Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकारबाही प्रक्रियामाथि प्रतिवाद गर्ने लामिछानेको चेतावनी

कारबाही प्रक्रियामाथि प्रतिवाद गर्ने लामिछानेको चेतावनी

गोर्खा मिडियाका तत्कालीन सञ्चालक पक्राउ


काठमाडौं । गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य छविलाल जोशीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । आइतबार पक्राउ गरेर प्रहरीले साँझ नै पोखरा लगेको छ । विभिन्न सहकारी संस्थाबाट गोर्खा मिडियामा रकम ल्याएर दुरुपयोग गरेको भेटिएको भन्दै ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले कानुनी कारबाही गर्न सिफारिस गरेको आधारमा सरकारले जोशीलाई पक्राउ गरेको हो ।

जोशीलाई ‘जरूरी’ पक्राउ पुर्जी थमाएर पक्राउ गरिएको हो । उनलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराउने तयारी रुवरुप पक्राउ परेकै दिन विमानबाट पोखरा लगिएको हो । जोशीलाई सूर्यदर्शन सहकारीको बचत अपचलनसम्बन्धी विषयमा पक्राउ गरिएको हो । आइतबार नै गृहमन्त्री रमेश लेखकले सहकारीको रकम बचत दुरुपयोग गर्नेलाई कारबाही अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए ।

काठमाडौंका बुद्धनगरस्थित जोशीको घरबाट प्रहरीले सहकारीसम्बन्धी डाटा रहेको सफ्टवेयर पनि बरामद गरेको थियो । उनीसँग सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सोधपुछसमेत गरेको थियो ।

ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने संस्था गोर्खा मिडियामा सुरुमा जोशीको ३५ प्रतिशत सेयर थियो । टेलिभिजन सञ्चालन भएको केही समयपछि उनले गोर्खा मिडिया छाडेका थिए । जोशीले उक्त मिडिया छाडेपछि सो सेयर पनि अध्यक्ष जिबी राईकै नाममा गएको थियो ।

संसदीय छानबिन समितिको प्रतिवेदनमा विभिन्न सहकारीबाट गोर्खा मिडियामा बचत रकम आएकोबारे आफू अनविज्ञ रहेको जोशीले बयान पनि दिएका थिए । गोर्खा मिडियामा पोखराको सूर्यदर्शनलगायत सहकारीबाट बचत रकम आएको संसदीय छानबिन समितिको प्रतिवेदनको निष्कर्ष छ । सहकारीसम्बन्धी संसदीय छानबिन समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेलाई पनि कारबाही सिफारिस गरेको थियो । तर, प्रहरीले आइतबार उनलाई पक्राउ गरेन । प्रहरीले पक्राउ गर्ने सङ्केत पाएपछि लामिछाने आफ्ना पार्टीका नेता तथा कार्यकर्ताको साथमा काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा बसेका थिए ।

पार्टी कार्यालयमै उपत्यकामा रहेका नेता तथा कार्यकर्ता जम्मा गरेर सभापति लामिछानेले आफूलाई पक्राउ गरिए प्रतिवाद गर्ने धम्की दिएका थिए । उनले सरकारले सहकारी पीडितको रकम फिर्ता गराउनेभन्दा पनि आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी र आफूलाई बदनाम गराउने प्रयास गरिएको भन्दै प्रतिवादको धम्की दिएका हुन् । लामिछानेले सरकारले सुरु गरेको छानबिन प्रक्रियामा सहयोग गर्ने अपेक्षाविपरीत प्रतिवाद गर्ने धम्कीले उनी त्रसित भएको देखिएको छ । गोर्खा मिडियामा अवैधरूपमा सहकारीबाट रकम लिएको र उक्त रकम दुरुपयोग गर्न लामिछानेले चेक काटेको देखिएको छ । लामिछानेले अस्वीकार गरे पनि उनकै नाममा सहकारीको पैसा ल्याइएको र दुरुपयोग गरिएको अन्य आरोपीहरूले बयान दिएका छन् ।

सरकारले सभापति लामिछानेलाई पक्राउ गर्न लागेपछि चीन गएको सो पार्टीका नेता स्वर्णिम वाग्ले नेतृत्वको टोली सोमबार नै नेपाल फर्कने भएको छ । लामिछाने भ्रष्टाचारविरुद्ध सबैभन्दा बढी कराउने नेतामा पछिल्लो समय देखा परे पनि सहकारीको रकम अपचलनमा दोषी देखिएको संसदीय छानबिन समितिले ठहर गरेपछि त्रसित छन् । लामिछानेलाई अदालतबाट पक्राउ पुर्जी लिएर मात्र पक्राउ गर्ने तयारी सरकारको छ । अदालतबाट पक्राऊ पुर्जी नलिई पक्राउ गर्दा आन्दोलन हुने देखेपछि प्रहरीले लामिछानेविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिन लागेको हो ।

विभिन्न सहकारी संस्थाहरूबाट गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र निजका आफन्तको नाममा प्रचलित सहकारी कानुनविपरीत ऋण तथा पेश्की गरी जम्मा दुई अर्ब ५८ करोड रुपैयाँबराबरको रकम पठाई अपचलन गरिएको प्रतिवेदनले ठहर गरेको थियो । सो रकममध्ये ६५ करोड ५४ लाख चार हजार पाँच सय ३८ रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको खातमा जम्मा भएको देखिन्छ । उक्त रकममध्ये २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट जम्मा भएको हो भने ४३ करोड सात लाख ७४ हजार पाँच सय ३८ रुपैयाँ विभिन्न व्यक्तिका नाममा ऋण देखाई रकम गोर्खा मिडियामा जम्मा गरी जीबी राईको नाममा ऋण कायम गरिएको छ । जम्मा भएको रकममध्ये १२ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको सेयर पुँजीबापत जम्मा भएको आठ करोड २० लाख ९१ हजार छ सय ४३ रुपैयाँ राई स्वयंले प्रयोग गरेको देखिन्छ । पछि रवि लामिछानेले समेतले गोर्खा मिडिया छाडेपछि गोर्खा मिडियाको सञ्चालकको रूपमा भित्री दुई करोड रुपैयाँ ऋण लिएका छन् । साथै ७५ लाख रुपैयाँ लामिछानेको नामबाट कम्पनीको बैंक खातमा समेत जम्मा भएको छ ।

अध्यक्ष राई, लामिछाने, संस्थापक सञ्चालक जोशी, सदस्य कुमार रम्तेललाई समेत प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ । सहकारी बचत रकम अपचलनमा संलग्न रही फरार रहेका राई, थानबहादुर बुढा मगर (सूर्यदर्शन पोखरा), दिनेश रोक्का (सहारा चितवन), सागर केसी (सुप्रिम बुटवल), तस्वीरण खातुन (सानो पाइला, विरगञ्ज) र भूपेन्द्र राई (स्वर्णलक्ष्मी, काठमाडौं) शीघ्र खोजी गरी कानुनी दायरमा ल्याउन नेपाल सरकारलाई निर्देशन दिएको थियो । समितिले छानबिनको लागि खोजी गरेर उपस्थित गराई दिन गृह मन्त्रालयमार्फत नेपाल सरकारलाई निर्देशन गरेका अन्य फरार व्यक्तिहरूलाई अविलम्ब कानुनको दायरामा शीघ्र ल्याई बचत अपचलनमा कारबाही अघि बढाउन सिफारिस गर्न सुझाव दिएको थियो भने मन्त्रालयले प्रतिवेदन कार्यान्वयनमा ल्याएसँगै फरार रहेका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने बताइएको छ ।

समितिले समस्याग्रस्त घोषणा भएका सहकारी पुनः सञ्चालनमा आउने सम्भावना ज्यादै क्षीण रहेको छ । योसँगै एक खर्ब रुपैयाँभन्दा बढी रकम जोखिममा पर्ने भएको छ । ठूला कारोबार गर्ने सहकारी, अदालतमा दायर गरेको सहकारी र समस्याग्रस्त घोषणा भएका करिब दुई सय ७० वटा सहकारीले बचतकर्ताको एक खर्ब ४२ अर्ब १६ करोड पाँच लाख रुपैयाँ अपचलन भएको छ भने समितिको उक्त प्रतिवदेनसहित बचतकर्ताहरूको बचत रकम जोखिममा समेत परेको छ ।

गत जेठ १५ गते गठन भएको सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा छानबिन विशेष समितिले भदौ ३१ गते प्रतिनिधिसभामा प्रतिवेदन बुझाउँदै समस्याग्रस्त घोषणा सहकारीमा समस्या भएको र रकम अपचलन भएको निष्कर्ष निकालेको हो ।

सरकारले आफूमाथि ट्रायल गरेको लामिछानेको आरोप
रास्वपा सभापति रवि लामिछानेले सरकारले आफूमाथि ट्रायल गरिरहेको आरोप लगाएका छन् । लामिछाने पक्राउ पर्ने हल्लापछि पार्टी कार्यालयमा उपस्थित भएका कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू नभागेको, नलुकेको तर सरकारले ट्रायल गर्न खोजेको बताए ।

लामिछानेले कसैको राजनीति बचाइदिनका लागि आफू बेलिबेदीमा चढ्नुपर्ने भन्दै प्रश्न गरे । उनले वर्षौँदेखि राजनीति गरेका दलहरू एउटा व्यक्तिसँग डराएको आरोप लगाए । तर आफू नतर्सिने बताए ।

छविलाल जोशी पक्राउ परेपछि लामिछाने पनि पक्राउ पर्ने डरले आइतबार बाग्मती प्रदेश समितिका सभापति अच्युतम लामिछानेले ह्वाट्स एपमा सन्देश पठाउँदै केन्द्रीय कार्यालयमा आउन पदाधिकारी र कार्यकर्तालाई भनेका थिए । जोशी पक्राउ परेसँगै सभापति लामिछाने पनि पार्टी कार्यालय पुगेका थिए । समितिले गोर्खा मिडिया सञ्चालनको क्रममा सहकारीको रकम दुरुपयोग गर्नेमा लामिछाने समेतको सहभागिता रहेको प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x