Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘संस्कृतिमा राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित होइन’

‘संस्कृतिमा राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित होइन’


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नभएको बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले हाल संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति बढेको बताए । सो प्रवृत्ति गलत रहेको भन्दै उनले यसमा सचेत हुन आग्रह समेत गरे । ‘राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन सकिन्छ । तर संस्कृतिमा अधोपतन भएमा यसलाई उठाउन वर्षाैं लाग्न सक्छ । यसतर्फ हामी सचेत हुनुुपर्छ’, उनले भने । इन्द्रजात्रा गौरापर्वलगायतमा पर्वहरूमा भएका कतिपय भड्कावपूर्ण गतिविधिप्रति लक्षित गर्दै उनले गलत प्रवृत्तिको अन्त्य गर्न आह्वान गरे । यस्तै, उनले नेवारी संस्कृतिभित्र आदिवासी, शास्त्रीय र अत्याधुनिक वाद्यवादन तथा विशेष धुनहरू रहेको तथा यसको संरक्षणमा भइरहेका प्रयासको प्रशंसा समेत गरेका थिए ।

सो अवसरमा समितिका अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले नेपाल संवत्लाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउन २०८० कात्तिक २७ गतेको मन्त्रिपरिषद्बाट भएको निर्णयलाई सबै तह र निकायमा कार्यान्वयनका लागि निर्देशित गर्न माग गरेका थिए । उनले राष्ट्र बैङ्कबाट निष्काशन हुने नोटमा नेपाल संवत्को पनि प्रयोग गर्न र विदेशस्थित नेपाली नियोगहरूमा नेपाल संवत्को नयाँ वर्षमा ‘नेपाल डे’ मनाउन पनि आग्रह गरे । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले सरकारी निकायमा नेपाल संवत्को प्रयोगको अवस्थाबारे अनुगमनको व्यवस्था गर्न सुझाव दिए । सरकारले २०६५ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

यस वर्षको नेपाल संवत् ११४५ कछलाथ्व पारु यही कात्तिक १७ गते मनाइँदैछ । उक्त दिन बिहान भक्तपुरको मध्यपुर थिमीस्थित साख्वाको प्रतिमामा माल्यार्पण र काठमाडौंको वसन्तपुरमा विशेष कार्यक्रम हुनेछ । समारोह समिति र प्रतिष्ठानले ती कार्यक्रममा प्रधानमन्त्री ओलीलाई प्रमुख आतिथ्यताका लागि निमन्त्रणा दिएको छ । सो अवसरमा पूर्वमन्त्रीहरू कृष्णगोपाल श्रेष्ठ, दिलीप महर्जन, अगुवाहरू हितकरवीर सिंह कंसाकार, मल्ल के सुन्दर, प्रा नरेशमान बज्राचार्यलगायतको उपस्थिति थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x