Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाढी, पहिरो र डुबानबाट देशभर अर्बौँको क्षति

बाढी, पहिरो र डुबानबाट देशभर अर्बौँको क्षति

देशभर अधिकांश राजमार्ग बन्द/पुलहरू नदीले बगायो/एक सयभन्दा बढीको मृत्यु


काठमाडौं । यही १० गते विहीबारदेखि देशका अधिकांश स्थानमा परेको अविरल मनसुनी वर्षाको कारण आएको बाढी, पहिरो र डुबानबाट सडक, पुल, सार्वजनिक सम्पत्ति, व्यक्तिका निजी घर तथा आवास, सवारीसाधन र गोदाममा अर्बौँ रुपैयाँको क्षति पुगेको छ भने कम्तीमा एक सय जनाको मृत्यु भएको छ । सयभन्दा बढी व्यक्ति बेपत्ता भएका छन् । यद्यपि क्षतिको वास्तविक विवरण आउन अझै केही दिन लाग्नेछ ।

विहीबार रातिदेखि नै परेको अविरल मनसुनी वर्षाको कारण बागमती प्रदेशको काठमाडौं उपत्यकालगायतका जिल्लामा सर्वाधिक क्षति भएको देखिएको छ । देशका अन्य भागमा भएको क्षतिको सबै विवरण शनिबार रातिसम्म पनि आउन सकेको छैन ।

जल तथा मौसम विज्ञान विभागले नेपालमा वर्षाको रेडर्क राख्न थालेपछि अहिलेको वर्षा नै सर्वाधिक भएको बताइएको छ । सन् १९७० देखि नेपालमा वर्षाको अभिलेख राख्न थालिएको थियो । ५४ वर्षको अविधमा कुनै पनि वर्ष शुक्रबार बिहानदेखि शनिबार बिहानसम्मको अवधिको जति वर्षा काठमाडौं उपत्यकामा भएको थिएन । मौसम विज्ञान विभागका अनुसार उक्त २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा मात्रै दुई सय ३९ दशमलव ७ मिलिमिटर वर्षा मापन गरिएको छ । अझ सबैभन्दा बढी त ललितपुरको चापागाउँमा तीन सय २३ मिलिमिटर वर्षा भएको थियो । वर्षाको वास्तविक विवरण पनि केही दिनमा निस्कने बताइएको छ ।

प्रतिकूल मौसमका कारण हेलिकोप्टरमार्फत पनि उद्धार गर्ने कार्यमा कठिनाइ भएको गृह मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । गृहले उक्त दाबी गरे पनि क्षति हुन थालिसक्दा पनि अधिकांश ठाउँमा सुरक्षा निकायको उपस्थिति देखिएको थिएन । सरकारले वर्षा र त्यसबाट हुने क्षतिको पूर्वजानकारी गराए पनि खोज, उद्धार तथा राहतका लागि भने पर्याप्त सुरक्षा निकाय र सरकारी संयन्त्र परिचालन गरेको थिएन ।

खोज, उद्धार तथा राहतका लागि संघीय सरकार मात्र होइन प्रदेश सरकार र स्थानीय तहको पनि शनिबार साँझसम्म सशक्त उपस्थिति कतै देखिएको थिएन । त्यसप्रति आम सर्वसाधारण नागरिकले चर्को आलोचना गरेका छन् । अधिकारका लागि संघ सरकारसँग मरिहत्ते गर्ने प्रदेश र स्थानीय तहले राहतका लागि देखिने गरी समयमै आफ्नो साधन र स्रोत परिचालन गरेनन् । ‘हाम्रो ज्यान र धनको रक्षाको लागि महानगरले अग्रसरता लिएन । संघ सरकारले पानी पार्दिएको जस्तो गरेर मौन बस्यो’, शनिबार दिउँसो बल्खुमा भेटिएका एक पीडितले भने, तीन तहकै सरकार आफैँ वर्षाबाट अत्तालिएको देखियो ।’

संघ सरकारले काठमाडौं उपत्यकामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन गरेर उद्धारको प्रयास गरे पनि समयमै ध्यान नदिँदा केही व्यक्तिले अकालमा मृत्युवरण गर्नुपरेको छ । गृह मन्त्रालयले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत असोज १० गते विहीबारदेखि नै सर्वसाधारणलाई सतर्क रहन, अति जरुरी अवस्थामा मात्र यात्रा गर्न, खोज तथा उद्धार र प्रतिकार्यको लागि सुरक्षा निकाय एवं स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन सूचित गरे पनि पीडितहरूले काठमाडौं उपत्यकामै समयमै राहतको अनुभूति गर्न पाएनन् ।

यसैबीच शनिबार साँझ प्रहरीले काठमाडौंको सीमा नजिक धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएको माइक्रोबसबाट १४ जनाको शव निकालेको छ । बुटवलबाट काठमाडौं आउँदै गरेको उक्त माइक्रोबस शुक्रबार राति नै पहिरोले पुरिएको थियो । शव भने शनिबार साँझतिर मात्र निकालिएको हो । गाडीबाट आठ पुरुष, पाँच महिला र एक बच्चको शव निकालिएको प्रहरीले जनाएको छ । उक्त स्थानमा अझै अन्य गाडी पनि पुरिएको अनुमान छ ।

प्रहरी स्रोतका अनुसार शनिबार साँझसम्म काठमाडौंमा ११, ललितपुरमा १८, भक्तपुरमा पाँचजना, काभ्रेमा १४ जना, पाँचथरमा पाँचजना, धनकुटामा दुई जना, सोलुखुम्बुमा दुई जना, सुनसरीमा एक जना, धादिङमा एक जना, सिन्धुपाल्चोकमा चार जना र दोलखामा तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ । गृह मन्त्रालयले भने ६६ जनाको मृत्यु र ६९ जना मात्र बेपत्ता भएको जनाएको छ ।

अस्तव्यस्त काठमाडौं उपत्यका
अवरिल वर्षाको कारण काठमाडौं उपत्यका डुबानमा पर्दा स्थानीय यातायात समेत शनिबार साँझसम्म पनि प्रायः ठप्प नै थियो । काठमाडौं उपत्यका जोड्ने अधिकांश राजमार्ग बन्द भएको छ ।

काठमाडौं उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने वीपी राजमार्गमा सडक र पुल नै बाढीले बगाएको छ भने कान्ति राजमार्ग, त्रिभुवन राजपथ, बल्खु दक्षिणकाली, भीमफेदि हेटौडा सडक, पृथ्वीराजमार्ग पहिरोले बन्द छ । यद्यपि टोखाबाट नुवाकोट जाने सडक भने शनिबार दिउँसोदेखि सञ्चालनमा भएको सडक डिभिजन नुवाकोटका इन्जिनियर पोषक नेपालले जानकारी दिए । तर, नुवाकोटबाट पृथ्वीराजमार्गका गल्छी पुग्ने सडक पहिरोले अवरोध गरेको कारण बाह्य जिल्लासँग काठमाडौंको सम्बन्ध टुटेको छ ।

काठमाडौंका अधिकांश तरकारी बजार डुबानमा परेका छन् भने बाहिरी जिल्लाबाट तरकारी भित्रिने अवस्था छैन । यसले आइतबारदेखि नै तरकारीको चरम अभाव हुने देखिएको छ । खाद्यान्न र खाना पकाउने ग्यासको पनि कृत्रिम अभाव सिर्जना गर्ने प्रयास हुने आशंका सरकारी अधिकारीहरूले गरेका छन् । सडक विभागले सबै राजमार्ग खुलाउने प्रयास शनिबारबाटै गरे पनि पुलहरू बगाएको कारण चाँडो राजमार्ग खुल्ने सम्भावना कम छ ।

भारी वर्ष र त्यसपछि आएको बाढीले डुबान गर्दा स्थानीय यातायात नै काठमाडौंमा प्रभावित भएको हो । कयौँ गाडी ग्यारेजभित्रै डुबानमा परेका छन् भने निजी तथा सरकारी गाडी पार्किङ गरिएकै ठाउँमा डुबेका छन् । कति सवारीसाधनमा क्षति पुग्यो भन्न सकिने अवस्था नभएको प्रहरीले जनाएको छ ।

सडक र पुलमा सर्वाधिक क्षति
सडक विभागका अनुसार देशभर सडक र पुलमा सर्वाधिक क्षति पुगेको छ । ठूला–ठूला पहाड नै खसेको कारण पहिरोसम्म पन्छाउन सकिएको छैन । पुल कसरी पुनः स्थापना गर्ने भन्ने त धेरै पछिको कुरा भएको छ ।

‘पहिरो नै पन्छाउन सकिएको छैन’, सडक विभागका एक अधिकारीले भने, ‘पुल पुनस्र्थापना त त्यसपछिको कुरा हो । हामी निरन्तर कामममा लागिरहेका छौँं ।’ निरन्तर काममा लागिरहेको सडक विभागले दाबी गरे पनि पुल बगेको सबै ठाउँमा तत्काल वैकल्पिक व्यवस्था गर्न सकिने अवस्था छैन । दर्जनभन्दा बढी मोटरेवल पुल बगाएको छ । त्यसको विवरण आइतबारसम्म आउने विभागको भनाइ छ ।

सडक र पुल पुनस्र्थापनाका लागि अर्बौँ रुपैयाँ लाग्ने प्रारम्भिवक अनुमान विभागको छ । तर, त्यतिधेरै बजेट कसरी व्यवस्थापन गर्ने भन्ने विभागलाई चिन्ता परिसकेको छ । निर्माण व्यवसायीले गत वर्षको कामकै भुक्तानी नपाएर आन्दोलन गरिरहेको बेला सडक विभागले अहिले विनापैसाको काम थालिहाल्न लगाउन सक्ने अवस्था पनि छैन । यसले आम सर्वसाधारणले थप समस्या झेल्नुपर्ने देखिएको छ । ‘भएको कामकै भुक्तानी पाएका छैनौँ’, एक निर्माण व्यवसायीले भने, ‘पहिलाको भुक्तानी दिएर अहिलेको कामको भुक्तानी दिने ग्यारेन्टी नभएसम्म पुनर्निर्माणमा हात हाल्न सकिने अवस्था छैन ।’

हवाई यातायात पनि बन्द
सर्वाधिक वर्षा र डुबानको कारण अधिकांश आन्तरिक उडान बन्द भएको छ । शनिबारका लागि देशका विभिन्न स्थानमा दुई सय ९४ वटा उडान तालिका भए पनि ६४ वटा मात्र उडान भएका थिए । शुक्रबार साँझदेखि रोकिएको आन्तरिक उडान शनिबार दिउँसो चार बजेसम्म नै रोकिएको थियो । शनिबार चार बजेपछि मात्र ती उडान भएका थिए ।

तीन दिन विद्यालय बन्द
सरकारले कम्तीमा तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेपछि आइतबारदेखि सबै किसिमका शैक्षिक संस्था बन्द हुने भएका छन् । त्रिभुुवन विश्वविद्यालयले पनि आफ्ना परीक्षा स्थगित गरेको छ । सरकारको आग्रहको कारण विश्वविद्यालयहरूको पढाइ पनि बन्द हुनेभएको छ । अधिकांश कलेज तथा विद्यालय बाढी, पहिरो र डुबानबाट प्रभावित छन् ।

निःशुल्क उपचार
सरकारले बाढी, पहिरो र डुबानमा परेर घाइते हुनेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x