Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारकृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’

कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’


काठमाडौं । कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को सुरुवात गरिएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सोमबार एक कार्यक्रमका बीच ललितपुरका गाईपालक कृषक गोविन्द घिमिरेलाई पहिलो बीमालेख जारी गरी बीमाको रियल टाइम सफ्टवेयरको सुरु गरेका हुन् । मन्त्रालयले नेपाल बीमा प्राधिकरणको सहयोगमा बीमाको रियल टाइम सफ्टवेयरको सुरुआत गरेको हो ।

बीमाको रियल टाइम सफ्टवेयरको सुरु गर्दै मन्त्री अधिकारीले चालू आर्थिक वर्षमा बीमाका लागि दुई अर्ब छ करोड रुपैयाँ बजेट रहेको जानकारी दिए । बीमाको माग बढी भएमा मन्त्रालयको अन्य शीर्षकको बजेटबाट पनि व्यवस्थापन गरिने उनले प्रतिबद्धता जनाए । बीमा गर्न चाहने सबै किसानलाई यसमा आबद्ध हुन पनि उनले आह्वान गरे । यस्तै, उनले आफूले कार्यभार सम्हालेको सय दिनमा भएका उपलब्धिका बारेमा पनि जानकारी गराए । मन्त्री अधिकारीले दूध किसानले जेठ मसान्तसम्मको दूधको भुक्तानी पाएको जानकारी दिए । बाँकी चार महिनाको भुक्तानी पनि छिटो दिने गरी पहल भइरहेको उनको भनाइ थियो । रासायनिक मलको समस्या कम गर्न सफल भएको, उखु किसानको भुक्तानी गरिएको जस्ता उपलब्धि यस अवधिमा मन्त्रालयले हासिल गरेको उनले बताए ।

उनका अनुसार असोज १० गतेदेखि १२ गतेसम्मको अविरल वर्षा र त्यसबाट आएको बाढीपहिरोका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा छ अर्बको क्षति भएको छ । धान, माछापालन, पशुपन्छी, खोर, सिँचाइ प्रणाली, भण्डारण गरिएको दानामा क्षति भएको उनले जानकारी दिए । यो वर्ष धान उत्पादन बढ्ने पूर्वअनुमान गरिएकामा बाढी पहिरोले धान उत्पादन घट्ने देखिएको उनको भनाइ छ । कृषि अनुदान सार्वजनिक गरिने सरकारबाट किसानले पाएको अनुदानको विवरण सार्वजनिक गर्न पनि मन्त्रालय लागिपरेको उनले कार्यक्रममा जानकारी दिए । यसका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरिएको छ । यो समितिले किसानलाई दिएको अनुदानको अध्ययन गरेर पुस्तिका बनाई सार्वजनिक गर्ने तयारी गरिरहेको उनले बताए । यसअघि प्रतिबद्धता गरिएको समयमा कृषि अनुदानको विवरण सार्वजनिक गर्न नसकिएको स्वीकार गर्दै उनले यसबाट पछि हट्ने पक्षमा मन्त्रालय नरहेको बताए ।

आफू मन्त्री भएपछि नै बीउविजन नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत गराएको उल्लेख गर्दै उनले नफल्ने बीउविजनको बिक्री वितरण गर्नेलाई अब कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता पनि जनाए । आफ्नो खेत अधियाँमा दिएपछि खेत कमाउनेले ल्याएर रोपेको बीउमा बाला नलागेको उल्लेख गर्दै मन्त्री अधिकारीले त्यस्तो बीउविजन बिक्री वितरण गर्नेलाई कारबाही गरिने बताए । थाक्रे गाउँपालिकाले वितरण गरेको मकैको बीउबाट मकै नफलेकाले यस्तो बीउविजन बिक्री गर्नेले अब कारबाहीबाट बच्न नसक्ने उनको प्रतिबद्धता थियो । बाँदरबाट किसानले पाएको दुःखको समस्या समाधान गर्न कृषि र वन मन्त्रालयका कर्मचारीलाई तालिम विदेश पठाइएको उल्लेख गर्दै मन्त्री अधिकारीले बाँदरबाट कृषि क्षेत्रमा परेको प्रभाव अन्त्य गर्न पनि मन्त्रालय लागिपरेको जानकारी दिए ।

मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले बीमाप्रति विश्वास बढेकाले डिजिटल प्रविधिबाट पनि आवेदन गर्न सकिने गरी शुभारम्भ गरिएको बताए । गत वर्ष एक अर्ब ७३ करोड रुपैयाँ बीमाको भुक्तानीका लागि दाबी भएको उनले जानकारी दिए । बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले कृषि बीमाका लागि सक्दो सहयोग गरिने प्रतिबद्धता जनाए ।


क्याटेगोरी : बीमा बजार, समाचार, सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x