Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शिक्षक दरबन्दी थप्ने निर्णय

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शिक्षक दरबन्दी थप्ने निर्णय


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्र्याजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरेको छ ।

प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आइतबार बसेको ३१ औँ सिनेट बैठकले यस्तो निर्णय गरेको हो । मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा दक्ष चिकित्सक अभाव कम गर्न सरकारी मेडिकल कलेजहरूमा पोस्ट ग्र्याजुएट विद्यार्थीको कोटा थप्न पहल गर्ने निर्णय गरेका थिए । बैठकमा मन्त्री पौडेलले देशमा दक्ष चिकित्सक अभाव कम गर्नका लागि यसको प्रभावकारी कार्यान्वयन गर्न प्रतिष्ठानलाई निर्देशन दिए । यससँगै अब देशैभरका सरकारी चिकित्सा तथा नर्सिङ कलेजमा चार सयसम्म पोस्ट ग्र्याजुएट विद्यार्थीलाई थप अध्ययन गराउन सकिने भएको छ ।

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर भूपेन्द्रकुमार बस्नेतले सरकारी कलेजमा पोस्ट ग्र्याजुएट विद्यार्थीको अध्ययन कोटा कम भएको अवस्थामा यो निर्णयले ठूलो संख्यामा विद्यार्थी थप गराउन सघाउने बताए । हाल प्रतिष्ठानमार्फत शैक्षिक आबद्धता लिएका सरकारी मेडिकल तथा नर्सिङ कलेजहरूमा एक सय १२ जना विद्यार्थी वार्षिकरूपमा पोस्ट ग्र्याजुएट अध्ययन गरिरहेका छन् । शिक्षक अभावमा दक्ष चिकित्सा जनशक्ति अभाव भए पनि विद्यार्थी थप गर्न नसकिएको अवस्थामा यो निर्णयले सहायता पुग्ने मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए ।

बैठकले यसअघि न्याम्सअन्तर्गत शैक्षिक आबद्धता लिएका आंगिक कलेज भरतपुर अस्पताल कोशी अस्पतालसँगै नारायणी र भेरीमा अस्पताललाई समेत आबद्धता दिने निर्णय गरेको छ । ती सबै अस्पतालका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत भएको छ । यसैगरी, मेची आँखा अस्पताल, गेटा आँखा अस्पताल, सशस्त्र प्रहरी अस्पताल, नेपाल अर्थोपेडिक अस्पतालका लागि समेत पोस्ट ग्र्याजुएट अध्ययनमा विद्यार्थी थप्न सघाउने गरी शिक्षक दरबन्दी थप भएको छ । नर्सिंङ क्याम्पस, भरतपुर नर्सिङ क्याम्पस, कान्ति नर्सिङ क्याम्पस, निजामति नर्सिङ क्याम्पस तथा सशस्त्रको नर्सिङ क्याम्पसका लागि समेत शिक्षक दरबन्दी स्वीकृत गरिएको उपकुलपति बस्नेतले जानकारी दिए । बैठकले प्रतिष्ठानले एमबीबीएस अध्ययन थाल्नेसमेत निर्णय गरेको छ ।

प्रतिष्ठानअन्तर्गत रहेका वीर अस्पताल, ट्रमा सेन्टर तथा नर्सिङ क्याम्पसलाई अब एमबीबीएस अध्ययन थाल्न समेत यस निर्णयले बाटो खुला भएको उपकुलपति बस्नेतले जानकारी दिए ।


क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x