ढोरपाटन शिकार आरक्षबाट पहिलो याममा डेढ करोड आम्दानी
काठमाडौं । मुलुकको एक मात्र शिकार आरक्ष ढोरपाटनमा नाउर, झारल र बँदेलको शिकार गर्नका लागि पहिलो याम सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको शिकारका लागि अनुमति दिएको हो ।
आरक्षमा दुई याममा शिकार खेलाइन्छ । पहिलो याम असोज–कात्तिक र दोस्रो याम चैत–वैशाखसम्म हुने गर्छ । यो यामको शिकार लागि नेपाल ट्राभल एक्सपिडिसन कम्पनीको नेतृत्वमा पहिलो टोली गत असोज २३ गते आरक्षमा पुगेको थियो । सो कम्पनीमार्फत अस्ट्रेलियाली नागरिकले यस याममा पहिलो नाउरको शिकार गरेका छन् । नाउरको तौल औसतमा ७० केजीभन्दा बढी हुने गरेको छ । शिकारको अनुमति लिएका बाँकी तीन कम्पनी आरक्षमा जाने क्रममा छन् ।
निकुञ्जका वरिष्ठ व्यवस्थापन अधिकृत पेम्बा शेर्पाका अनुसार यस याममा चार कम्पनीमार्फत १२ विदेशी शिकारीले शिकारको अनुमति लिएका छन् । विभागले शिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको हुन्छ । हाल नाउरको एक लाख ५० हजार र झारलको ७५ हजार र बँदेलको १० हजार रुपैयाँ न्यूनतम राजस्व तोकिएको छ ।
न्यूनतमभन्दा धेरै बोलपत्र बढाबढमा कम्पनीले शिकारको अनुमति प्राप्त गर्ने गर्छन् । यो याममा नाउरको सबैभन्दा बढी १२ लाख ३० हजार रुपैयाँ बोलपत्र कबोल गरिएको छ । त्यस्तै, झारलको सात लाख २५ हजार रुपैयाँ कबोल गरिएको अधिकृत शेर्पाले जानकारी दिए ।
एक करोड ४५ लाखभन्दा राजस्व
‘नाउरको शिकार गर्न बँदेलको पनि अनुमति लिनैपर्छ तर विदेशी शिकारीहरू बँदेलको शिकार गर्न भने खासै इच्छुक देखिँदैनन्’, अधिकृत शेर्पाले भने, ‘बँदेलको शिकारका लागि न्यूनतम् राजस्व १० हजार भने तिर्नैपर्छ । शिकारका लागि अनुमति दिएका नाउर, झारल र बँदेलको गरी कुल एक करोड ४५ लाख ९२ हजार चार सय राजस्व आम्दानी भएको छ ।’
शिकार कम्पनीले वन्यजन्तु संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले नाउर र झारलको शिकार गरेबापत केही रकम स्थानीय समुदायलाई समेत दिने गरेका छन् । यसबाट मुलुकले विदेशी मुद्रा आर्जन गर्न पाएको छ भने स्थानीयस्तरमा पर्यटनको समेत विकास भएको छ । विभागले यो वर्षको पहिलो यामका लागि आरक्षमा नाउर, झारल र बँदेलको प्रतिस्पर्धाबाट शिकार गराउन गत भदौ १९ गते १५ दिने सूचना जारी गरी शिलबन्दी दरभाउ पत्र आह्वान गरेको थियो ।
विगत २० वर्षदेखि यस पेसामा संलग्न नेपाल ट्राभल एक्सपिडिसनका सञ्चालक अमृत थापाले शिकारका लागि विश्वमै प्रसिद्ध यस आरक्षमा आउने शिकारीले भौगोलिक कठिनाइका बाबजुद प्राप्त गर्ने आनन्द अनुपम रहेको बताए । साथै, उनले हतियारको अनुमति तथा शिकारका लागि कानुनीलगायतका प्रक्रियामा विवरण मिलाउने कार्यलाई आधुनिक र सरलीकरण गर्नुपर्ने सुझाव दिए । शिकारका लागि कम्पनीले निकुञ्ज विभाग, वन मन्त्रालय, गृह मन्त्रालयलगायत निकायमा काम गरी शिकारीले आखेटोपहार आफूसँगै विदेश लैजान झण्डै छ महिनासम्म समय लाग्ने गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया