Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारबाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर

बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर


पाटन (ललितपुर) । ललितपुर महानगरले आगामी शनिबार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्ने भएको छ ।

महानगरले सोमबार यहाँ आयोजना गरेको नदी किनारामा थुप्रिएको फोहरमैला सरसफाइसम्बन्धी तयारी बैठकमा महानगरप्रमुख चिरिबाबु महर्जनले गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहर सङ्कलन गर्ने र नदी किनारा सफा गर्ने काम शनिबारदेखि सञ्चालन गरिने राससलाई जानकारी दिए ।

“शनिबार बिहान ७ बजे हामी सबै तोकिएका फरकफरक ठाउँमा जम्मा हुन्छौँ, बाढीले छरपष्ट रुपमा रहेका प्लास्टिक, कागज र कपडा सङ्कलन गरेर सफा गर्नेछौँ, नदी किनारा सफा नभएसम्म निरन्तर काम गर्छौं”, महर्जनले भने । उनले असोज ११ र १२ गतेको बाढीले अन्यत्रबाट बगाएर ल्याएका फोहरले ललितपुर सहर र यहाँको मुख्य नदी किनाराको सौन्दर्य बिगारेकाले सरसफाइ थालिएको बताए ।

“नख्खु र बागमती नदीको किनारालाई प्लास्टिकले छपक्कै छोप्दा असरल्ल देखिएको छ, यसले नगरको सौन्दर्य हराउँदै गएको छ । नगरलाई पुरानो अवस्थामा फर्काउन सरसफाइ अभियान सञ्चालन गर्न लागेका छौँ”, महानगरप्रमुख महर्जनले भने ।

फोहर सङ्कलनका लागि ज्यापु समाज ललितपुर, यल नेवा समाज, जिल्ला बहुउद्देश्यीय सङ्घ ललितपुर, सहकारी सङ्घ ललितपुरलगायत विभिन्न सङ्घसंस्था, सामाजिक सङ्घसंस्थाले आफ्ना प्रतिनिधिलाई परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् । महानगरको सरसफाइ कार्यक्रममा नगर प्रहरी, कर्मचारी पनि सहभागी हुने जानकारी दिइएको थियो । साथै महानगरले सफाइ अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बाढीले महानगरकोे सौन्दर्य ह्रास ल्याएको बताउँदै सहरी सौन्दर्य कायम राख्नुका साथै वातावरण संरक्षण गर्ने दायित्व सबैको भएको बताइन् । “बाढीबाट कम प्रभावित वडाले बढी प्रभावितसँग हातेमालो गर्नुपर्ने आवश्यकता छ, कसले गर्छ भनेर हेर्ने अहिलेको समय हैन, हामी सबैले मिलेर गर्नुपर्छ । स्वच्छता र सुन्दरता कायम नभएसम्म सफाइको अभियान निरन्तर चल्नेछ”, उनले भनिन ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले सरसफाइ अभियानमा जुट्न सबैलाई अनुरोध गरे । “प्रभावित स्थलको निरीक्षणमा जाँदा सहरको सौन्दर्य हराउँदै गएको पायौँ । साथै फोहरले विभिन्न सङ्क्रमण फैलिन सक्ने भएकाले अभियानमार्फत सरसफाइ थालेका हौँ । जिल्ला सुरक्षा समितिमार्फत सुरक्षाकर्मीहरुलाई परिचालित गर्नेछौँ । भएको जनशक्ति र स्रोतको परिचालन गरेर काम गर्ने, अवरुद्ध बाटो खुलाउने, राहत वितरण गर्ने काम भइरहको छ”, उनले भने ।

प्रजिअ श्रेष्ठले क्षतिको यकीन विवरण सङ्कलन गर्ने काम भइरहेको बताउँदै व्यवस्थित ढङ्गले फोहरमैला व्यवस्थापनमा आवश्यक सहयोग र समन्वय गर्ने उल्लेख गरे ।

महानगरका प्रवक्ता एवं वडा नं ९ का वडाध्यक्ष राजु महर्जनले विभिन्न स्थानमा समूह विभाजन गरेर स्वयंसेवक परिचालन गरिने जानकारी दिए । ललितपुर महानगरका वडा नं ५, ६, १२, १६, १५, १९, २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन् । बाढीले बगाएर ल्याएर नख्खु र बागमती नदीको किनारामा थुपारेको फोहर हटाउनका लागि दुई हजारभन्दा बढी स्वयंसेवक खटिने उनले जानकारी दिए ।


क्याटेगोरी : पालिका समाचार, महानगर, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x