Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएकै दिन ६ सय ६४ जना कोरोनामुक्त हुँदा थपिए ४ सय ७३ नयाँ संक्रमित

एकै दिन ६ सय ६४ जना कोरोनामुक्त हुँदा थपिए ४ सय ७३ नयाँ संक्रमित


काठमाडौं, असार १९
नेपालमा बिहीबार एकै दिन ६ सय ६४ जनाले कोरोनालाई जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ सय ६४ जना कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएका हुन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या ५ हजार ३ सय २० पुगेको छ ।

डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३ सय ६४ पुरुष र १ सय ९ महिला गरी कुल ४ सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सङ्क्रमितको सङ्ख्या १४ हजार ५ सय १९ पुगेको छ । तीमध्ये एक हजार ८ सय ८३ महिला र १२ हजार ६ सय ३६ पुरुष छन् । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार ५ सय ३७ जनाको परीक्षण भएको समेत उनले जानकारी दिए ।

शिशुको मृत्युसँगै मृतक ३१ पुगे : यसैबीच कोरोना भाइरस सङ्क्रमणबाट बिहीबार एक शिशुको मृत्यु भएको छ । म्याग्दी जिल्ला धौलागिरि नगरपालिका–४ स्थायी बसोबास भएको ४९ दिनको ती शिशुको बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । लामो समयदेखि स्वास्थ्यमा समस्या भएपछि ती शिशुलाई यही असार ९ गते ती अस्पतालमा भर्ना गरिएको थियो । उनीसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।

काठमाडौँ उपत्यकामा थप ३२ जना कोरोना पुष्टि : त्यस्तै, काठमाडौँ उपत्यकामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा २८, भक्तपुरमा दुई र ललितपुरमा दुई गरी ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १७ महिला र ११ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै भक्तपुरका दुई पुरुष र ललितपुरका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमामा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x