन भने हालको लागि हेर्न र सुन्न परेको भने छैन ।
टोलीले काम गर्ने सर्त के–के हो र काम कति अगाडि बढ्न सक्यो त्यसको सूचना हालसम्म खासै बाहिर आएको नभए पनि दुवै पक्षको छलफल सुरु भएको छ र राम्रो निष्कर्ष आउने अपेक्षा गरिएको छ ।
नयाँसडक देशको राजधानी काठमाडौंको मुटुभन्दा फरक नपर्ला । यसको आफ्नै लामो इतिहास र महत्व छ । व्यापारिक र आर्थिक हिसाबले यो देशकै ठूलो केन्द्र मानिन्छ । कुनै पनि नेपाली किन मेल गर्न नयाँसडक नगएको छैन होला चाहे त्यो सुन होस या जुत्ता । कामै नभए पनि घुमफिरको लागि परिवारसँग पनि आउँछन् । काठमाडौं भित्रिने यो ‘गेट–वे’ नै हो ।
नयाँसडकवरिपरि विश्वसम्पदा सूचीमा परेका बसन्तपुर दरबार, हनुमानढोका, तलेजु मन्दिर, कुमारी घर, काष्ठमण्डप, इन्द्रचोक आकाश भैरव, कालभैरव आदि पर्दछ जुन देशकै गौरव हुन् । ठूला विदेशी पाहुना आउँदा सम्मान गर्ने थलो पनि यही क्षेत्रमा पर्दछ । देशका ठूला जात्रा पर्वहरू इन्द्रजात्रा, मच्छिन्द्रनाथ तान्ने मार्ग पनि यहाँ पर्दछ । पर्यटकहरूको अवलोकन गर्ने मुख्य आकर्षक केन्द्र पनि यस क्षेत्रलाई मानिन्छ । तसर्थ अध्ययन गर्दा यसको मूल्य मान्यता र भूमिका समेत समेटेर बुझ्नुपर्ने हुन्छ तर हल्का किसिमले सोच्नु गलत हुनेछ ।
हालै नयाँसडकमा भए÷गरेका गतिविधिहरू स्थानीय मात्र नभई देशविदेशका नेपालीहरू समेतले हेरिरहेको अवस्था छ र आफ्ना अभिमत, प्रतिक्रियाहरू जनाएको सामाजिक सञ्जालमा छर्लङ्ग देखिन्थ्यो । विभिन्न देशले अपनाएको सडकपेटीको तस्बिर समेत राखी सामाजिक सञ्जालमा सुझावको लागि पोष्ट गरेको समेत देखियो ।
विभिन्न गतिविधिहरू जस्तैः आर्थिक, सामाजिक, संस्कृत, सम्पदा, धार्मिक, यातायात (पार्किङ) आदिको अवस्था जुन एक–आपसमा निकट सम्बन्ध जोडिएकोले व्यावहारिक र वैज्ञानिक तवरले अध्ययन गरी राम्रो निर्णय लिनुपर्ने हुन्छ अन्यथा यसको नराम्रो दूरगामी असर पर्नेछ र पछि सच्याउन समेत अप्ठ्यारो हुनेछ ।
यो नयाँसडक दुईटा सडकमा मात्र सीमित छ भन्न पक्कै मिल्दैन । यसको राम्रो, नराम्रो, प्रत्यक्ष अथवा अप्रत्यक्ष असर काठमाडौंका सबै भित्री बस्ती, कोर एरियामा समेत पर्ने हुँदा यो मुद्दालाई कसैको लहडका भरमा अथवा हल्का तवरले लिन मिल्दै मिल्दैन । स्थानीयको अलावा सम्बन्धित निकायहरू सबैको सक्रिय सहभागिता हुनै पर्दछ र ‘एकीकृत कोर एरिया’ योजना हुनु जरुरी छ । पक्ष र विपक्षका दुवै समूहको आ–आफ्नै तर्क छ होला । दुवैको तर्क सही पनि हुन सक्छ तर दुवैले कुन उद्देश्य प्राप्त गर्न कराइराखेको बुझ्नुपर्छ । जुन बुझ्न र बुझाउन सकेन ।
यदि महानगरको उद्देश्य नयाँसडक क्षेत्रभित्र गाडी निषेधित गर्ने नै हो भने सोअनुसारको विस्तृत अध्ययन र सहभागितामा आधारित योजना हुनुपर्छ । हिँड्ने पेटी साँगुरो र हिँड्न कठिनाइ मात्रको कारणले पेटी बढाउने हो भने अरु वैकल्पिक उपायहरूको पनि अध्ययन गर्नुपर्ने हुन्छ ।
प्रमुख बालेन र २४ वडाका अध्यक्षले पेटी विस्तार गर्नुको कारण यौन उत्पीडन र पाकेट मार्नेजस्ता आपराधिक घटनाले गर्दा हो भनिएको छ जुन संवेदनशील छ र गम्भीररूपमा लिनुपर्छ । यो नयाँसडकमा मात्र होइन सबै साँगुरा गल्ली र सडकमा पनि हुने घटना हो । पेटी बढाएर मात्र यो अपराध नियन्त्रण सम्भव देखिँदैन ।
काठमाडौंको कोर एरियाका सबै बाटाहरू साँगुरो र पैदलयात्रुहरूको खचाखाच भीड हुने गर्दछ । जस्तैः २४ वडाकै मक्खन गल्ली, ईन्द्रचोक गल्ली, मासँ गल्ली आदि यति साँगुरो छ सडक पेटी बनाउने सम्भावना नै छैन यस्तो अवस्थामा गर्ने के ? सुरक्षा निकायको निगरानीमा केन्द्रित रहनुको अलावा अरु विकल्प हुन सक्दैन ।
यसै सन्दर्भमा केही कुरा बुझ्नु जरुरी छ ।
१. अध्ययन टोलीले सर्वप्रथम पेटी बढाउनुको मुख्य उद्देश्यको पहिचान हुनु अति आवश्यक छ । यो प्राथमिकतामा पर्छ कि पर्दैन समीक्षा गर्नुपर्छ । यदि योभन्दा अरु प्राथमिकताको छ भने यसलाई पछाडि धकेल्नुपर्ने देखिन्छ ।
२. सकारात्मक र नकारात्मक असर: पेटी बढाउँदा के–कस्तो प्रभाव पर्ने हो अध्ययन हुनुपर्छ । स्थानीय बासिन्दा जो त्यहीँ बसोबास गर्छन् । व्यापारी र व्यापार, न्युरोडबाहिरबाट विभिन्न प्रयोजनको लागि आउने बटुवा, सम्पदा, पुरातत्व, इतिहासमा पर्ने असर, यातायातको व्यवस्थापनको अध्ययन, बाटो साँघुरो गर्दा सवारीसाधनको प्रयोग कसरी गर्ने, ट्राफिक जामको व्यवस्थापन खासगरी ईन्द्रचोकको घुम्ती, पार्किङको व्यवस्थापन, २२, २३, २४ वडाहरूमा धेरै गल्ली, साँघुरो सडक र बटुवाहरूको चाप धेरै हुनेहुँदा त्यसको व्यवस्थापन अध्ययन, पार्किङ व्यवस्थापन, नयाँसडकमा पार्किङ निषेधले गर्दा जोडिएका वडाहरू र खासगरी १७, १८, १९, २५, २६ र कोर एरियामा जथाभावी पार्किङ गर्ने ठाउँको रूपमा प्रयोग गरेको पाइन्छ । जसले गर्दा सो क्षेत्रमा ट्राफिक जाम हुने र आवतजावतमा ठूलो समस्या भोग्नु परिरहेको छ ।
व्यापार र आर्थिक अवस्थामा पर्ने असर र व्यवस्थापनका लागि कोर एरियामा ‘नो भेइकल जोन’को अवधारणा आएको हुँदा सोको समीक्षा हुनुपर्ने, सुरक्षाको व्यवस्था, पाकेट मार्ने र यौन उत्पीडनको व्यवस्थापन गर्न महानगर प्रहरीको भूमिका हुनुपर्छ ।
३. पेटी बढाउने विकल्पको पहिचान: सजिलो र खासै खर्च नलाग्ने हाल भएकै अवस्थामा फलामको बार झिक्ने र तल सडकबाट समेत हिँड्न मिल्ने गरी रेखा मात्र कोरेमा (हाल पहेँलोजस्तै रातो रङ्ग राख्न सकिन्छ) र गाडीको गति सीमित लागू गर्नसके विनाविवद, नयाँ संरचना निर्माण नगरी, सस्तोमा सो कार्य पूरा हुन सक्छ । स्थानीयहरूले तिरेको करको अरु सही कार्यमा सदुपयोग गर्न पाउनेछ ।
हाल भइराखेको फलामे बार किन राख्नुप¥यो ? उपयुक्त देखिँदैन र जोखिम बढी हुने, खासगरेर भूकम्पजस्ता आपत्कालीन अवस्थामा पैदलयात्रुहरू भागदौड हुनेहुँदा ठूलो क्षति हुन सक्छ । भयो भनेर जिम्मेवारी कसले लिने महानगरपालिका ? नेपालमा जस्तै विदेशमा फलामे बार राखेको पाइँदैन ।
४. प्रतिवेदन तयारी गर्दा सम्बन्धित स्थानीय बासिन्दासँग प्रतिक्रिया/सुझाव लिने र सहभागिता जनाउने । नयाँसडकको पेटी विस्तार कसैको लहड र स्टन्ट नहोस् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया