Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगोर्खा मिडियामा सहकारी अपचलनको सबैभन्दा बढी रकम, यही कम्पनीमा दर्जन कैफियत

गोर्खा मिडियामा सहकारी अपचलनको सबैभन्दा बढी रकम, यही कम्पनीमा दर्जन कैफियत


काठमाडौं । सहकारी ठगी सम्बन्धमा छानबिन गर्न बनेको सर्वदलीय संसदीय छानबिन विशेष समितिले दिएको प्रतिवेदनलाई आधार मान्ने हो भने गोरखा मिडिया नेटवर्क प्रालि अहिलेसम्मकै सबैभन्दा बढी रकम अपचलन भएर गएको कम्पनीमा परेको देखिन्छ । विभिन्न सहकारीबाट गैरकानुनीरूपमा गएको रकमको अङ्क ६५ करोड ५४ लाख चार हजार पाँच सय ३८ रुपैयाँ हो ।

एक वर्षको अवधिमा आफूले आम्दानी गरेको करिब १० करोडबाहेक यो कम्पनीमा लगानी भएको सबै रकम सहकारीबाटै अपचलन गरेर ल्याइएको समितिको अध्ययनमा देखिएको÷भेटिएको छ ।

त्यसमा सञ्चालकहरूका सेयर पनि पर्छन् । गएको आम निर्वाचनबाट संसद्को चौथो दलको हैसियत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको १५ प्रतिशत सेयर पनि सहकारीबाटै अपचलन भएर आएको भित्र पर्छ  ।

विभिन्न सहकारीबाट आएको यति ठूलो रकमको खर्च तत्कालीन प्रबन्ध निर्देशक उनै सभापतिबाट खर्च गरिएको देखिएको समितिको ठहर छ । सहकारीबाट अपचलन गरेर ल्याइयो भन्ने मात्र होइन त्यसको परिचलनमा गैरकानुनी तवरबाट भएको देखियो । कतिसम्म भने १४ महिनासम्म कम्पनीको प्रबन्ध निर्देशक भएर कम्पनी घाटामा गएको देखिन थालेर छाड्दासम्म पाइलैपिच्छे बदमासी भएकोे छानबिन समितिले औँल्याएको छ ।

समितिको यो छानबिन रास्वपासहितका दलले निर्धारण गरेका आधारमा भएको थियो । छनबिन समिति सर्वदलीय भएको त्यसमा रास्वपाका पनि सदस्य रहने भए नै । यो अध्ययनको प्रतिवेदनमा उनले कतै पनि विमति जनाएका छैनन् । प्रतिवेदनका सबै पृष्टमा उनको पनि हस्ताक्षर छ ।

गोरखा मिडिया नेटवर्क प्रालिका बारे छानबिन समितिलाई दिइएको कार्यादेशमा भनिएको छ, ‘सहकारी संस्था सदस्य (सेयरधनी) एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानि नोक्सानी पुर्याएको भनी संघीय संसद र सार्वजनिकरूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची–२ मा उल्लिखितलगायतका सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालिलगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानुनीरूपमा प्रवाह भए वा नभएको र त्यस्तो गैरकानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुनबमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने ।’

दर्जन कैफियत: यो कार्यादेशअनुसार छानबिन हुँदा भेटिएका कैफियतका शृंङ्खला यस्ता छन् :
एक– सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालिलगायतका कम्पनीहरूमा रकम प्रवाह भएको देखिन्छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट जम्मा ६५ करोड ५४ लाख चार हजार पाँच सय ३८ रुपैयाँ रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा प्रवाह भएको देखिन्छ । कतिपयले कम्पनीलाई सापटीका रूपमा, कतिमा कम्पनीलाई ऋणका रूपमा, कतिमा सञ्चालकका नाममा ऋण खडा गरी कम्पनीमा र कतिमा कम्पनीका सञ्चालकको नाममा ऋण खडा गरी कम्पनीमै रकम प्रवाह भएको देखियो । जुन विधि वा मार्ग अपनाइएको भए तापनि ती कारोबारहरू कानुनसम्मत देखिएनन् । सहकारीको बचत रकम सदस्यबाहेकमा कारोबार हुने वा रकम प्रवाह हुने परिकल्पना कानुनतः गरेको देखिँदैन । कानुनको एउटा मान्य सिद्धान्त के रहेको छ भने कानुनको अज्ञानता क्षम्य हुँदैन । तसर्थ, सहकारीबाट कुनै पनि कम्पनी वा गोरखा मिडिया नेटवर्क प्रालिमा सिधा रकम प्रवाह हुनु गैरकानुनी हो ।

दुई– गोरखा मिडिया नेटवर्क प्रालिमा रकम पठाउने सहकारी संस्थाका मुख्य जिम्मेवार एवं पाउने संस्था गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष समेत रहेका गितेन्द्रबाबु राईलाई समितिले बुझ्ने र सुन्ने कोसिस गरेको भए पनि पूरा हुन पाएन । सहकारी संस्थाबाट प्रवाह भएबमोजिम नै गोरखा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा भएको रकमलाई गोरखा मिडिया नेटवर्क प्रालिको लेखापरीक्षण प्रतिवेदनले भने सहकारीबाट आएको रकमका रूपमा स्वीकार गरेको देखिँदैन । लेखापरीक्षण प्रतिवेदनले उक्त रकमहरूलाई गितेन्द्रबाबु राईले छोटो अवधिको लागि दिएको निब्र्याजी सापटीका रूपमा उल्लेख गरेको छ । यद्यपि गोरखा मिडिया नेटवर्क प्रालिमा रहेको गितेन्द्रबाबु राईको ऋण खातामा रकम आउने जाने भइरहेको देखिन्छ ।

तीन– गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले सोधपुछका कममा सहकारीबाट कम्पनीमा रकम आएको सम्बन्धमा आफूलाई जानकारी नभएको र सो सम्बन्धमा गितेन्द्रबाबु राईलाई थाहा हुने उल्लेख गरेको दखिन्छ । अर्का तत्कालीन सञ्चालक छविलाल जोशीले रकम आएको समबन्धमा गितेन्द्रबाबु राई वा रवि लामिछानेलाई थाहा हुने उल्लेख गरेका छन् । तर उक्त समयका प्रालिको आन्तरिक प्रशासान सञ्चालनमा आफ्नो भूमिका रहेको कुरा रवि लामिछानेले समितिमा खुलाएको र सो समयमा निजले सम्पादन गरेका कामहरूको विवरण समेतबाट देखिन्छ । सहकारी संस्थाबाट रकम गोरखा मिडिया नेटवर्क प्रालिमा आउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण रहेको नभेटिए पनि सोही रकम गोरखा मिडियामा आइसकेपछि सोको परिचालन र खर्च प्रक्रियामा उनको सहभागिता देखिन्छ ।

चार– गोरखा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंकमा भएको खातामा अध्यक्ष गितेन्द्रबाबु राईसहित रवि लामिछाने र छविलाल जोशीको हस्ताक्षर रहेको र तीनमध्ये एक जनाको हस्ताक्षरमा चेक काटिन सक्ने अर्थात् खाता चल्ने देखिएबाट तिनै जनाले गोरखा मिडिया नेटवर्क प्रालिको आन्तरिक वित्तीय परिचालनको अधिकार राखेको देखिन आयो । बैंकमा खाता खोल्दाका बखत पेस गरिएको केवाईसी विवरण र दस्तखत नमूना कार्डमा तीनमध्ये एक जनाको हस्ताक्षरमा खाता सञ्चालन हुने प्रबन्ध रहेको छ । समितिमा प्राप्त चेकहरूमा रवि लामिछानेका एकल हस्ताक्षरका जारी चेकहरू धेरै रहेका छन् । हस्ताक्षरलगायतको सम्पूर्ण प्रक्रियामा सहमति रहनु, आन्तरिक प्रशासन सञ्चालनमा प्रभावकारी भूमिका रहनु, सञ्चालकमध्येका रवि लामिछानेको नामबाट लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित इक्वीटी सेयर क्यापिटल शीर्षकमा रकम समेत जम्मा भएको देखिनु र समितिसमक्ष सोधपुछका क्रममा उक्त रकम पेस्की लिई जम्मा गरेको हुँ भन्ने बेहोरा लेखाए पनि पेस्की लिएको खुल्ने आधार प्रमाण पेस गर्न सकेको नदेखिएको समेतको आधार प्रमाणबाट निज सञ्चालकहरू कम्पनीको जिम्मेवार भूमिकामा रहेको देखिन्छ ।

पाँच– कम्पनी चलाउने रकम के–कहाँबाट आउछ ? कसरी आउछ ? कति आउँछ ? भन्ने कुरा खाता सञ्चालन गर्ने सञ्चालकले जान्ने र बुझ्ने नै अवस्था हुने तथा निजहरूमध्ये कसैले रकमको स्रोतमाथि प्रश्न गरी कुनै विमति वा फरक मत दर्ज गराएको अवस्थासमेत रहे÷भएको नदेखिएको हुँदा निज सञ्चालकद्वय रवि लामिछाने र छविलाल जोशी कम्पनीमा जिम्मेवार पदाधिकारी रहुन्जेल निजहरूले सहकारीबाट आएको रकम खर्च वा परिचालन गरेबापत सिर्जना हुने उत्तरदायित्व वहन गर्नुपर्ने देखिन्छ ।

छ– कम्पनी रजिस्ट्रारको कार्यालयको अभिलेखअनुसार लामिछाने र जोशी दुवै जनाले सेयर खरिद गरी कम्पनीमा प्रवेश गरेको र सेयर बिक्री गरी कम्पनी छाडेको भन्ने देखिन्छ । यद्यपि उनीहरूको समितिसमक्षको जवाफमा आफूहरूले पैसा नलिए–नदिएको भनी खुलाएका छन् । सेयर खरिदबिक्री गर्दाका बखत कार्यालयमा पेस गरिएका कागजात एवं तिनमा भएका हस्ताक्षरको सम्बन्धमा भने दुवै जनाले कुनै असहमति जनाएको वा उक्त दस्तखत आफूले गरेको होइन भनी भनेको अवस्था छैन । कार्यालयको प्रमाणित अभिलेखअनुसार निजहरू दुवै जना सेयर रकम लगानी गरी सञ्चालकको भूमिकामा रहेको देखिन आउँछ ।

सात– सञ्चालक तथा प्रबन्ध निर्देशक समेत रहेका रवि लामिछानेले आफूलाई स्वेट सेयर (पसिनाबापत) दिएको भनी बताए पनि प्रथमतः स्वेट सेयरसम्बन्धी कानुनी प्रबन्ध नेपालमा रहे वा भएको नदेखिएको तथा निज सञ्चालकहरूका बीचमा एकापसमा स्वेट सेयर लिनेदिने सम्बन्धमा कुनै सम्झौता भएको लिखत प्रमाणसमेत रहे÷भएको अवस्था देखिँदैन । समितिसमक्ष सोधपुछका क्रममा निज लामिछानेले सेयरसम्बन्धी प्रबन्ध निज गितेन्द्रबाबु राईले गर्ने सहमति भएको थियो भनी खुलाएको बेहोरा निजकै कथनबाहेक अर्को कुनै प्रमाणबाट समर्थित भएको अवस्था देखिँदैन ।

आठ– अर्कोतर्फ करारसम्बन्धी प्रचलित कानुनअनुसार कानुनतः पालना गराउन नसकिने गरी भएको करार बदरभागी हुने अवस्था समेतका आधारमा गोरखा मिडिया नेटवर्क प्रालिमा भएका तत्समयका कारोबार र दायित्वका विषयबाट अध्यक्ष गितेन्द्रबाबु राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक सदस्य छविलाल जोशीले कम्पनीमा बहाल रहेको अवधिसम्मका लागि जिम्मेवारी र दायित्व लिनुपर्ने अवस्था देखिन आयो ।

नौ– निजहरू रवि लामिछाने र छविलाल जोशीले सोधपुछका कममा खुलाएको भौचर पेस गरिएको थियो तर रकम जम्मा भएको थिएन भन्ने बेहोराबाट कम्पनी रजिष्ट्ररको कार्यालयमा गलत विवरण दिएको भन्ने देखिन्छ । तत्सम्बन्धमा कम्पनी रजिस्ट्रारको कार्यालयकै क्षेत्राधिकार हुने हुँदा यहाँ बोलिरहनु परेन । यद्यपि रकम दाखिला नगरी भौचरको प्रमाणीकरण सम्बन्धित बैंकबाट कसरी भयो र कम्पनी रजिस्ट्रारको कार्यालयले सेयरबापतको रकम लिनादिना भएको भन्ने कुरा के–कसरी यकिन गरेको हो भन्ने कुरा समेत देखिँदैन ।

दश– गोरखा मिडिया नेटवर्क प्रालि मात्र होइन, स्वर्णलक्ष्मी, सूर्यदर्शन, सुप्रिम, समानता, सानो पाइला समेतका सहकारीहरूबाट गितेन्द्रबाबु राई र कुमार रम्तेलको स्वमित्वमा रहेका अन्य कम्पनीहरूमा, सुमेरुबाट सुमेरू अस्पतालल लगायत कम्पनीहरूमा, श्री लालीगुराँस सहकारीबाट भैरवकुण्ड जलविद्युत् आयोजनामा, शिवशिखर सहकारीबाट केदारनाथ शर्माका कम्पनीहरूमा कर्जा प्रवाह भएको निकै लामो सूची छ । ती सबै कर्जा गैरकानुनी र बेरीतका छन् ।

एघार– कम्पनीमा सेयर खरिद बिक्री गर्दा भुक्तानीका माध्यमको परीक्षण नगरी किर्ते रूपमा तयार गरिएको देखावटी कागजलाई समेत कम्पनी रजिष्ट्रारको कार्यालयले मान्यता दिने अभ्यास रहेको समितिसमक्ष सोधपुछका कममा गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीको भनाइ समेतबाट देखिन्छ । त्यसले एकातर्फ कम्पनी प्रशासनमा कुशासन भित्र्याउने र आयकरबापत सरकारले प्राप्त गर्ने राजस्वमा समेत छली भएको देखिन आयो ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x