Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररवि र दुर्गा प्रसाईँ पक्राउपछि उदाङ्गिएको आईजी कुँवरको नैतिकता !

रवि र दुर्गा प्रसाईँ पक्राउपछि उदाङ्गिएको आईजी कुँवरको नैतिकता !


काठमाडौं । गत असोज ६ गते अराजकतावादी पात्र दुर्गा प्रसाईँ पक्राउ परेको एक महिना नपुग्दै शुक्रबार पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेसँगै आईजीपी बसन्त कुँवरको नैतिकतामाथि प्रश्न उठेको छ ।

साइबर ब्युरोले प्रसाईँलाई साइबर अपराध गरेको आरोपमा पक्राउ गरेको थियो र पछि उनी धरौटीमा छुटेका छन् । उनी पक्राउ परेको महिना दिन बित्न नपाउँदै कात्तिक २ गते पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने पक्राउ परेका छन् । उनीमाथि सहकारी ठगी, सङ्गठित अपराध, किर्ते र कालोधनको कारोबार गरेको आरोप लगाइएको छ । यी दुई पात्र पक्राउसँग आईजीपी कुँवर जोडिएको प्रसङ्ग छानबिनको विषय बन्न पुुगेको छ । पूर्वबामपन्थी नेता एवं विवादास्पद मेडिकल व्यवसायी प्रसाईँ कुँवर आईजीपी बनेपछि अराजकता र साम्प्रदायिकता भड्काउने उत्तेजक, छाडा र अश्लील अभिव्यक्ति दिँदै आएका छन् र आफूसँग असहमत हुने जो–कसैलाई आमाचकारी तथानाम गाली गर्दै आएका छन् । समानान्तर सेना बनाउने र धम्काउनेदेखि सडक प्रदर्शन गरेर आफ्नो अभीष्ट पूरा गर्ने प्रयास गर्दै आएका छन् । उनको त्यो कर्मको पछाडि परोक्षरूपमा आईजीपी कुँवर जोडिएका छन् । प्रसाईँका नातेदार पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवर राष्ट्रपति रामचन्द्र पौडेलको कानुनी सल्लाहकार रहेका छन् । आईजीपी कुँवर उनै कानुनी सल्लाहकार बाबुरामका भाइ हुन् । त्यसले गर्दा आईजीपी कुँवर पनि प्रसाईँका नातेदार हुन् । प्रसाईँका गतिविधिको सूचनाका बारेमा नेपाल प्रहरीको उच्चअधिकारीहरूको (पीएसओ) बैठकले आफूहरूले चाहेर गर्नेभन्दा पनि आईजीपीको स्तरबाटै कता के हुँदैछ भन्ने निर्देशन पाए । टोली ‘मोबिलाइज’ गर्न सजिलो हुने कुरा उठेको थियो र त्यसमा आईजीपी कुँवरले पदीय हैसियतअनुसार दबाएका थिए । प्रहरी संगठनभित्रबाटै सरकारका भावी कार्यक्रम र रणनीतिका बारेमा प्रसाईँले अग्रीम जानकारी पाउने गरेको उनीहरूको आशंका थियो, त्यो आशंका अरुतिर लक्षित थिएन । उनी पक्राउ परेपछि नै आईजीपी कुँवरलाई अप्ठ्यारो लाग्नुपर्ने थियो तर यो भित्री कुरोमा कसैले औपचारिकरूपमा मुख खोल्ने कुरो पनि भएन । उनले ह्याकुलाले मिच्दै आए । नैतिकताको कुरै भएन । अहिले फेरि पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने पक्राउ परेका छन् । लामिछानेभन्दा अघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठको पालामा पिञ्जडाको सुगाजस्तो भएका थिए । गृहमन्त्री श्रेष्ठले एआईजी श्यामलाल ज्ञवालीबाट समानान्तर प्रहरी प्रशासन चलाएका थिए । त्यसबाट पिल्सिएका आईजीपी कुँवर नाममात्रका आईजीपी थिए, कामजति ज्ञवालीबाटै हुन्थ्यो । आईजीपी कुँवरलोई थाहै नदिई तत्कालीन गृहमन्त्री श्रेष्ठ र एआईजी ज्ञवाली मिलेर आरजु देउवा र पूर्वगृहमन्त्री कृष्ण सिटौलालाई पक्राउ गर्न प्रहरीलाई भएको आदेश आर्थिक दैनिकले सार्वजनिक गरेपछि प्रक्रिया पुर्याएर गृहमन्त्री श्रेष्ठलाई परराष्ट्रमा सारेर प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउन रवि लामिछानेलाई गृहमन्त्री बनाएका थिए । लामिछाने गृहमन्त्री भएपछि आईजीपी कुँवरले बल्ल सन्तोषको सास फेरेका थिए र उनी लामिछानेसँंग यति धेरै नजिकिए कि उनी लपक्कै टाँसिन पुगेका थिए ।

अहिले लामिछानेविरुद्ध जुन आरोप लगाएर पक्राउ गरिएको छ त्यसको बारेमा पहिले नै प्रशस्त आवाज उठेको थियो । राज्य व्यवस्था तथा सुशासन समितिले आईजीपी कुँवरलाई पनि लामिछानेसँगै गत चैत १४ गतेको बैठकमा बोलाएको थियो र त्यस बैठकमा आईजीपी कुँवरले गृहमन्त्री लामिछाने निर्दोष रहेको, सूर्यदर्शन सहकारी ठगी काण्डमा रवि लामिछानेको कुनै संलग्नता नदेखिएको बताएका थिए । उनले त्यहाँ बोलेको कुरा अहिले पनि समितिमा सुरक्षित रहेको हुनुपर्छ । नारायणकाजी पीडित आईजीपी कुँवरलाई उनकै गृहजिल्ला अर्घाखाँचीबाट नागरिकता लिएका पूर्वडीआईजी छविलाल जोशीले गृहमन्त्री हुँदा लामिछानेसँग सेटिङ मिलाएको स्रोतको दाबी छ । पूर्वडीआईजी जोशी जिबी राई र रवि लामिछानेका साझेदार हुन् । हाल उनी पनि हिरासतमा नै रहेका छन् । भारतको सिलौनमा जन्मेहुर्केका छविलाल बन्जाडेले जागिरको लागि पुख्र्याैली थलो अर्घाखाँचीबाट पुर्खाकै थरबाट नागरिकता लिएर नेपाल प्रहरीमा प्रवेश गरेका थिए । जिल्ला र पेसाको नाताले त्यही निकटतालाई गृहमन्त्री लामिछाने र जोशीले भरपुर सदुपयोग गरेका थिए । नारायणकाजीको पीडाबाट अत्तालिएका आईजीपी कुँवरले आँखा चिम्लिएर समर्थन गरेर उनीमाथिको छानबिनलाई प्रभावित पार्ने काम समेत गरे । त्यतिबेला लामिछानेलाई संसदीय छानबिन र प्रहरीको आन्तरिक छानबिनले कसरी संलग्न देखायो भन्ने प्रश्न अहिले उठेको छ र त्यही प्रश्नले आईजीपी कुँवरको नैतिकतामाथि पनि प्रश्न उठाएको छ । रवि लामिछाने र दुर्गा प्रसाईँ पक्राउ नपरेको भए आईजीपी कुँवरमाथि यसरी प्रश्न उठाउनु मनासिव हुने थिएन । तर, उनको ‘गुडबुक’मा रहेका यी दुई पात्र पक्राउ परेपछि आईजीपी कुँवरले नैतिक जिम्मेवारी लिनु नै श्रेयस्कर हुन्छ अन्यथा सरकारले आफ्नो बाटो समाउनु पर्दछ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x