Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविपत्मा परी ज्यान गुमाउनेको संख्या दुई सय नौ पुग्यो, २९ जना अझै बेपत्ता

विपत्मा परी ज्यान गुमाउनेको संख्या दुई सय नौ पुग्यो, २९ जना अझै बेपत्ता


काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । गृह मन्त्रालयका अनुसार सोमबार रातिसम्म बाढी पहिरोको कारण दुई सय नौ जनाको ज्यान गुमाएका छन् ।

सोमबारसम्म ज्यान गुमाउनेहरूमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको बताइएको छ । काठमाडौं उपत्यकामा ५६ जना, कोशीमा १७ जना, मधेशमा पाँच जना, बागमतीमा एक सय २५ जना, लुम्बिनीमा दुई जनाको ज्यान गएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले घादिङ र काभ्रेमा मानवीय र भौतिक क्षति बढी देखिएको भए पनि समग्रमा काठमाडौं उपत्यका र बाग्मती प्रदेशमा ज्यान गुमाउनेको संख्या धेरै रहेको बताए । बेपत्ता हुनेको संख्या पनि रहेको हुँदा उनीहरू जीवत छन् वा छैनन् भन्ने अवस्था समेत नरहेको प्रवक्ता कार्कीले बताए । बाढी पहिरोमा परि हालसम्म २९ जना बेपत्ता रहेका छन् । बेपत्ताको खोजी तीव्र बनाइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बेपत्ताको खोजीका लागि तीनवटै सुरक्षा फौज अर्थात् प्रहरी, सशस्त्र प्रहरी र आर्मीको समूह परिचालन गरिएको बताइएको छ ।

प्रहरीका अनुसार बाढी, पहिरो र डुबानमा परी काठमाडौं उपत्यकामा २४ जना, बागमती प्रदेशका अन्य स्थानमा ८५ जना, कोशी मा १३ जना र मधेशमा आठ जना गरी कुल एक सय ३० जना घाइते भएका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने सामान्य उपचारपछि काठमाडौंका अस्पतालमा ल्याइएको प्रवक्ता कार्कीले बताए । उनका अनुसार घाइते हुनेमा नौ जना भारतीय नागरिक छन् । धुलिखेलमा घाइते भएका भारतीय नागरिकहरूलाई धुलिखेल अस्पतालमा उपचारपछि काठमाडौं ल्याइएको छ । सडक सञ्जालहरू एकतर्फीरुपमा भए पनि सञ्चालनमा ल्याएको कारण घाइते तथा यात्रुहरूलाई काठमाडौं उपत्यकामा प्रहरी तथा सशस्त्र प्रहरीको समन्वयमा काठमाडौं ल्याइएको छ भने बाहिर जाने यात्रुलाई पनि छाडिएको छ ।

प्रहरीले उद्धार कार्यलाई पनि निरन्तरता दिइएको छ भने हालसम्म काठमाडौं उपत्यकामा दुई हजार एक सय ५५ जना, बागमतीमा सात सय ४५ जना कोशीमा दुई सय ९० जना, मधेशमा ३५ जना र गण्डकीमा नौ सय ९७ जना गरी कुल चार हजार दुई सय २२ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

खोज तथा उद्धाको कार्य जारी रही सोमबार सेनाको हेलिकोप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, ललितपुरलगायतका स्थानबाट घाइते, बिरामी तथा अलपत्र परेकाहरूको उद्धार गरिएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् । उनले अवरुद्ध सडक, विद्युत्, टेलिफोनलगायतका अत्यावश्यक सेवाहरू शीघ्र सुचारु गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरिएको बताएका छन् । खोज तथा उद्धारको कार्यलाई आवश्यकताअनुसार सुरक्षा निकायहरूबाट निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै विभिन्न निकायसँगको समन्वयमा सडक सञ्जाल खुल्ला गर्ने तथा सवारीसाधान सञ्चालन गर्ने तयारी गरिएको बताइएको छ । ‘सुरक्षा निकाय र सडक विभागसँगको समन्वयमा अवरुद्ध राजामार्गहरू सुचारु गर्ने, तत्काल सुचारु गर्न नसकिने सडकको हकमा वैकल्पिक मार्ग व्यवस्थापन गरी सवारी आवागमन सहज बनाउने कार्य भइरहेको छ । संघ, प्रदेश र स्थानीय तहको सम्बद्ध निकायहरूबाट विपत् प्रभावितहरूलाई आपतकालीन राहत शीघ्र उपलब्ध गराउने व्यवस्थाका लागि समन्वय गरिएको छ’, विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले राहतको लागि सहयोगी संस्थाहरूसँग समन्वय गरिएको बताइएको छ । ‘संयुक्त राष्ट्र संघीय निकायहरू र लजिस्टिक क्लस्टरका साझेदारी संस्थाहरूसँग बैठक गरी राहत सामग्रीहरूको स्टक लिने र वितरणका लागि नक्साङ्कन गर्ने कार्य भइरहेको छ । सबैखाले राहत सामग्री एकद्धार प्रणालीमार्फत वितरण गरिनेछ’, विज्ञप्तिमा भनिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x