Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवीरगञ्ज भन्सारबाट २९ अर्बको सामग्री निर्यात

वीरगञ्ज भन्सारबाट २९ अर्बको सामग्री निर्यात


काठमाडौं, असार १९
लकडाउनको समयमा मुलुकको औद्योगिक क्रियाकलाप करिब ठप्पजस्तो रहेको समयमा पनि व्यवसायीहरुले वस्तु उत्पादन गरी निर्यात गरेको पाइएको छ । सरकारले उद्योग सञ्चालनको लागि असहयोग गरेको बताइरहँदा उद्योगी तथा व्यवसायीहरुले लकडाउनमा समेत वस्तु उत्पादन गरी निर्यात गरेको पाइएको छ ।

व्यवसायीहरुले पछिल्लो ११ महिनाको अवधिमा वीरगञ्ज भन्सार कार्यालयबाट सबैभन्दा बढी सामग्री निर्यात गरेको भन्सार विभागले बताएको छ । विभागका अनुसार व्यवसायीहरुले आर्थिक वर्ष २०७६/०७७ को ११ महिनाको अवधिमा २९ अर्ब २१ करोड ६६ लाख मूल्यबराबरको सामग्री निर्यात गर्न सफल भएका छन् ।

तुलनात्मक रुपमा सर्लाही भन्सार कार्यालयबाट वस्तुहरुको सबैभन्दा कम निर्यात भएको छ । सो कार्यालयबाट ११ महिनाको अवधिमा ९४ हजार मूल्यबराबरको सामग्री निर्यात भएको छ । त्यसैगरी प्राविधिक समस्याका कारण महेशपुर, जनकपुर र जलेश्वरबाट भने कुनै पनि वस्तुको निर्यात भएको छैन । नेपालबाट पाम आयल, चिया, अलैँची, भटमासको तेल, सल, फुटवेयर, टेक्सटाइल, नेफकिनलगायतका सामग्री भारतसहित तेस्रो मुलुकमा निकासी भएका छन् ।

त्यसैगरी सोही अवधिमा विराटनगर, त्रिभुवन विमानस्थल, मेची, वीरगञ्ज सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट), नेपालगञ्ज, रसुवा, तातोपानी भन्सार कार्यालयबाट पनि अर्बौं मूल्यबराबरको सामग्री भारतसहित तेस्रो मुलुकमा निर्यात गरिएको छ । जसमध्ये विराटनगर २५ अर्ब ६२ करोड आठ लाख, त्रिभुवन विमानस्थल १८ अर्ब १२ करोड ५९ लाख, मेची सात अर्ब ४१ करोड चार लाख, ड्राइपोर्ट दुई अर्ब चार करोड छ लाख, नेपालगञ्ज एक अर्ब ५५ करोड ६९ लाख, रसुवा भन्सारबाट ५८ करोड २३ लाखमूल्य बराबरको सामग्री निर्यात भएको छ

त्यसैगरी व्यवसायीहरुले भैरहवाबाट दुई अर्ब ५७ करोड ९२ लाख, कैलालीबाट ५० करोड ९१ लाख, तातोपानी १३ करोड ७६ लाख र कृष्णनगर भन्सारबाट १० करोड १९ लाख मूल्यबराबरको वस्तु निर्यात भएको छ । यस्तै सती, सिराहा, ठाँडी, कञ्चनपुर, राजविराज कैलालीलगायतको भन्सार कार्यालयबाट पनि लाखौं मूल्यबराबरको सामग्री निर्यात गरिएको छ ।

लकडाउन पूर्ण रुपमा खुल्ला नभएको स्थितिमा समेत मुलुकमा रहेका कलकारखानाहरु सञ्चालनमा रहेको उक्त निर्यात तथ्यांकले देखाउँछ । व्यवसायीहरुले मुलुकमा रहेका उद्योगहरु सबै बन्द नरहेको तथा सञ्चालनमा रहेका उद्योग पनि आधाभन्दा कम क्षमतामा सञ्चालन गरी वस्तु उत्पादनलाई निरन्तरता दिएको बताएका छन् । त्यसैगरी उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले सरकारको असहयोगको कारण खाद्यान्न, औषधिलगायतका अतिआवश्यक उद्योग ४० प्रतिशतभन्दा बढी चल्न नसकेको बताउँदै आएको छ ।

असहज परिस्थितिमा पनि आयातनिर्यातलाई भने निरन्तरता दिएको व्यवसायीहरुको भनाइ छ । नेपाली व्यवसायीहरुले चालू आवको ११ महिनाको अवधिमा वीरगञ्जबाट तीन खर्ब ७५ अर्ब ४४ करोड एक लाख २६ हजार, भैरहवा एक खर्ब ८३ अर्ब १० करोड ५४ लाख, विराटनगर एक खर्ब २० अर्ब ८० करोड आठ लाख, ड्राइपोर्टले एक खर्ब ५१ अर्ब चार करोड ७९ लाखबराबरको सामग्री आयात गरेका छन् । व्यापारीहरुले भने ठूलो रकममा हवाइजहाजको सामग्री, दूरसञ्चारका उपकरण, मैककादाना, फ्रोजन मिट, जुसलगायतका सामग्री भारतका साथै तेस्रो मुलुकबाट आयात गरेका छन् ।

विभागका अनुसार व्यवसायीहरुले सो अवधिमा त्रिभुवन विमानस्थलबाट एक खर्ब आठ अर्ब ५३ करोड ३२ लाख, नेपालगञ्ज ४३ अर्ब २९ करोड ९५ लाख, मेची ३० अर्ब ९० करोड ४७ लाख, रसुवा २६ अर्ब ३९ करोड तीन लाख, कृष्णनगर १७ अर्ब ५४ करोड २० लाख र कैलाली १५ अर्ब ५० करोड ६४ लाख मूल्यबराबरको वस्तु आयात गरेका छन् । वस्तु आयातसँगै अन्य मुलुकहरुले समेत वस्तु उत्पादनलाई निरन्तरता दिइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x