Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसहकारी ठगी छानबिनबाट देखिएका कारबाहीयोग्य आठ कसुर

सहकारी ठगी छानबिनबाट देखिएका कारबाहीयोग्य आठ कसुर


काठमाडौं । संसद्ले संसदीय विशेष छानबिन समितिलाई सहकारीको बचत हिनामिना सम्बन्धमा अनुसन्धान गर्न दिएको कार्यादेशअनुसार कारबाही गर्ने हो भने दोषी ठहर भएका मूलपात्रहरूमाथि कारबाही गर्न ढिलो भइसकेको छ । छिटो कारबाही नहुँदा कारबाहीका लागि सिफरिस भइसकेका व्यक्ति फरार हुने खतरा बढेको छ ।

समितिले गएको सोमबार (भदौ ३१ गते) संसद्मा आफ्नो प्रतिवेदन बुझाएको थियो । त्यसमा दोषी करार किटानी नै गरेर कारबाहीका लागि चार जनाको नाम उल्लेख छ । त्यसमध्ये एक हुन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने । बाँकी एक जना फरार, एक जना जेलमा र अर्का एक प्रहरीका पूर्वडीआईजी हुन् ।

यीमध्ये सभापति लामिछानेले आफूले क्लिन चिट पाएको भनेर बताइरहेका छन् । बाँकी अरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

समितिले आफ्नो प्रतिवेदनको बुँदा १७.४ मा संसद्ले आफूलाई दिएको कार्यादेश उल्लेख गरेर दोषी देखिएको कारणसहित समितिको निष्कर्ष दिएको छ । प्रतिवेदनको यो भागमा भनिएको छ, समितिलाई प्राप्त कार्यादेशमध्ये चौथो कार्यादेशमा देहायको बेहोरा उल्लेख छ :–

‘सहकारी संस्था सदस्य (सेयरधनी) एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानिनोक्सानी पुर्याएको भनी संघीय संसद् र सार्वजनिकरूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची–२ मा उल्लिखितलगायतका सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालिलगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानुनीरूपमा प्रवाह भए वा नभएको र त्यस्तो गैरकानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुनबमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने ।

यो कार्यादेशअनुसार उक्त कम्पनीमा आएको सहकारीको रकमबारे समितिको समग्र अध्ययन एवं छानबिनका आधारमा प्रस्तुत कार्यादेशउपरको निष्कर्ष देहायबमोजिम रहेको छ : भन्दै उक्त कम्पनीका चारजना सञ्चालकहरूले के–के गरे भन्ने उल्लेख गर्दै कारबाहीको सिफारिस गरेको हो । त्यो निष्कर्षबाट संक्षिप्तरूपमा आठवटा आधार देखिँदारहेछन् । ती यस्ता छन :–

(१) ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा सेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन् । सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन, खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसबापत दायित्व ग्रहण गर्नु पर्दछ’, समितिको प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गने ।’

(२) ‘कम्पनीहरूमा सेयर खरिद बिक्री गर्दा कानुनबमोजिम पेस हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिद बिक्री भएको पाइएको हुँदा भुक्तानी प्रक्रिया पूर्ण भएको यकिन गरी र सोबमोजिमको कर समेत तिर्ने सम्बन्धमा बाध्यकारी प्रबन्ध गर्न र श्वेट सेयरसम्बन्धी कानुनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन नेपाल सरकारलाई सिफारिस गर्ने ।’

(३) ‘उक्त समयका प्रालिको आन्तरिक प्रशासन सञ्चालनमा आफ्नो भूमिका रहेको कुरा रवि लामिछानेले समितिमा खुलाउनु भएको र सो समयमा निजले सम्पादन गरेका कामहरूको विवरण समेतबाट देखिन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थाबाट रकम गोरखा मिडिया नेटवर्क प्रालिमा आउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण रहेको नभेटिए पनि सोही रकम गोरखा मिडियामा आइसकेपछि सोको परिचालन र खर्च प्रक्रियामा उहाँको सहभागिता देखिन्छ ।’

(४) ‘गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंकमा भएको खातामा अध्यक्ष गितेन्द्रबाबु राईसहित रवि लामिछाने र छविलाल जोशीको हस्ताक्षर रहेको र तीनमध्ये एक जनाको हस्ताक्षरमा चेक काटिन सक्ने अर्थात् खाता चल्ने देखिएबाट तीनै जनाले गोर्खा मिडिया नेटवर्क प्रालिको आन्तरिक वित्तीय परिचालनको अधिकार राखेको देखिन आयो । बैंकमा खाता खोल्दाका बखत पेस गरिएको (केवाईसी) विवरण र दस्तखत नमूना कार्डमा तीनमध्ये एक जनाको हस्ताक्षरमा खाता सञ्चालन हुने प्रबन्ध रहेको छ । समितिमा प्राप्त चेकहरूमा रवि लामिछानेका एकल हस्ताक्षरका जारी चेकहरू धेरै रहेका छन्’, प्रतिवेदनको निष्कर्ष खण्डमा लेखिएको छ’, हस्ताक्षरलगायतको सम्पूर्ण प्रक्रियामा सहमति रहनु, आन्तरिक प्रशासन सञ्चालनमा प्रभावकारी भूमिका रहनु, सञ्चालकमध्येका रवि लामिछानेको नामबाट लेखा परीक्षण प्रतिवेदनमा उल्लिखित इक्युटी सेयर क्यापिटल शीर्षकमा रकम समेत जम्मा भएको देखिनु र समितिसमक्ष सोधपुछका क्रममा उक्त रकम पेश्की लिई जम्मा गरेको हुँ भन्ने व्यहोरा लेखाए पनि पेश्की लिएको खुल्ने आधार प्रमाण पेस गर्न सकेको नदेखिएको समेतको आधार प्रमाणबाट निज सञ्चालकहरू कम्पनीको जिम्मेवार भूमिका रहनुभएको देखिन्छ ।’

(५) ‘कम्पनी चलाउने रकम के–कहाँबाट आउँछ ? कसरी आउँछ ? कति आउँछ ? भन्ने कुरा खाता सञ्चालन गर्ने सञ्चालकले जान्ने र बुझ्ने नै अवस्था हुने तथा निजहरूमध्ये कसैले रकमको स्रोतमाथि प्रश्न गरी कुनै विमति वा फरक मत दर्ज गराएको अवस्था समेत रहे÷भएको नदेखिएको हुँदा निज सञ्चालकद्वय रवि लामिछाने र छविलाल जोशी कम्पनीमा जिम्मेवार पदाधिकारी रहुन्जेल निजहरूले सहकारीबाट आएको रकम खर्च वा परिचालन गरेबापत सिर्जना हुने उत्तरदायित्व बहन गर्नुपर्ने देखिन्छ ।’

(६) ‘समितिले कम्पनी रजिष्टारको कार्यालयको अभिलेखअनुसार लामिछाने र जोशी दुवै जनाले सेयर खरिद गरी कम्पनीमा प्रवेश गरेको र सेयर बिक्री गरी कम्पनी छाडेको भन्ने देखिन्छ । यद्यपि उहाँहरूको समितिसमक्षको जवाफमा आफूहरूले पैसा नलिए–नदिएको भनी खुलाउनु भएको छ । सेयर खरिदबिक्री गर्दाका बखत कार्यालयमा पेस गरिएका कागजात एवं तिनमा भएका हस्ताक्षरको सम्बन्धमा भने दुवै जनाले कुनै असहमति जनाएको वा उक्त दस्तखत आफूले गरेको होइन भनी भनेको अवस्था छैन । कार्यालयको प्रमाणित अभिलेखअनुसार निजहरू दुवै जना सेयर रकम लगानी गरी सञ्चालकको भूमिकामा रहेको देखिन आउँछ । सञ्चालक तथा प्रबन्ध निर्देशक समेत रहनुभएका रवि लामिछानेले आफूलाई स्वेट सेयर दिएको भनी बताए पनि प्रथमतः श्वेट सेयरसम्बन्धी कानूनी प्रबन्ध नेपालमा रहे वा भएको नदेखिएको तथा निज सञ्चालकहरूका बीचमा एक–आपसमा श्वेट शेयर लिने–दिने सम्बन्धमा कुनै सम्झौता भएको लिखत प्रमाण समेत रहे भएको अवस्था देखिँदैन । समितिसमक्ष सोधपुछका क्रममा निज लामिछानेले सेयरसम्बन्धी प्रबन्ध निज गितेन्द्रबाबु राईले गर्ने सहमति भएको थियो भनी खुलाएको बेहोरा निजकै कथनबाहेक अर्को कुनै प्रमाणबाट समर्थित भएको अवस्था देखिँदैन ।’

(७) ‘निजहरू रवि लामिछाने र छविलाल जोशीले सोधपुछका क्रममा खुलाउनुभएको भौचर पेस गरिएको थियो तर रकम जम्मा भएको थिएन भन्ने बेहोराबाट कम्पनी रजिष्टारको कार्यालयमा गलत विवरण दिएको भन्ने देखिन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘तत्सम्बन्धमा कम्पनी रजिष्टारको कार्यालयकै क्षेत्राधिकार हुने हुँदा यहाँ बोलिरहनु परेन । यद्यपि रकम दाखिला नगरी भौचरको प्रमाणीकरण सम्बन्धित बैंकबाट कसरी भयो र कम्पनी रजिष्टारको कार्यालयले सेयरबापतको रकम लिनादिना भएको भन्ने कुरा के–कसरी यकिन गरेको हो भन्ने कुरा समेत देखिँदैन ।’

(८) ‘सहकारी संस्थाहरूबाट गोर्खा मिडिया नेटवर्क प्रालिलगायतका कम्पनीहरूमा रकम प्रवाह भएको देखिन्छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि, सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि., स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. र सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिबाट जम्मा ६५ करोड ५४ लाख चार हजार पाँच सय ३८ रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा प्रवाह भएको देखिन्छ ।

कतिपय कम्पनीलाई सापटीका रूपमा, कतिमा कम्पनीलाई ऋणका रूपमा, कतिमा सञ्चालकका नाममा ऋण खडा गरी कम्पनीमा र कतिमा कम्पनीका सञ्चालकको नाममा ऋण खडा गरी कम्पनीमै रकम प्रवाह भएको देखियो । जुन विधि वा मार्ग अपनाइएको भए पनि ती कारोबारहरू कानुनसम्मत देखिएनन् । सहकारीको बचत रकम सदस्यबाहेकमा कारोबार हुने वा रकम प्रवाह हुने परिकल्पना कानूनतः गरेको देखिँदैन । कानुनको एउटा मान्य सिद्धान्त के रहेको छ भने कानुनको अज्ञानता क्षम्य हुँदैन । तसर्थ, सहकारीबाट कुनै पनि कम्पनी वा गोरखा मिडिया नेटवर्क प्रालिमा सिधा रकम प्रवाह हुनु गैरकानुनी हो ।’


क्याटेगोरी : समाचार, सहकारी–कृषि
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x