Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा खाद्य सुरक्षा सुधारका लागि अमेरिकाको सहयोग

नेपालमा खाद्य सुरक्षा सुधारका लागि अमेरिकाको सहयोग


काठमाडौं । नेपाली किसानहरूलाई लाभान्वित गर्न संयुक्त राज्य अमेरिकाले खाद्य सुरक्षा योजना र २१ मिलियन डलरको परियोजना घोषणा गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि २१ मिलियन अमेरिकी डलर बराबरको युएसएआईडी एग्रिकल्चरल डाईरेक्ट फाइनान्सिङ परियोजना, गभरमेन्ट टु गभरमेन्टको घोषणा गरेको हो ।

कार्यक्रममा अमेरिकी सरकारको नयाँ पाँच वर्षीय ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी–नेपाल कन्ट्री प्लान २०२४–२०२८ को पनि उद्घाटन गरिएको थियो । यसमा नेपालमा खाद्य र पोषण सुरक्षा सुधार गर्न अमेरिकी सरकारको दृष्टिकोण प्रस्तुत गरिएको थियो । युएसएआईडी एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजनाले संघीय, प्रदेश र स्थानीय सरकारहरूमार्फत लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूमा कृषि विकास कार्यक्रमहरूको योजना र कार्यान्वयनलाई सुदृढ गर्नको लागि नेपाल सरकारको क्षमता अभिवृत्ति गर्नेछ । परियोजनाले ६९ हजार घरधुरीलाई ५३ हजार हेक्टर क्षेत्रफलमा उत्पादन वृद्धि गर्न नयाँ प्रविधि र कृषि अभ्यासहरू अपनाउन सहयोग गर्नेछ ।

यस्तै, नयाँ ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी–नेपाल कन्ट्री प्लान २०२४–२०२८ ले गरिबी, भोकमरी, र कुपोषणलाई दिगोरूपमा घटाउनका लागि कृषि र खाद्य प्रणालीको रूपान्तरण गर्न लक्षित छ । यस कन्ट्री प्लानअन्तर्गत तराई र पहाडका २६ जिल्लाहरू समावेश हुनेछन् । यसअन्तर्गत अमेरिकी सरकारको कृषि विकास कार्यक्रमलाई मधेस प्रदेशसम्म विस्तार गरी नेपालको सबैभन्दा जोखिममा रहेका जनसंख्यामा अझ बढी पहुँच बढाउनेछ ।

परियोजना घोषणा कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको यो दीर्घकालीन साझेदारीले खाद्य सुरक्षालाई अगाडि बढाउन र दिगो विकास प्रवद्र्धन गर्न महत्वपूर्ण हुने बताए । यस्तै, नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले नयाँ ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी–नेपाल कन्ट्री प्लानले संयुक्त राज्य अमेरिकाको नेपाल सरकार, यहाँका निजी क्षेत्र र समुदायहरूसँगको विद्यमान साझेदारीलाई सुदृढ गरी समावेशी, उत्थानशील र दिगो विकास हासिल गर्ने बताए ।

सन् २०११ देखि अमेरिकी सरकारको फिड द फ्युचर कार्यक्रमले आठ लाखभन्दा बढी नेपालीहरूलाई कृषि उत्पादकत्वमा वृद्धि, व्यवसाय प्रवद्र्धन र पोषणमा सुधारका लागि एक सय ८१ मिलियन अमेरिकी डलरभन्दा बढी सहयोग गरिसकेको जनाएको छ । यी पहलहरूले गर्दा फिड द फ्युचर कार्यक्रम सञ्चालन भएको जिल्लाहरूमा गरिबीमा ७१ प्रतिशत र बालबालिकामा हुने कुपोषणमा ३९ प्रतिशतले कमी आएको जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x