ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरेसको समान मत
न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित यहाँ आएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा समान धारणा देखिएको छ ।
अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालायमा भएको भेटवार्तामा महासचिव गुटेरेसले नेपालमा हिमालहरू पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले ग्रिनहाउस ग्यास उत्सर्जनमा भारी कटौती र कमजोरीहरू सम्बोधनसहित नेपालजस्ता पर्वतीय देशहरूको जलवायु वित्त पर्याप्त हुनुपर्नेमा जोड दिएका थिए ।
गत वर्ष आफ्नो नेपाल भ्रमणका क्रममा नेपाल सरकार र नेपाली जनताले देखाएको सदासयताप्रति आभार व्यक्त गर्दै महासचिव गुटेरेसले अतिकम विकसित देशलगायत विकासशील देशले कार्बन उत्सर्जन न्यूनीकरण र रोकथाममा ध्यान केन्द्रित गर्न अन्तर्राष्ट्रिय क्षेत्रमा गहन सुधारको आवश्यकतामा जोड दिएको भेटमा सहभागी राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापाले राससलाई जानकारी दिए ।
विकासशील देशहरूले उन्नत वित्तीय सहायताका लागि वित्तीय संरचना सरलीकृत गर्न राष्ट्रसङ्घले पहल गर्ने विश्वास दिलाउँदै महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घको शान्ति कार्यमा नेपाली शान्ति सैनिकको योगदानको उच्च प्रशंसा गरेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गरेकामा कृतज्ञता व्यक्त गर्दै नेपालले जलवायु न्याय पाउनुपर्ने र यसमा पहलका लागि आग्रह गरेका थिए । उनले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न योगदान गरिरहेका नेपाली शान्ति सेनालाई राष्ट्रसङ्घको उच्चतम् पद उपलब्ध गराउन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले नेपालको खुम्बु क्षेत्रमा हालै गएको हिम पहिरोप्रति राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायको चासोका लागि पनि धन्यवाद दिदै नेपालले चाँडै ‘हिमालय इकोसिस्टम’को एजेण्डासहित सगरमाथा संवादको आयोजना गर्ने जानकारी गराए । उनले उक्त संवादमा सहभागी हुन महासचिव गुटेरेसलाई निमन्त्रणासमेत दिए ।
‘समृद्ध, नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षासहित मुलुकको आर्थिक रूपान्तरण गरी अल्पविकासित मुलुकबाट स्तरोन्नति हुने क्रममा नेपाल रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्यहरू हासिलका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपेक्षासमेत गरे ।
भेटका अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि (राजदूत) थापा र परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई सहभागी थिए ।
त्यसअघि प्रधानमन्त्री ओलीसँग राष्ट्रसङ्घको अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख र साना आइल्याण्ड भएका मुलुकका लागि प्रतिनिधिसमेत रहेका उपमहासचिव रबाब फतिमाले नेपाली नियोगको कार्यालयमा भेट गरेका थिए ।
गए राति नै प्रधानमन्त्री ओलीसहित भ्रमण दलमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले रात्रिभोज आयोजना गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आइएमएफ उपनिर्देशक र अर्थमन्त्री पौडेलबीच शिष्टाचार भेट
- सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समाधान गर्न मन्त्री खड्काद्वारा निर्देशन
- परराष्ट्रमन्त्री डा. राणा न्यूयोर्कमा
- कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली
- ‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’
- ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरेसको समान मत
- कानुनी संरचनाको कसीमा यातायातको वैकल्पिक माध्यम पोडवे
- संविधानले दियो प्रमुख पदमा महिला पुग्ने बाटो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया