क्षतिग्रस्त पुल र सडक निर्माण गर्न २५ अर्ब लाग्ने
काठमाडौँ । गत साता मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न २० अर्बदेखि २५ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक निरीक्षणपछि संरचनाहरूको स्थायीरूपमा सुधार गर्न सो बराबरको बजेट आवश्यक भएको जनाएको छ ।
मन्त्री देवेन्द्र दाहालले बाढीपहिरोमा परी अलपत्र परेका यात्रु एवम् यातायात मजदुरलाई यथाशीघ्र उद्धार एवम् राहत उपलब्ध गराउन गृह मन्त्रालयलाई अनुरोधसहित पत्राचार भएको समेत बताए । ‘विषम परिस्थितिका कारण उत्पन्न हुन सक्ने दुर्घटना एवम् जोखिम कम गर्न अतिआवश्यक कामबाहेक यात्रा नगर्न र गर्नैपरे सावधानी र सतर्कता अपनाउन अनुरोध गरिएको छ’, उनले भने, ‘असोज १२ गतेबाट अग्रिम टिकट बुकिङ गरेर यात्रुलाई सुरक्षित ढंगले प्राथमिकता दिई यात्रुलाई गन्तव्यस्थलमा पुर्याउन यातायात व्यवसायी, नेपाल प्रहरी र नयाँ बसपार्क व्यवस्थापनसँग समन्वय गरिएको छ ।’
काठमाडौंबाट छुट्ने यात्रुबाहक बसलाई उज्यालो छँदै गन्तव्यमा पुग्ने गरी समन्वय गरिएको उनको भनाइ छ । मन्त्रालयका अनुसार क्षतिको विस्तृत विवरण संकलन जारी छ । प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालू गर्न तीन अर्ब लाग्ने देखिएको छ ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गहरूका आठ सय पाँच स्थानमा पहिरो गई सडक अवरुद्ध भएकोमा सात सय ७४ स्थानको पहिरो हटाउने काम सकिएको बताए ।
‘२९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायत सञ्चालन गरिसकिएको छ । अझैसम्म पाँच वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्न अनवरत प्रयास जारी छ’, उनले भने, ‘यसका लागि कतिपय स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम पाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था छ ।’
यही असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण देशको विभिन्न भागका नदीहरूमा भीषण बाढी आउनुका साथै विभिन्न स्थानमा पहिरो जाँदा ठूलो जनधनको ठूलो क्षति भएको थियो । हाल अरनिको राजमार्गमा लार्चा–कोदारीको पाँच किलोमिटरमा मर्मत सकिएको छैन भने लिपिङ पुल र लार्चाको बेलिब्रिज बगाएका कारण यातायात अवरुद्ध भएको छ ।
बीपी राजमार्ग चौकीडाँडा–कालढुंगा १८ किमिमध्ये करिब १२ किमि सडक पूर्णरूपमा बगेका कारण केही स्थानमा सवारी साधनहरू रोकिएको अवस्था छ ।
‘रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्पहरू प्रयोग गरी अस्थायीरूपमा यातायात सञ्चालन गरिने छ’, सचिव शर्माले भने, ‘पुष्पलाल (मध्यपहाडी) राजमार्ग दोलालघाट–राकथुम ८० किमि खण्डका धेरै ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ ।’
शर्माका अनुसार कान्ति राजपथको घपेली–बगुवामा १३ किमि र बागमती पुलको दायाँ–बायाँ एप्रोच मकवानपुर तथा ललितपुर दुवै तर्फबाट पहिरो सफा गर्ने काम भइरहेको छ ।
मेची राजमार्ग रमिते– फिदिमको आठ किमि, हेवा पुलसहित रमिते डाँडाको पहिरो हटाउने काम भइरहेको छ । मन्त्रालयका अनुसार हेवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालनको तयारी भइरहेको छ । यी खण्डमा असोज १२ गतेदेखि नै सडक विभागमार्फत प्राविधिक, जनशक्ति र उपकरण परिचालन गरी खुलाउने प्रयास भइरहेको छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
- कानुन निर्माणमा ढिलाइका कारणहरू
- सहकारी ठगी महारोगमा परिणत
- संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
- सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया