Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशग्रामथान गाउँपालिकाको अवैध जुवा खालमा प्रहरीको छापा

ग्रामथान गाउँपालिकाको अवैध जुवा खालमा प्रहरीको छापा


विराटनगर । विराटनगर महानगरपालिकासँगै जोडिएको मोरङको ग्रामथान गाउँपालिकाको चार नम्बर वडामा लामो समयदेखि चलिरहेको अवैध जुवा खालमा प्रहरीले छापा मारेको छ । उक्त जुवा खालमा छापा हानेर प्रहरीले ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्षसहित केही जुहाडेलाई पक्राउ गरेको छ ।

साथै, पक्राउ परेकाहरूबाट प्रहरीले १८ लाख रुपैयाँ नगद पनि बरामद गरेको छ । उक्त बाह्रमासे खालमा मधेश प्रदेशको महोत्तरी, कोशी प्रदेशकै धरान, दमक, दुहबीलगायतका स्थानमा घर भएका खेलाडीहरूको व्यापक सहभागिता हुने गरेको सुराकीका आधारमा प्रहरीले छापा हानेको हो । प्रहरीले सो जुवाखालबाट ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष ग्रामथान–४ का ५९ वर्षीय शिवनारायण माझी, मधेश प्रदेश महोत्तरीको गौशाला नगरपालिका–१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, झापाको दमक नगरपालिका–१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैँचा नगरपालिका–१ का ५० वर्षीय जनककुमार मास्के, ३२ वर्षीय प्रताप राई, ग्रामथान–४ का ५५ वर्षीय अहिलाल माझी र लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटा रहेका छन् ।

शिवनारायण माझी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर एक कार्यकाल काम गरिसकेका व्यक्ति हुन् । उनी दोस्रो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदारसँग पराजित भएका थिए । हाल गाउँपालिका अध्यक्ष गच्छदारको निधन भएकाले रिक्त रहेको पालिका अध्यक्षको आगामी मंसिर र १६ गते हुुने निर्वाचनमा उनी फेरि अध्यक्ष पदमा एमालेका तर्फबाट उम्मेदवार हुुने करिब–करिब पक्का जस्तै भएको स्थानीय बासिन्दाले जानकारी गराएका छन् । उक्त जुुवाको विषयमा आर्थिक दैनिकले पटक–पटक समाचार लेखी सार्वजनिक गर्दा समेत प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङले कुुनै सुुनवाई नै गरेको थिएन । तर यसपटक एक्कासी कुन अदृश्य शक्तिको आदेशले उक्त जुवा खालमा प्रहरीले संयुक्तरूपमा छापा हान्यो भन्ने गम्भीर प्रश्न उठेको स्थानीय बासिन्दाको भनाइ छ ।

सो जुवा खाल सञ्चालन हुने एक सय मिटरको फरकमा प्रहरी चौकी रहेको छ । सय मिटरभित्रमा रहेको प्रहरी चौकीलाई लामो समयसम्म पनि जुवा खेलाएको कुनै जानकारी थिएन । तर जुवा खेलाएको स्थानभन्दा १५ किमी परको प्रदेश प्रहरी कार्यालय र १० किमी परको जिल्ला प्रहरी कार्यालयले जुवाको खाल चलाएको थाहा पाएर छापा हान्न प्रहरी पुगेको यो घटनाले धेरै प्रश्नलाई अनुत्तरित बनाएको छ । प्रहरी भनेको चेनअफ कमान्डमा चल्ने फोर्स हो, उक्त जुवा खालमा छापा हान्दा पनि प्रहरी चौकी हरैँचा र इलाका प्रहरी कार्यालय बेलबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले जुवा खालमा छापा हानेको घटना स्वयं प्रहरी आफैँले सार्वजनिक गरी स्वीकार गरिसकेको छ ।

उक्त जुवा खालभन्दा एक सय मिटरभित्रमा रहेको प्रहरी चौकी मोतीपुर इलाका प्रहरी कार्यालय बेलवारी मातहतमै रहेको कुरा प्रहरी स्रोतले बताएको छ । प्रहरीले विशेष सूचनाका आधारमा जुवा खालमा छापा हान्नका लागि कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङ र मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले संयुक्तरूपमा टोली परिचालन गरेको थियो । उक्त जुवाको थप अनुसन्धानदेखि खाल चलाउनेसम्म पुग्ने जिम्मेवारी इलाका प्रहरी कार्यालय बेलवारीलाई दिएको जानकारी प्रहरीले दिएको छ । अहिले ती सबै जुहाडे खेलाडीलाई पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको जानकारी प्रहरीले दिएको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x