Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्यमशीलताका लागि कर्जा सुरक्षण अत्यावश्यक

उद्यमशीलताका लागि कर्जा सुरक्षण अत्यावश्यक


काठमाडौं । उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरूले बताएका छन् । शुक्रबारदेखि सुरु भएको एसियाली सुरक्षण संस्था(एसिक)हरूको ३६ औँ सम्मेलनको दोस्रो दिन शनिबार वक्ताहरूले नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण महत्वपूर्ण हुने बताएका हुन् ।

प्रधानमन्त्रीका मुख्य आर्थिक सल्लाहकार एवम् पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निकै कमले मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने प्रवृत्ति रहेको उल्लेख गरे । कुल जनसंख्याको १८ प्रतिशतले मात्रै कर्जा लिएको उनले जानकारी दिए । बैंक तथा वित्तीय संस्थाले महिलालाई कर्जा प्रवाह गर्दा प्रतिफलको दर उच्च हुने उनले बताए । तर महिलाहरूमा धितो राख्ने सम्पत्ति कम हुने गरेकाले ऋण लिएर काम गर्ने अवस्था नभएको उनको भनाइ छ । समाजका सबै वर्गमा कर्जाको सहज पहुँच हुनुपर्नेमा उनले जोड दिए ।

यस्तै, सम्मेलनमा नवप्रवर्तनमा लगानी: कर्जा सुरक्षण संस्थाको भूमिका विषयक सत्रका सहभागीहरूले नवप्रवर्तन र उद्यमशीलतामा कर्जा सुरक्षणको आवश्यकतासहित आफ्नो देशको अभ्यास र अनुभव आदानप्रदान गरेका थिए । कोरिया कर्जा सुरक्षण कोष (कोडिट) अध्यक्षका नीति सल्लाहकार जुंगिन योनले कोडिटले नयाँ सोंच र योजना भएका तर वित्तीय रूपमा अप्ठेरोमा परेका उद्यमीमा लगानी गरेको बताए । मलेसियाली क्रेडिट ग्यारेन्टी कर्पोरेसन (सीजीसी)का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मोहम्मद इसकले मलेसियाका साना तथा मझौला उद्योग (एसएमई)मध्ये एक तिहाइलाई सीजीसीले सहयोग गरिरहेको बताए । साखगरी सुरक्षा, वित्तीय व्यवस्था र आवश्यक अन्य काममा सहयोग गरिरहेको उनले जानकारी दिए ।

फिलिफिन्सको कर्जा सुरक्षण निकाय फिलिपिन ग्यारेन्टी कर्पोरेसन (पीजीसी)का वरिष्ठ उपाध्यक्ष सेल्सो गुटिअरेजले फिलिपिन्सको नवप्रवर्तनसम्बन्धी कानून र कार्यक्रमहरूले साना उद्योगीको विकासलाई सहयोग गर्दै आएको जानकारी दिए । ग्रामीण विकासको माध्यमबाट देशविकासको प्रयास गरिरहेको उनको भनाइ थियो । ताइवनको एसएमई क्रेडिट ग्यारेन्टी फन्ड (टीएसएमईजी) का युसिन कुओले आफूहरूले एसएमईहरूलाई जुनसुकै अवस्थामा पनि सहयोग गर्दै आइरहेको बताइन् । सरकार र बैंकसँगको सहकार्यमा उद्यमीहरूलाई सहयोग गरिरहेको उनको भनाइ थियो ।

सम्मेलनको दोस्रो सत्रमा नवप्रवर्तन फाइनान्सिङमा एसियाली देशका उत्कृष्ट अभ्यासका विषयमा छलफल भएको थियो । सो सत्रमा क्रेडिट ग्यारेन्टी कर्पोरेसन अफ कम्बोडिया (सीजीसीसी) डेपुटी प्रमुख कार्यकारी अधिकृत लिडा नोले विशेषगरी साना तथा मझौला उद्योग र अन्य व्यवसायहरूलाई सहयोग गर्ने उद्देश्यले कर्जा र बन्ड ग्यारेन्टीहरू आफ्नो संस्थाले प्रदान गर्दै आएको बताइन् । जापान फाइनान्स कर्पोरेसन (जेएफसी)का वरिष्ठ अर्थशास्त्री योहेई यामागुचीले सन् २०२७ सम्ममा नवप्रवर्तनको क्षेत्रमा लगानी बढाएर सात अर्ब अमेरिकी डलरभन्दा बढी पुर्याउने उद्देश्यले जापानी सरकारले पाँच वर्षे विकास योजना ल्याएको जानकारी दिए । उनका अनुसार स्टार्टअपको संख्या र गुणस्तरमा उल्लेख्य वृद्धि गर्ने उक्त योजनाको लक्ष्य छ ।

‘जापानका वाणिज्य बैंकहरूले बिजनेसलाई प्रोत्साहन गर्दा अन्य देशका तुलनामा इक्विटी फाइनान्स मार्केटको क्षेत्रमा विकास कम भएको देखियो,’ यामागुचीले भने, ‘जेएफसीजस्ता संस्थाबाट नवप्रवर्तन र साना तथा मझौला उद्यम एसएमईलाई प्रोत्साहन गर्न सरकारले हस्तक्षेप गर्नुपर्ने देखिएको थियो ।’

कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ अनिर्वाण घोष दस्तीदारले स्टार्टअपहरू र एमएसएमईहरू बढिरहेको क्षेत्रमा क्रेडिट ग्यारेन्टीको काम अझ महत्वपूर्ण भएको बताए । नेपालमा २७ प्रतिशत जनसंख्यामा बैंकको पहुँच पुग्न बाँकी रहेको उल्लेख गर्दै उनले वित्तीय पहुँचलाई समावेशी बनाउन पर्याप्त अवसर भएको बताए । सो क्रममा उनले नेपालमा स्टार्टअपहरूसँगै आर्थिक सम्भावना बढाउन क्रेडिट ग्यारेन्टीको आवश्यकता बढी रहेको उल्लेख गरे ।

भारत हैदरावादस्थितको फिनटेक कम्पनी टी–हबका सल्लाहकार सञ्जय ठाकुरले एसियाली क्षेत्रमा कर्जा सुरक्षाले साना तथा मझौला उद्योगहरूलाई विस्तार गर्न सहयोग पुग्ने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x