Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुनको भन्सारदर नेपालमा भारतभन्दा बढी हुँदा सरकारको आम्दानी र उपभोक्तामा परेको असर

सुनको भन्सारदर नेपालमा भारतभन्दा बढी हुँदा सरकारको आम्दानी र उपभोक्तामा परेको असर


काठमाडौं,नेपालमा यसअघिका वर्षमा दैनिक ४०-५० किलोसम्म खपत हुने गरेको सुन पछिल्लो पटक मूल्य आकासिन थालेसँगै दैनिक औसत २० किलोभन्दा कममा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घले सार्वजनिक गरेको दर अनुसार बुधवार नेपालमा छापावाल सुनको मूल्य प्रतितोला १,६६,७०० रुपैयाँ पुगेको छ।

“अहिले दशैँतिहारको धेरै माग हुने बेला पनि मुस्किलले २० किलो बजारमा गइरहेको छ,” महासङ्घका अध्यक्ष अर्जुन रसाइली भन्छन्।

“हाल १५ किलो हाराहारीमा मात्र सुन खपत छ। तिहारमा त्यो केही बढ्ने आशामा ब्याङ्कहरूलाई सुन आयात गर्न भनिएको छ।”व्यवसायीहरूले तिहार लक्षित गरेर १०० किलो सुन आयात गर्न नेपाल राष्ट्र ब्याङ्कबाट त्यसको जिम्मा पाएका वाणिज्य ब्याङ्कहरूलाई भनेका हुन्।तर यसबीचमा आफूहरूले सरकारले भन्सार दर घटाउला भनेर आयातका लागि केही समय पर्खिएको बताउँछन्।

सुनको मूल्य भने गत वर्षको कार्तिकमा १ लाख १६ हजार रुपैयाँ रहेकोमा यस वर्षको कार्तिक महिनामा करिब ४० हजार रुपैयाँले बढेको महासङ्घको विवरणमा उल्लेख छ।

नेपाल राष्ट्र ब्याङ्कले यसै वर्षको भदौ मसान्तमा सार्वजनिक गरेको देशको वित्तीय स्थिति सम्बन्धी एक प्रतिवेदनमा गत वर्ष सोही अवधिको तुलनामा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३४ प्रतिशतसम्मले बढेको देखाएको छ।

किन उठ्यो भन्सार घटाउने कुरा?नेपालमा हाल सुन आयात गर्दा २० प्रतिशत प्रतिशत भन्सार शुल्क लाग्ने गरेकामा दक्षिणी छिमेकी भारतमा भने त्यो छ प्रतिशत छ।

यसअघि भारत र नेपाल दुवै देशमा सुनको भन्सार महसुल १५-१५ प्रतिशत थियो।

नेपाल राष्ट्र ब्याङ्कका एक जना पूर्व डेपुटी गभर्नर कृष्णबहादुर मानन्धर भन्छन्: “चुनावका कारण भारतमा बजेट यस पटक केही ढिलो गरी आयो। तर नेपालमा जेठ १५ मै ल्याइएको बजेटमा सुनको भन्सार दर १५ बाट बढाएर २० प्रतिशत पुर्‍याइयो। भारतमा भने १५ प्रतिशतबाट ६ प्रतिशतमा झारियो।”उनले त्यससँगै व्यापारीहरूले औपचारिक बाटोबाट खासै सुन नकिनेको भए पनि उपभोक्ताबाट मूल्य भने २० प्रतिशत भन्सार जोडेर लिने गरिरहेको दाबी पनि गरे।

उनको भनाइको सङ्केत भारतसँगको खुला सीमाको लाभ उठाउँदै नेपालमा भारतबाट गैर कानुनी बाटो हुँदै सुन ल्याउने गतिविधि तर्फ थियो।

“यसबीचमा ब्याङ्कहरूले सुन किनेका छैनन्। तर बजारमा सुन आइरहेको छ, भारु गइरहेको छ तर त्यसबाट भन्सार राजस्व सङ्कलन भएको छैन। यसबाटै सुन भारततिरबाटै आइरहेको छ भन्ने अप्रत्यक्ष रूपमा पुष्टि हुन्छ,” पूर्वगभर्नर मानन्धर भन्छन्।

“सरकारले भन्सार दर घटाएर १० प्रतिशततिर झार्‍यो भने सुनको मूल्य तीन-चार हजार रुपैयाँले घट्न सक्छ र राज्यको राजस्व समेत केही बढ्न सक्छ।”पूर्व डेपुटी गभर्नर मानन्धर कम्तीमा अमेरिकी चुनावसम्म अवस्था यस्तै बढ्दो क्रममा देखिने ठान्छन् भने महासङ्घका अध्यक्ष रसाइली आउँदो छ महिना यसै गतिमा मूल्य बढ्ने विश्लेषण भइरहेको बताउँछन्।

नेपालमा मुख्य चाडवाडसहित विवाह हुने महिनामा सुनको उच्च कारोबार हुने बताइन्छ।

‘नेपाल हुँदै तस्करी कम भएको छ’राष्ट्र ब्याङ्ककै विवरणमा सुन नेपालले आयात गर्ने २० मुख्य वस्तुमध्येमा पर्ने गर्छ।

भन्सार विभागका प्रवक्ता भने नेपाललाई ट्रान्जिट बनाएर भारततर्फ तस्करी हुने अवस्थाको हकमा ‘त्यो कम गर्न बढी भन्सार दर सहयोगी’ बनेको आफूहरूको ठम्याइ रहेको बताउँछन्।

“तर आयात घटेको अवस्था र भन्सार दर घटाउने व्यवसायीका माग भने मन्त्रीपरिषद्‍बाट सम्बोधन हुनुपर्ने विषय हो,” प्रवक्ता मुक्ति प्रसाद श्रेष्ठ भन्छन्।

“हामीलाई राजस्वमा परेको असरबारे भने विश्लेषण हुन बाँकी छ। तर व्यवसायीका मागबारे भने छलफल चलिरहेको छ। बजेटले निर्णय गरेको विषय भएकाले मन्त्रीपरिषद्‍ले मात्र त्यसबारे निर्णय गर्नसक्छ।”एकातर्फ सीमा क्षेत्रका नेपाली ग्राहकहरू सुन किन्न भारततर्फ जाने गरेको र अर्को तर्फ भारतबाट पनि गैर कानुनी बाटोमार्फत सुन नेपाल भित्र्याइने हुँदा बजार “एकदमै अस्तव्यस्त” बनेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष रसाइली बताउँछन्।

भन्सारदरलाई भारतसँग समायोजन हुनेगरी घटाउन सके राजस्व सङ्कलन बढ्ने मात्र नभएर नेपालमा सुनको विक्रीमूल्य समेत केही हजारले घट्ने अध्यक्ष अर्जुन रसाइली बताउँछन्।

“सरकारले १० प्रतिशत नै भन्सार घटाउँदा पनि सुनको अहिलेको मूल्यमा १५/१६ हजार रुपैयाँ घट्छ। अहिले दुई देशबीचको भन्सार दरमा निकै नै ठूलो अन्तर भयो।”

किन अचाक्ली बढिरहेको छ सुनको मूल्य?पूर्व डेपुटी गभर्नर कृष्णबहादुर मानन्धर अन्तर्राष्ट्रिय बजारमा धेरैतिर देखा परेको अनिश्चितताको असर सुन बजारमा पनि देखा परेको बताउँछन्।

त्यसबाहेक रुसले युक्रेनमा गरेको अतिक्रमणपछि विकसित घटनाक्रमको असर समेत सुनको बजारमा देखिएको मानन्धर ठान्छन्।

“रुसमाथि प्रतिबन्ध लगाउने क्रममा उसका धेरै खाताहरू रोक्का गरिएका छन्। त्यसले गर्दा कैयौँ देशका केन्द्रीय ब्याङ्कहरूले धेरै पैसा डलरमा राख्नु जोखिम हुने ठान्न थालेको देखिन्छ,” मानन्धर भन्छन्।

“त्यसबाहेक अमेरिकी राष्ट्रपतीय चुनावअघि अमेरिकामा एउटा आर्थिक अनिश्चितता देखिन्छ। कुन उम्मेदवारले जितेमा आर्थिक अवस्थाले कुन रूप लेला भन्ने अनुमान, र त्यो सँगै पहिल्यैदेखि अमेरिकी कङ्ग्रेसमा अड्किएर रहेको विधेयक पारित गर्ने झमेलाको अवस्था छ। त्यस्तो बेला सामान्यतः अमेरिकी डलरको साटो सुनमा लगानी बढ्ने प्रवृत्ति देखिने गर्छ।”
(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x