Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोलखामा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

दोलखामा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु


दोलखा । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर दोलखाको भीमेश्वर नगरपालिका–६ चरिकोट मैदानेमा ३ जनाको मृत्यु भएको छ । सदरमुकाम चरिकोट नजिकैको मैदानेमा स्थानीय राजकुमार भुजेलको घर पहिरोले बगाउँदा एकै घरका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४१ वर्षीय राजकुमार भुजेल, उनकी श्रीमती ३७ वर्षीया राधिका भुजेल र १५ वर्षीया छोरा सुजन भुजेल रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक (डिएसपी) युवराज खड्काले जानकारी दिए । मृतक भुजेल दम्पतीको शव भीमेश्वर नगर प्रमुख ईश्वर नारायण मानन्धरसहितको सुरक्षाकर्मी र स्थानीयले घटनास्थलबाट निकालेका थिए भने घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पाताल लैजाने क्रममा सुजनको बीच बाटोमै मृत्यु भएको थियो । त्यस्तै, पहिरोमा पुरिएका तीन वर्षका बालक युवराज भुजेललाई भने सकुशल उद्धार गरिएको छ । शुक्रबारदेखि परेको अविरल वर्षापछि भुजेल परिवार घरमा बसिरहेका बेला शनिबार दिउँसो १ बजे घरमाथिबाट पहिरो खसेको थियो ।

बाढी पहिरोले माथिल्लो तामाकोशीमा क्षति, पाँच जना सम्पर्कविहीन
दोलखाको बिगु–१ लामाबगरमा रहेकोे चार सय ५६ मेगावाटको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा पनि बाढी पहिरोले ठूलो क्षति गरेको छ । निरन्तर परेको वर्षासँगै झरेको पहिरोले तामाकोशी जलविद्युत् आयोजनाको बाँधस्थल नजिकै नियन्त्रण कक्ष रहेको दुई तले घर पुरेको छ भने बालुवा थिग्ग्र्याउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्याउने नहर (कल्र्भट)मा ठूलो क्षति पुगेको छ ।

यसैगरी आयोजना कार्यरत सुरक्षाकर्मीसहित पाँच जना कर्मचारी सम्पर्कविहीन रहेकोे आयोजनाले जनाएको छ । आयोजनाले पाँच जना कर्मचारीको अवस्था अज्ञात रहेको भन्दै हेलिकप्टोरमार्फत उद्धार गरिदिन सरकारसँग आग्रह समेत गरेको छ । आयोजनाका अनुसार नेपाली सेनाको गरुडदल गणका २ जना कम्पनीका दुई जना र एक जना सुरक्षागार्ड बेपत्ता रहेका छन् । यस्तै, पानीको वहाब उच्च भएपछि माथिल्लो तामाकोशी आयोजनाको विद्युत् उत्पादन समेत बन्द गरिएको छ भने तामाकोशीको जलाशयका सबै ढोका खुला गरिएको छ । ढोका खुला गरिएका कारण तामाकोशी नदी तटीय क्षेत्रमा पानीको सतह वृद्धि भएको छ ।

यस्तै, जिल्लाका दुई दर्जन बढी ग्रामीण सडक समेत अबरुद्ध बनेका छन् । जिल्लाभित्रका ग्रामीण सडकहरूमा बाढी पहिरोले क्षति पुर्याएको स्थानीयले बताएका छन् । सबैभन्दा बढी उत्तरी क्षेत्रमा रहेका कालिञ्चोक, विगु र गौरीशंकर गाउँपालिकामा रहेका ग्रामीण सडकमा क्षति भएको जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x