Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसाढे १६ अर्ब पुग्यो विदेशी लगानी प्रतिबद्धता

साढे १६ अर्ब पुग्यो विदेशी लगानी प्रतिबद्धता


काठमाडौं । नेपालको उद्योग क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धतास्वरुप साढे १६ अर्ब रुपैयाँ आएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको असोजमसान्तसम्म विदेशी लगानी प्रतिबद्धतास्वरुप १६ अर्ब ४४ करोड १३ लाख १६ हजार रुपैयाँ आएको हो । सो प्रतिवद्धता दुई सय चारवटा उद्योग स्थापना र छ हजार पाँच सय ४३ जनालाई रोजगारी दिने उद्देश्यका साथ आएको हो ।

विभागका निर्देशक शंकर सिंह धामीका अनुसार स्वाचालित मार्ग र पुरानो कागजी (साधारण) रुपमा उक्त लगानी प्रतिबद्धता जनाएका हुन् । स्वचालित मार्गबाट एक अर्ब एक करोड ३५ लाख ६० हजार रुपैयाँ र पुरानो कागजीरुपमा १५ अर्ब ४२ करोड ७७ लाख ५६ हजार रुपैयाँ गरी उक्त लगानी प्रतिबद्धता आएको निर्देशक धामीको भनाइ छ । कागजीरुपमा आएका लगानी प्रतिबद्धता आएको रकम र उद्योगहरु भने साना, मझौला र ठूला उद्योगहरु छन् । जसमा एक सय २८ वटा सना, एउटा मध्यम र दुईवटा ठूला उद्योग स्थापनाको उद्देश्यसहित उक्त लगानी प्रतिबद्धता आएको हो ।

स्वचालित मार्गबाट आएको लगानी प्रतिबद्धतामा सबैभन्दा बढी पर्यटनमूलक उद्योगका लागि आएको छ । पर्यटनमूलकमा ३२ करोड रुपैयाँ, सूचना प्रविधिमूलकमा २९ करोड ८५ लाख ५० हजार रुपैयाँ, सेवामूलकमा २८ करोड रुपैयाँ, उत्पादनमूलकमा सात करोड ५० लाख रुपैयाँ र पूर्वाधारमूलकमा चार करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । उक्त लगानी प्रतिबद्धता नौवटा पर्यटनमूलक, ५५वटा सूचनाप्रविधमूलक, पाँचवटा सेवामूलक, दुईवटा उत्पादनमूलक र दुईवटा पूर्वाधारमूलक गरी कुल ७३ वटा उद्योग स्थापनाका उद्देश्यसहित आएको हो ।

त्यस्तै विभागका अनुसार असोजमा मात्रै विदेशी लगानी प्रतिबद्धतास्वरुप तीन अर्ब ४५ करोड ६३ लाख ५६ हजार रुपैयाँ आएको छ । उक्त लगानी प्रतिवद्धता ५५ वटा उद्योग स्थापना तथा एक हजार पाँच सय ४० जनालाई रोजगारीको उद्देश्यसहित आएको हो । असोजमा स्वचालित मार्गबाट १५ करोड १० लाख रुपैयाँ र कागजीरुपमा तीन अर्ब ३० करोड ५३ लाख ५६ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको हो । उक्त लगानी प्रतिबद्धता ३३ वटा साना र एउटा मध्यम उद्योग स्थापनाको लागि आएको हो ।

निर्देशक धामीले समीक्षा अवधिमा विदेशी लगानीकर्ताहरुले नेपालमा रहेको उद्योगको लागि सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेको बताए । उनले चालू आर्थिक वर्ष असोजमसान्तसम्म २४ वटा उद्योगको लागि एक अर्ब ११ करोड ६१ लाख १५ हजार रुपैयाँबराबरको एसपीए र एसएसए गरेका छन् । असोजमा मात्र आठवटा उद्योगका लागि ५१ करोड ९८ लाख ५३ हजार रुपैयाँबराबरको एसपीए र एसएसए सम्झौता गरिएको छ । चालू आर्थिक वर्षको असोजसम्म १० वटा र असोजमा मात्र दुई वटा उद्योगको प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) गरिएको छ ।

विदेशी लगानीकर्ताले विभागमार्फत भने न्यूनतम दुई करोड रुपैयाँदेखि छ अर्ब रुपैयाँसम्मको लगानी भित्र्याउन सक्नेछन् । छ अर्ब रुपैयाँभन्दा माथिका लगानी भने लगानी बोर्डमार्फत स्वीकृत गरिन्छ । विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक लगायतका उद्योग दर्ता हुन्छन् । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ । राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमाप्रति विदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।

विदेशी लगानीकर्ताहरुले लगानी ल्याउने तथा लाभांश लैजानेको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सहजीकरण गरेको छ । उक्त ऐनअनुरुप विदेशी लगानीकर्ताले नेपालमा लगानी गरे सकेपछि आफ्नो लगानीको सेयर वा उद्योग पूर्ण वा आंशिकरुपमा बिक्री गरी कर चुक्ता गरी आफ्नो लगानी तथा मुनाफा लैजान सक्नेछन् । उनीहरुले लगानी गरेको सोही विदेशी मुद्रा वा अन्य परिवत्र्य विदेशी मुद्रमा कर चुक्ता गरी राष्ट्र बैंकको स्वीकृति लिई लाभांश लैजान सक्ने निर्देशक धामीले बताए । लाभांश लैजान भने राष्ट्र बैंकमा लेखाङ्कन गर्नु अनिवार्य छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x