Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगुणस्तरीयहीन खाद्य सामग्री उत्पादन गर्ने उद्योगविरुद्ध मुद्दा

गुणस्तरीयहीन खाद्य सामग्री उत्पादन गर्ने उद्योगविरुद्ध मुद्दा


बुटवल । न्यून गुणस्तरीय खाद्य सामान उत्पादन तथा बिक्री वितरण गर्ने रुपन्देही र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का १८ उद्योगविरुद्ध मुद्दा दायर भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा रुपन्देहीले गत आर्थिक वर्ष २०८०/८१ भरीमा उक्त मुद्दा दायर गरेको हो ।

कार्यालयले विभिन्न समयमा उद्योगबाट उत्पादन भएका वस्तुहरूको नमुना संकलन गरेर ल्याब टेस्टपश्चात न्यून गुणस्तरको पाएपछि उक्त उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय, रुपन्देही, जिल्ला अदालत रुपन्देही, जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), जिल्ला अदालत, नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) मुद्दा दायर गरेको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत तथा कार्यालय प्रमुख अनुप हलवाईले जानकारी दिए । कार्यालय प्रमुख हलवाईका अनुसार मुद्दा दायर गरिएका उद्योगहरूमा राईजिङ सन् एग्रो इन्डस्ट्रिज प्रालि, आरोग्य हर्वल उद्योग, श्री सालझण्डी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, पुनःआरोग्य हर्वल उद्योग, दुर्गा मोर्डल दाल प्रालि, आरुषी बेभरेज इन्डस्ट्रिज प्रालि रहेका छन् ।

यस्तै, पञ्चमुखी वाटर ईन्डस्ट्रिज, गाजी सोनपापडी एन्ड बेकरी उद्योग, पुनःपञ्चमुखी वाटर ईन्डस्ट्रिज, निष्ठा एग्रो डेरी फर्म, बुद्ध दाना उद्योग प्रालि, अरुण एग्रो ईन्डस्ट्रिज प्रालि, रम्भा फुड प्रोडक्ट, यशोदा फुड्स प्रालि, शिवशक्ति वाटर ईन्डस्ट्रिज, घराना फुड्स प्रालि र वरुण वेभरेज(नेपाल) प्रालिविरुद्ध मुद्दा दायर गरिएको हो । गत आर्थिक वर्षमा कार्यालयले आमउपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न खाद्य तथा दाना ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन गरी खाद्य प्रविधिको विकास तथा खाद्य पोषण सुधारका लागि प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरेको थियो । यस्तै, खाद्य/दाना, पद्धार्थ विश्लेषण/परीक्षणका गरी स्वच्छ व्यापार तथा व्यवसायमा सहजीकरण गर्न नियमितरूपमा वार्षिक लक्ष्य निर्धारण गरेर लक्ष्यभन्दा धेरै पटक बजार अनुगमन र नमुना संकलन गरी न्यून गुणस्तरीय खाद्य सामग्रीलाई नष्ट गर्ने गरिएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख हलवाईले विभिन्न खाद्य उत्पादनहरूको ल्याबको नतिजामा प्रदूषित पिउने पानी, प्रतिकूल परामिटर, न्यून गुणस्तरीय घ्यु, न्यून गुणस्तरको चिजबल्स, अखाद्य रंग मिसाएको दूषित बेसार, न्यून गुणस्तरको प्रशोधित सूर्यमुखी तेल, न्यून गुणस्तरको जिराको धुलो, न्यून गुणस्तरको तयारी चाउचाउलगायतका नतिजाहरू आएको बताए । केवल चाडपर्वको समयमा मात्र बढी बजार अनुगमन हुन्छ भन्ने प्रश्नमा कार्यालय प्रमुख हलवाईले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको हकमा सरासर गलत भएको बताउँछन् । उनले राज्यले अनुगमनको लागि वार्षिक लक्ष्य दिने गरेको बताए । ‘हामी १२ महिना आफ्नो काममा लागेका हुन्छौँ । प्रत्येक वर्ष लक्ष्यभन्दा धेरै अनुगमन गर्ने गरेका छौँ’, उनले भने ।

उनका अनुसार गत वर्ष खाद्य स्वच्छता सर्भिलेन्सका लागि वार्षिक लक्ष्य दुई सय रहेकोमा दुई सय २० वटा नमुना संकलन भएको बताए । संवेदनशील खाद्य पदार्थ दूध, तेल, पानी उद्योगको अनुगमन लक्ष्यअनुसार नै शतप्रतिशत भएको उनको भनाइ छ । उनले चालू आर्थिक वर्षमा पनि बजार अनुगमनले गति लिएको जानकारी बताए । हालसम्म दुई जिल्लामा १२ पटक होटल तथा रेस्टुरेन्ट, किराना पसल, मिष्ठान भण्डार, दुग्ध बिक्री केन्द्रलगायतका ठाउँहरूमा अनुगमन गरेर म्याद गुज्रेका, न्यून गुणस्तर देखिएका उत्पादनहरूलाई नष्ट गरेको उनले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x