Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसञ्चालनमा रहेका दुईसहित आठवटा उद्योगलाई निजीकरण गरिने

सञ्चालनमा रहेका दुईसहित आठवटा उद्योगलाई निजीकरण गरिने


काठमाडौं । सञ्चालनमा रहेका दुईसहित आठवटा उद्योगलाई निजीकरण गरेर सञ्चालनमा ल्याइने भएको छ । बन्द र कार्यसम्पादन कमजोर भएका संस्थानहरूको निजीकरण गर्ने उद्देश्यअनुसार निजीकरण प्रक्रिया अगाडि बढाइएको हो ।

निजीकरण समितिको सोमबार बसेको बैठकले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका संस्थानहरूको निजीकरण गर्न वर्गीकरणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौंडा कपडा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखाकाली रबर उद्योग, उदयपुर र हेटौंडा सिमेन्ट कारखानाको पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद्बाट वर्गीकरण भएपछि सम्पत्ति तथा दायित्व मूल्याङ्कनका लागि विशेषज्ञसहितको अध्ययन समिति गठन गरिनेछ । सम्पत्ति र दायित्व मूल्याङ्कन भएपछि विज्ञसहितको सुझावका आधारमा निजीकरणको ढाँचा र प्रक्रिया पहिचान गरी नेपाल सरकारसमक्ष सिफारिस गर्नेछ ।

समितिको बैठकमा दिइएको जानकारीअनुसार जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौंडा कपडा उद्योग, विराटनगर जुट मिल, वुटवल धागो कारखाना र गोरखकाली रबर उद्योग विगत लामो समयदेखि बन्द र रुग्ण छन् ।

यसैगरी उदयपुर र हेटौंडा सिमेन्ट कारखानाको कार्यसम्पादन स्तर कमजोर हुनुका साथै निरन्तर घाटामा रहेका छन् । ती दुई उद्योगबाट उत्पादित सिमेन्ट गुणस्तरीय मानिन्छ । यद्यपि व्यवस्थापन कमजोर भएको कारण निरन्तर घाटामा छ ।

समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, संघीय संसद् अर्थ समितिका सभापति सन्तोष चालिसे, प्रतिनिधिसभा सदस्य तथा निजीकरण समितिका सदस्य राजन केसी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, मन्त्रालयहरूका सचिवलगायत निजीकरण गर्ने विषयमा धारणा राखेका थिए ।

निजीकरण गर्न लागिएका उद्योगहरू
१ जनकपुर चुरोट कारखाना
२ नेपाल मेटल कम्पनी
३ हेटौंडा कपडा उद्योग
४ विराटनगर जुट मिल
५ बुटवल धागो कारखाना
६ गोरखाकाली रबर उद्योग
७ उदयपुर सिमेन्ट कारखाना
८ हेटौंडा सिमेन्ट कारखाना


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x