Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउपत्यकामा कोरोना संक्रमणको उच्च जोखिम

उपत्यकामा कोरोना संक्रमणको उच्च जोखिम


काठमाडौं, असार १८
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको उच्च जोखिम देखिएको छ । काठमाडौं प्रवेश गर्नेको संख्या बढेसँगै कोरोना संक्रमितको संख्या बढ्नाले पनि उपत्यका कोरोनाको जोखिममा परेको हो । विगत आठ दिनमा काठमाडौं उपत्यकामा ४२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । बुधबार मात्र उपत्यकामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कतिपय परीक्षण गर्नेहरुले आफ्नो स्थानीय ठेगाना लेखाउने गरेको कारण पनि उपत्यकामा संक्रमितको संख्या अहिले सरकारले घोषणा गरेभन्दा बढी हुने आशंका गरिएको छ । काठमाडौंमा सोमबार फेला परेका एक जना संक्रमितको बाहिर कसैसँग पनि सम्पर्क नभएको कारण काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण उच्च जोखिम देखिएको हो ।

केही समयअगाडि काठमाडौंमै कार्यरत पत्रकारको कोरोना परीक्षण गर्दा पनि सबैको ठेगाना नागरिकतामा उल्लेख भएअनुसार काठमाडौंबाहिरकै उल्लेख गरिएको थियो । पछिल्लो समयमा पनि कोरोना परीक्षण गर्नेहरुले आफ्नो स्थायी ठेगाना नै लेखाउने गरेका छन् । तर, उनीहरुको बसोबास भने काठमाडौंमै हुने गरेको छ । जहाँ बसेका छन्, त्यहीको ठेगाना लेखाउँदा मात्र कहाँका संक्रमित भए भन्ने वास्तविक जानकारी प्राप्त हुन्छ ।

काठमाडौं उपत्यकामा बुधबार मात्रै १७ जना संक्रमित थपिएका छन् । तीमध्ये ललितपुरमा पाँच, भक्तपुरमा दुई र काठमाडौंमा दश जनामा कोरोना देखिएको छ । काठमाडौंमा लकडाउन खुकुलो पारिएको कारण सार्वजनिकबाहेकका सवारीसाधनको चाप बढेको छ ।

बुधबारसम्म नेपालमा १४ हजार ४६ जना कोरोना संक्रमित फेला परेका छन् । बुधबार मात्रै चार सय ८२ जना नयाँ संक्रमित फेला परेका थिए । चार हजार छ सय ५६ जना निको भएर घर फर्किएका छन् । अछामको रामारोशना थप एक जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । अहिले विश्वभर एक करोड छ लाखभन्दा बढी संक्रमित भएका छन् भने पाँच लाख १४ हजार बढीको मृत्यु भइसकेको छ ।

विश्वका विभिन्न देशहरुमा वृद्धवृद्धा र कुनै न कुनै रोगबाट पीडितहरुमा कोरोना देखिए पनि नेपालमा भने बालबालिकामा कोरोना रोग बढी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमुनिका दुई हजार ६१ जना बालबालिकामा कोरोना देखिएपछि अभिभावकहरुलाई सचेत हुन आग्रह गरेको छ । बुधबार पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अभिभावकहरुलाई सचेत हुन आग्रह गरेका हुन् ।

मन्त्रालयका सुदूरपश्चिममा नौ वर्षमुनिका एक सय ७५ जनामा कोरोना देखिएको छ । केही बालबालिकाको पनि कोरोनाकै कारण निधन भएको छ । सुदूरपश्चिममाम कोरोना संक्रमण देखिएका सबै बालबालिका आफ्ना बुबाआमासँगै भारतबाट फर्किएका हुन् । बालबालिकामा कोरोना देखिएमा अरुमा सर्ने सम्भावना बढी हुन्छ । त्यही भएर मन्त्रालयले बालबालिकालाई घरमै राख्न आग्रह गरेको छ । नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरस देखा परिसकेको छ ।

यस्तै, नेपालमा कोभिड १९– को रोकथाम र नियन्त्रण गर्न उपचारका लागि तोकिएका सात वटा अस्पतालले मात्र कोभिड १९ बिरामीका लागि आकस्मिक सेवा दिएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचारका लागि तोकेको ३० मध्ये सात अस्पतालले मात्र कोभिड १९ को आकस्मिक उपचारको व्यवस्था गरेको छ ।

२३ वटा कोभिड १९ डेडिकेटेड अस्पतालले कोभिड १९ का बिरामीलाई आकस्मिक सेवा नदिएको पाइएको छ । सरकारले कोभिड १९ को उपचारका लागि देशभरिका ३० ठूला अस्पताललाई कोभिड १९ डेडिकेटेड अस्पतालको रूपमा तोकेको छ । कोभिड १९ डेडिकेटेड अस्पताल भनी २५ वटा अस्पतालले मात्र कोभिड १९ सँग सम्बन्धित कार्य सञ्चालन गरेको छ । अन्य पाँच अस्पतालले कोभिड १९ सँग सम्बन्धित कार्य गरेका छैनन् । चार अस्पतालले गैरकोभिड १९ बिरामीलाई वैकल्पिक अस्पतालमा सार्ने गरेको पाइएको छ ।

डेडिकेटेड अस्पतालमध्ये २० अस्पतालमा सघन उपचार कक्ष र सात अस्पतालमा उच्च परिनिर्भरता कक्ष (एचडीयू) रहेको पाइएको छ । ती २० अस्पतालमा २३५ सघन उपचार कक्ष र सात अस्पतालमा ९७ कक्ष एचडीयू रहेको छ । यसैगरी १७ अस्पतालमा ९८ भेन्टिलेटर रहेका छन । अन्य १३ अस्पतालमा भने भेन्टिलेटर छैन । यस्तै ती अस्पतालमा ७ सय २९ आइसोलेसन र एक हजार ९ सय २६ शय्या रहेका छन् । तोकिएका अस्पतालमध्ये १० अस्पतालमा मात्र पीसीआर र १७ अस्पतालमा आरडीटी परीक्षणको व्यवस्था रहेको छ । मन्त्रालयले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ९३ वटा अस्पतालमा कोभिड १९ क्लिनिक सञ्चालन गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x