Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै रैनादेवी छहरा

निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै रैनादेवी छहरा


पोसकान्त पोखरेल
बुटवल, असार २१
रैनादेवी छहरा गाउँपालिका पाल्पाले गाउँपालिकामा रहेको निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक बनाउन आधुनिकीकरण गर्ने योजना बनाएको छ । गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीले समयको मागसँगै विस्तारै कृषि प्रणालीलाई व्यावसायिक बनाउन कृषि आधुनिकरणको जरुरी रहेको बताए । उनले कृषिलाई व्यवसायीकरणमा परिवर्तन गर्न गाउँपालिकाले विभिन्न खालका नीतिहरु पनि अवलम्बन गरेको जानकारी दिए ।

अध्यक्ष कार्कीले अधिकांश सर्वसाधारणले कृषि पेशालाई मुख्य पेशाको रुपमा अंगालेकोले कृषि उत्पादकत्व र गुणात्मक वृद्धि गरी युवा जनशक्तिलाई कृषितर्फ आकर्षित गर्ने र विदेशबाट कोरोना संकटमा फर्केका युवाहरुलाई व्यावसायिक कृषितर्फ उन्मुख गर्ने योजना रहेको बताए । उनले बाँझो जग्गा उपयोग गरी कृषि व्यवसाय गर्न चाहनेको लागि जग्गा अनुदान कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गर्ने बताउँदै कृषि प्रसारसम्बन्धी स्थानीय नीति, योजना, कानुन, मापदण्ड निर्धारण गरी त्यसको कार्यान्वयन र नियमन पनि गरिने बताए ।

कृषकहरुको क्षमता अभिवृद्धि, प्राविधिक सहायता, सीप विकास र सशक्तीकरण गर्ने योजना रहेको बताउँदै कार्कीले कृषि बीउबीजन, नश्ल सुधार, मल र औषधिहरुको आपूर्ति र नियमन गर्ने, कृषिलाई व्यवसायीकरण, यन्त्रीकरण तथा विविधीकरण गरी गरी कृषि उत्पादनमा वृद्धि गरिने बताए । कृषकको जीवनस्तर उकास्न कृषि अनुदान, हाते ट्र्याक्टर, कृषि उपज संकलन तथा बिक्री केन्द्रजस्ता कृषि पूर्वाधारको व्यवस्थापन गर्ने, विषादीको अत्यधिक प्रयोगलाई निरुत्साहित गर्दै अर्गानिक खेतीलाई प्रोत्साहित गर्ने बताए । एवोकाडो, किबी, अकबरे खुर्सानी, लप्सी, दाँतेओखर, टिमुर, आँप, लिची, कफीजस्ता वैकल्पिक जातका खेतीलाई प्रोत्साहन गर्नुका साथै भइरहेका सुन्तलाजात तथा अन्य स्थानीय जातका खेतीलाई सम्भाव्यताका आधारमा अन्य वडामा पनि विस्तार गर्ने जानकारी दिए ।

साना सिँचाइका लागि पोखरी, कुलो निर्माण मर्मत, थोपा सिँचाइ, प्लाष्टिक पोखरीजस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ । तरकारी, दूध, फलफूल तथा मासुमा आत्मनिर्भर हुँदै निर्यात गर्ने र आयातलाई निरुत्साहित गर्ने, उन्नत जातका पशुपालनमार्फत पशुधनको आयमा वृद्धि गर्ने नीति अंगीकार गर्ने, पशु व्यवसायको जोखिम कम गर्न पशु बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने गरी नीति तथा योजना निर्माण भएको उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत खेत बहादुर खत्रीले वर्तमानको कृषि पकेट क्षेत्रलाई थप विकास गर्दै सम्भावनाका आधारमा पकेट क्षेत्र घोषणा गर्ने बताए । अमिलो जातको बिरुवाको नर्सरी गाउँपालिको उत्पादन गर्ने र कफी, दालचिनी, मौरी, माछा, गोलभेँडाजस्ता कृषि उपज पकेट क्षेत्रमार्फत कृषि उत्पादनमा वृिद्ध गर्ने योजना रहेको बताए । कृषिलाई आधुनिकीकरण गर्ने क्रममा संघीय सरकार तथा प्रदेश सरकारसँग समन्वय र साझेदारीमा बीउ प्रशोधन केन्द्र स्थापनाको लागि पहल गर्दै कृषकको कृषि उपजबाट उचित मूल्य प्राप्त गरुन् भन्ने उद्देश्यले शीतगृह निर्माण कार्यको लागि सम्भाव्यता अध्ययन गरी सोहीअनुसार कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

औद्योगिक ग्राम निर्माणको लागि प्रक्रिया अगाडि बढिसकेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत खत्रीले निर्माणकार्यलाई छिटो सम्पन्न गर्न संघीय तथा प्रदेश सरकार र अन्य सरोकारवालाहरुबीच समन्वय भइरहेको जानकारी दिए । उनले स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै जडीबुटी प्रशोधन उद्योग, काष्ठ उद्योग, सस उद्योग, जुस उद्योग, बाँसजन्य र अन्य घरेलु उद्योगलाई प्रोत्साहन गर्ने योजना भएको बताए ।

खत्रीले उद्योग व्यवसाय सञ्चालन गर्न लगानीमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्दै परम्परागत सीप र उद्योगहरुलाई संरक्षण गरी सम्भावित साना र मझौला उद्योगहरु स्थापना गर्नको लागि उद्योगीहरुलाई प्रोत्साहन र प्रविधि सीप सहयोग तालिमको व्यवस्था गर्ने योजना रहेको सुनाए । स्थानीय उत्पादनको सहज बिक्रीवितरणको प्रबन्ध गर्न हाटबजारहरु सञ्चालन गर्ने योजना भएको बताउँदै खत्रीले बजारमा गुणस्तरयुक्त सामान बिक्रीवितरण गर्न र गराउन नियमित रुपमा बजार अनुगमन गर्ने योजना भएको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x