Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुर्गा प्रसाईँ किन पक्राउ परे, उनलाई के सजाय हुन सक्छ ?

दुर्गा प्रसाईँ किन पक्राउ परे, उनलाई के सजाय हुन सक्छ ?


काठमाडौं,आफूलाई सामाजिक अभियन्ता समेत बताउने मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाण्डू जिल्ला अदालतले आदेश दिएको छ।

अदालतले प्रसाईँलाई तीन दिन थुनामा राख्न आदेश दिएको काठमाण्डू जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बीबीसी न्यूज नेपालीलाई जानकारी दिए।

नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईँलाई आइतवार अपराह्न भक्तपुरबाट पक्राउ गरेको थियो। उनको रक्तचाप उच्च देखिएका कारण उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए।अवस्थीले एक महिलाको उजुरीको अनुसन्धानका क्रममा प्रसाईँलाई पक्राउ गरिएको बताएका छन्।पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईँ आफ्ना अभिव्यक्तिका कारण विवादमा आइरहने गरेका छन्। प्रसाईँलाई विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ।एक साताअघि परेको उजुरीपछि उनलाई पक्राउ गर्न प्रहरीले केही दिनअघि नै काठमाण्डू जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। आफूलाई पक्राउ गर्न प्रहरीले अनुमति लिएपछि प्रसाईँ घरबाहिर ननिस्किएको विवरण आएका थिए।

प्रहरीले उनलाई मध्यपुर थिमीमा रहेको उनको घरभित्रै प्रवेश गरेर आइतवार अपराह्न नियन्त्रणमा लिएको थियो।

के सजाय हुन सक्छप्रहरीले उनीमाथि अधिकतम एक लाख रुपैयाँसम्म जरिबाना र पाँच वर्षसम्म कैद हुन सक्ने कसुरमा अनुसन्धान भइरहेको जनाएको छ।

“विद्युतीय कारोबार ऐन २०६३को दफा ४७को कसुर गरेको एक जना महिलाको उजुरीपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो,” ब्यूरोका प्रवक्ता अवस्थीले भने।

ऐनको उक्त दफामा विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्नेलाई अधिकतम एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ।

“कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ,” उक्त दफामा भनिएको छ।

तर प्रसाईँविरुद्ध मुद्दा चलाउने वा नचलाउने निर्णय अनुसन्धानपछि मात्रै गरिने प्रहरीले जनाएको छ। प्रसाईँलाई अनुसन्धानका लागि म्याद थप गर्न आइतवार नै जिल्ला अदालत काठमाण्डूमा उपस्थित गराउने तयारी भइरहेको छ।

को हुन् दुर्गा प्रसाईँएमाले र माओवादी मिलेर गठित तात्कालिक नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड एवं केपी ओलीलाई आफ्नो घरमा मार्सी चामलको भात खुवाएको एउटा तस्बिर सार्वजनिक भएपछि प्रसाईँ एकाएक चर्चामा आएका थिए।

नेकपा फुटेपछि प्रसाईँ एमालेका केन्द्रीय सदस्य बने।

एमालेको केन्द्रीय सदस्य रहेकै बेला गत वर्ष झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर एउटा कार्यक्रम गरेपछि उनलाई एमालेले दलबाट निष्कासन गरेको थियो।त्यसपछि उनी एमालेविरुद्ध उग्र रूपमा प्रस्तुत हुँदै आएका छन्।

केपी ओलीसँग पारिवारिक नाता भएको देखाउन रुचाउने प्रसाईँले केही समयअघि पूर्वप्रधानमन्त्री ओलीको ‘विदेशको एउटा कम्पनीमा लगानी रहेको’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए।

राजधानीमै भएको प्रसाईँको एउटा कार्यक्रमपछि केही व्यक्तिले उनलाई कालोमोसो पनि दलेका थिए। उनले एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ र एमाले नेता महेश बस्नेतको अगुवाईमा आफूमाथि कालोमोसो दलिएको दाबी गरेका थिए।गत वर्ष उनको अगुवाइमा राजधानी काठमाण्डूमा प्रदर्शनको आयोजना गरिएपछि उनी थप चर्चामा छन्।

देशमा राजतन्त्र र हिन्दूराष्ट्र ब्युँताउने अभियान चलाइरहेका प्रसाईँको अभियानको उद्घाटन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह सहित उनको परिवारका सदस्यहरू डेढ वर्षअघि झापा पुगेका थिए।
(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x