Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘निर्माण व्यवसायीको ४५ अर्ब भुक्तानी गर’

‘निर्माण व्यवसायीको ४५ अर्ब भुक्तानी गर’


नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानी अभावमा मुलुकको निर्माण उद्योग अत्यन्त जटिल अवस्थामा पुगेको जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै महासंघले चाडवाडको मुखमा समेत व्यवसायीहरूले भुक्तानी नपाउँदा हजारौँ व्यवसायी र उनीहरूमा आश्रित लाखौँ मजदुरको बिचल्ली हुने अवस्था रहेको जानकारी गराएको छ ।

महासंघले सरकारले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व ४५ अर्ब रुपैयाँ पुगेको भन्दै सो रकम तत्काल उपलब्ध गराउन माग गरेको छ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीयबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएका आयोजना, स्थानीय अस्पताललगायतका आयोजनाहरूको भुक्तानी बाँकी रहेको बताए । यस आर्थिक वर्षमा भएको आंशिक भुक्तानी समेत यस चालू आर्थिक वर्षको विनियोजित बजेटबाट मात्र भुक्तानी भएको हुँदा अब यस वर्ष हुने थप निर्माण कार्यमा भुक्तानीको समस्याले पुनः जटिलरूप लिन सक्ने महासंघले बताएको छ ।

विगत दुई वर्षदेखि नै निर्माण कार्य सकिएका आयोजनाको समेत व्यवसायीहरूले पाउनुपर्ने रकम पाएका छैनन् । रकम भुक्तानीका लागि प्रधानमन्त्री, उपप्रधानमन्त्री मन्त्रीलगायतले पटक–पटक प्रतिबद्धता जनाए पनि कुनै सुनुवाई नभएको अध्यक्ष रवि सिंहले बताए । सरकारी रवैयाका कारण राज्यमाथिको निर्माण व्यवसायीहरूको ‘भरोसा’ नै टुट्ने अवस्थामा पुगेको उनको भनाइ छ । उनका अनुसार आर्थिक वर्ष २०७९÷८० र २०८०÷८१ देखिकै निर्माण व्यवसायीहरूलाई राज्यले ठूलो रकम भुक्तानी गर्न बाँकी रहेको छ । व्यवसायीलाई रकम भुक्तानी गर्न नसकेको अवस्थामा समेत राज्यले हाल विनाबजेटका टेन्डर आह्वान गरिरहेको अध्यक्ष सिंहले बताए । यसले निर्माण उद्योगमा अझ प्रतिकूल अवस्था उत्पन्न भएको उनको भनाइ छ ।

उनका अनुसार समयमा रकम भुक्तानी नहुँदा व्यवसायीहरूले बैंक ऋण किस्ता तथा राज्यलाई बुझाउनुपर्ने करको रकम समेत बुझाउन सकेका छैनन् । समग्रमा निर्माण आपूर्ति चक्र नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरू नै बन्द हुने भयावह स्थिति रहेको महासंघले जनाएको छ । भुक्तानी नपाएर आक्रान्त भएका व्यवसायीहरूले स्वतःस्फूर्तरूपमै राजमार्गमा निर्माण उपकरणसहित धर्ना दिने, नियोक्तासँग मुठभेड गर्नेजस्ता अप्रिय घटनाहरू हुन थालिसकेको महासंघको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x