Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसाउदी अरेबियामा नेपाली श्रमिकमाथि चरम श्रमशोषण

साउदी अरेबियामा नेपाली श्रमिकमाथि चरम श्रमशोषण


काठमाडौं । साउदी अरेबियाको एक कम्पनीमा नेपाल, भारत र पाकिस्तानका श्रमिकमाथि चरम श्रमशोषण गरेको पाइएको छ । फ्रान्सेली व्यवसायी क्यारेफोरको स्वीकृति लिई सञ्चालित साउदी अरेबियाका व्यापारिक स्थलहरूमा कार्यरत नेपाल, भारत र पाकिस्तानाका श्रमिकमाथि चरम श्रमशोषण गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । साउदी अरेबियाका क्यारेफोरका सुविधाहरू र स्टोरहरू संयुक्त अरब इमिरेट्समा आधारित माजिद अल फुट्टैमले फ्रान्समा मुख्यालय रहेको क्यारेफोर समूहसँगको फ्रेन्चाइज सम्झौतामार्फत सञ्चालन गर्दै आएका छन् ।

एम्नेस्टीले साउदीमा रहेको क्यारफोरको व्यापारिक स्थलहरूमा गरेको अध्ययन प्रतिवेदनअनुरूप क्यारेफोर कम्पनीका सञ्चालकहरूले नेपाल, भारत र पाकिस्तानका श्रमिकहरूलाई अत्यधिक लामो समयसम्म काममा लगाएको, छुट्टी दिन अस्वीकार गरिएको र सेवा सुविधामा ठगी गरेको पाएका छन् । श्रमिकहरू भर्ती गर्ने समयमा नै एजेन्टहरूद्वारा ठगिएका, अतिरिक्त समय काममा लगाउने, गुनासो गरेमा वर्खास्तको त्रास देखाउनुको साथै बस्ने ठाउँ पनि राम्रो नभएको अध्ययनको क्रममा श्रमिकहरूले बताएका छन् ।

नेपाल, भारत र पाकिस्तान गरी १७ जना श्रमिकसँग कुराकानी गर्दा क्यारोफोरमा काम गर्दा नियमितरूपमा दैनिक २० किलोमिटरभन्दा बढी हिँड्नुपर्ने र हप्तामा ६० घण्टासम्म काम गर्नुपर्ने, विशेषगरी ‘तलब सप्ताह’ र रमजानको महिनाजस्तो व्यावसायिक कारोबार धेरै हुने समयमा दिनको १६ घण्टासम्म श्रम गर्नुपर्ने अवस्था रहेको बताइएको छ । साउदी अरेबियाको कानुन र माजिद अल फुट्टैमको नीतिहरूको उल्लङ्घन गर्दै सुपरमार्केट, गोदाम वा बन्द कोठाका प्रबन्धहरूले कहिलेकाहीँ श्रमिकहरूको साप्ताहिक आराम बिदालाई समेत रद्द गर्ने गरेको श्रमिकहरूले बताएका छन् । ‘क्यारेफोर स्टोरहरूभित्र श्रमिकहरूलाई मानवजस्तो व्यवहार नगर्ने । उनीहरू श्रमिकलाई जनावरजस्तै व्यवहार गर्छन् । उनीहरू खालि ‘यल्लाह, यल्लाह’ (चाँडो गर, चाँडो गर) भन्छन् । हामीलाई छिटो काम गराउन हाम्रो टि–सर्टमा समात्छन्’, एक श्रमिकले भने ।

धेरै श्रमिकहरूले राष्ट्रिय कानुन र कम्पनीको नीतिअनुसार अतिरिक्त समयको उचित पारिश्रमिक नपाउनु नै उनीहरूको अनुभवको सबैभन्दा गाह्रो पक्ष भएको बताए । परिमाणस्वरूप, उनीहरूलाई प्रायः महिनामा दर्जनौँ अतिरिक्त घण्टाको तलब दिन इन्कार गरियो, जुन प्रत्येक वर्ष सयौँ डलरबराबरको रकम हुनेगरेको श्रमिकहरूले बताएका छन् ।

करारमा अनुबन्धित श्रमिकहरूले एउटा डरको संस्कृतिको बारेमा व्याख्या गरे । क्यारेफोरका कार्यस्थलमा प्रबन्धकहरूसँग प्रत्यक्षरूपमा गुनासो उठाउने श्रमिकहरूले उनीहरूको गुनासो बेवास्ता गरिएको वा त्यहाँ गुनासो गर्नुको सट्टा श्रम आपूर्ति कम्पनीहरूसँग सो कुरा उठाउन भनिएको बताए । यस्तो आवाज उठाउने केही श्रमिकहरूले आपूर्ति कम्पनी वा क्यारेफोर कार्यस्थलका प्रबन्धकहरूबाट प्रतिशोधको अनुभव गरे । यसले अरूलाई चुप लगाउन बाध्य पा¥यो । माजिद अल फुट्टैमले ‘असल नियतका साथ व्यक्त गरिएको सरोकार’ साझा गर्ने जो–कोहीविरुद्ध प्रतिशोध साँध्ने कार्यलाई निषेध गरिएको भनेर एम्नेस्टी इन्टरनेसनललाई बताएको भए पनि अतिरिक्त समय काम गर्न अस्वीकार गरेमा तलब नदिने वा जागिरबाट हटाइदिने धम्की दिइने गरेको श्रमिकहरूले बताए ।

प्रतिवेदनमा अब क्यारेफोर र माजिद अल फुट्टैमले प्रभावितहरूलाई तुरुन्त क्षतिपूर्ति उपलब्ध गराउने समेत कार्य गरी यी दुव्र्यवहारहरूको उपचार गर्नुपर्ने र आफ्नो सञ्चालनमा रहेका कार्यस्थलहरूमा श्रमिकहरूलाई फेरि कहिल्यै हानि नहोस् भन्ने कुरा सुनिश्चित गर्नुपर्ने बताइएको छ । एम्नेस्टी इन्टरनेसनलको जलवायु, आर्थिक तथा सामाजिक न्याय र व्यवसायहरूको जवाफदेहिता कार्यक्रम निर्देशक मार्ता शाफले श्रमिकहरू जुन उद्देश्य राखेर साउदी अरेबियामा श्रम गर्न गएका थिए त्यसको विपरीत सामान गर्न परेको बताएकी छिन् । ‘श्रमिकहरूले राम्रो जीवनको ढोका खोलिरहेको सोचेका थिए । तर, यसको सट्टा धेरै जना भयावह शोषण र दुव्र्यवहारको शिकार भए । क्यारेफोरको अकर्मण्यताको अर्थ के हो भने यसले श्रमिकहरूले भोगेका यस पीडालाई रोक्न सकेन जुन पीडा केही अनुबन्धित श्रमिकहरूको हकमा सम्भवतः मानव बेचबिखनसमेतको जबरजस्ती श्रमको तहसम्म पुगेको हुन सक्दछ’, निर्देशक शाफले भनिन् ।

क्यारेफोर समूह सन् २०२४ पेरिस ओलम्पिक्सको प्रायोजक थियो र यसको वार्षिक कारोबार ९४ अर्ब रुपैयाँभन्दा बढी छ । यसअघि एम्नेस्टीले सन् २०२३ मा साउदी अरबियामा अमेजनका साइटहरूमा भएका दुर्व्यवहारहरूलाई सार्वजनिक गरेको थियो । साउदी अरबियामा रहेका अमेजन गोदमहरूमा श्रम गर्ने श्रमिकमा माथि श्रमशोषण गरिएको थियो, तलबमा ठगी गरेका, एजेन्टहरूले ठगी गरेको विषय सार्वजनिक गरिएको थियो, जुन श्रमशोषणको डरलाग्दो अवस्था रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x