Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘लगानीमैत्री वातावरण बनाउन सरकारले योजनाबद्ध काम गर्ने’

‘लगानीमैत्री वातावरण बनाउन सरकारले योजनाबद्ध काम गर्ने’


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीमैत्री वातावरण बनाउन सरकारले योजनाबद्धरूपमा काम गर्ने बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ४५औँ वार्षिक साधारणसभामा मन्त्री भण्डारीले आर्थिक मन्दीबाट सम्वृद्धिको यात्रामा लाग्न नेपालीहरूमा छाएको निराशावादी भाष्यलाई चिर्न आवश्यक रहेको बताए ।

निजीक्षेत्र उत्साहित बनेको अवस्थामा मात्र राज्यको कार्यक्रमहरू प्रभावकारी हुनेमा जोड दिँदै उनले निजी क्षेत्रमैत्री नीतिगत सुधारतर्फ अग्रसर रहने प्रतिबद्धता समेत जनाए । युवा उद्यमशीलतामा जोड दिँदै उनले राज्यले मौद्रिक नीति, स्टार्टअप नेसनललगायतका विभिन्न लगानीमैत्री वातावरण तयार गरिसकेको अवस्थामा निजी क्षेत्रले पनि थप नीतिगत सुधारमा सहकार्य गर्न आह्वान गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धिका लागि महासंघले सरकारसँग सहकार्य गर्ने बताए । ‘कोभिड महामारी र रुस–युक्रेन युद्धपछि विश्वका अन्य देशजस्तै नेपालको अर्थतन्त्र चलायमान हुन नसक्दा नागरिकमा त्रासको वातावरण बनेको थियो’, उनले भने, ‘पछिल्लो समय आर्थिक, पर्यटकीय गतिविधि चलायमान बन्दै जाँदा जनतामा आशा जागेको छ । अर्थतन्त्र सुधारका संकेत देखिएका छन् ।’ यस्तै, उनले पहिले दाताले प्रतिबद्धता गरेबमोजिमको लगानी आउन नसक्नुमा नेपालका कतिपय कानुन बाधक देखिएको बताए ।

कार्यक्रममा संघका अध्यक्ष विश्वराज बज्राचार्यले रेमिट्यान्समा निर्भर देखिएको देशलाई उद्यमशीलता र उत्पादनमुखी बनाउन राज्यका सबै तहबाट निजी क्षेत्रमैत्री नीतिगत व्यवस्था निर्माण गर्नुपर्नेमा जोड दिए । स्वदेशी उत्पादनले विदेशी व्यवसायसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा लैजान सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । यस्तै, उनले उद्योग व्यवसायमा विकास, समृद्ध ललितपुर नारासहित हस्तकला नगरीको पहिचान बृद्धि गर्न जिल्लाका उद्योग तथा उत्पादन क्षेत्रको पहिचान गर्दै यहाँका उत्पादनलाई ब्रान्डिङ तथा कपिराइट अवधारणामा अग्रसर रहने बताए ।

कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेम बहादुर महर्जनले प्रदेशका उद्योग व्यवसायीहरूको प्रमुख माग सम्बोधन गर्ने क्रममा हस्तकलाग्राम र स्वास्थ्य बिधेयक तयार भएको बताए । बिशेषतः ललितपुर जिल्लामा हस्तकला प्रवर्द्धनको नीतिगत व्यवस्थालाई पर्यटनसँग जोड्न सकिनेमा उनले जोड दिए । यी दुई क्षेत्रलाई एकापसमा जोड्नाले परम्परागत कला सीपको नवप्रवर्तनमा प्रवर्द्धन र हस्तकला क्षेत्रको दिगो विकाससँगै अन्तर्राष्ट्रिय हस्तकला पर्यटनको सम्भावनाले आर्थिक सम्बृद्धिको सामूहिक लक्ष्य प्राप्ति सहज हुने उनको भनाइ थियो ।

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य (आस्था)ले ललितपूरका सम्भावित लगानीका क्षेत्र पहिचान गर्न सकेमा हस्ताकला नगरीका सीप तथा स्रोतहरूको प्रभावकारी परिचालन गर्न सहज हुने बताइन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x