Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहिलालाई नीतिनिर्माण प्रक्रियामा साझेदार बनाउन सरकार प्रतिबद्ध

महिलालाई नीतिनिर्माण प्रक्रियामा साझेदार बनाउन सरकार प्रतिबद्ध


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलालाई राज्यका नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

महिला अधिकारसम्बन्धी बेइजिङ प्लस ३० का बारेमा नागरिक समाजबाट तयार पारिएको राष्ट्रिय समीक्षा गोष्ठीलाई शुक्रबार सम्बोधन गर्दै उनले महिला राजनीतिक र आर्थिक सशक्तीकरणसँगै भेदभाव उन्मूलनमा मात्र नभई सबै नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदारका रूपमा सहभागी गराउनुपर्नेमा जोड दिए । सरकार र नागरिक समाजसँगै मिलेर लैङ्गिक असमानताका मूल कारण निर्मूल गर्ने उनले बताए । कार्यक्रममा उनले सन् २०२५ को मार्चमा अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्र संघद्वारा आयोजना हुने बेइजिङ प्लस ३० समीक्षा सम्मेलनले महिला र बालबालिकाको सशक्तीकरणमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । यस्तै, उनले सो सम्मेलनमा महिला तथा बालबालिकाका क्षेत्रमा रहेका समस्याको उजागर गर्दै समाधानको बाटो पहिल्याउने गरी तथ्यपरक प्रतिवेदन बनाउन सुझाव दिए ।

‘बेइजिङ समीक्षा र कार्ययोजना महिला सशक्तीकरणका लागि दूरदर्शी एजेन्डा हो । यसले निजी र सार्वजनिक सबै क्षेत्रमा महिला सशक्तीकरणका लागि सरोकार भएका क्षेत्रहरू पहिचान गरेको छ’, उनले भने, ‘राष्ट्रियस्तरको यस छलफलले लैङ्गिक समानताका क्षेत्रमा काम गर्नेहरूसँग संलग्न हुन र अझै पनि पिछडिएका व्यक्तिहरूको समस्यालाई उजागर गर्न सरकार र सरोकार भएकाहरूको ध्यानाकर्षण गराउने अवसर प्रदान गर्नेछ । कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई पनि समेटेर सशक्तीकरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । पछिल्लो समयमा जेष्ठ महिला नागरिक र यौनकर्मीका विषय बेइजिङ प्लस ३० समीक्षामा थप्नुपर्ने उनको सुझाव थियो । सन् १९९५ मा बेइजिङमा आयोजना भएको चौथो विश्व सम्मेलनमा सहभागी भएको स्मरण गर्दै उनले त्यसयता महिला सशक्तीकरणमा धेरै सुधार भएको बताइन् ।

कार्यक्रममा बेइजिङ कार्ययोजनाले निर्धारण गरेको १२ वटा सरोकारका क्षेत्रबारे महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले जानकारी गराएका थिए । महिला र शिक्षा, महिला र अर्थतन्त्र, महिलाको मानवअधिकार, महिला र गरिबी, महिला र स्वास्थ्य, शक्ति संरचना निर्णय प्रक्रियामा महिला, महिला र सञ्चार, महिला र वातावरण, महिलाको उन्नतिको लागि संस्थागत संरचना, महिला र सशस्त्र द्वन्द्व तथा महिलाविरुद्धको हिंसा सरोकारका क्षेत्र निर्धारण गरिएका थिए । कार्यक्रममा बेइजिङ कार्ययोजनाले निर्धारित गरेको १२ वटा सरोकारका क्षेत्रहरूका विषयमा सामूहिक छलफल चलाइएको थियो ।

नेसनल नेटवर्क फर बेइजिङ रिभ्यु नेपाल (एनएनबीएन), संयुक्त राष्ट्र सङ्घीय महिला (युएन महिला) र महिला, कानुन र विकास मञ्चको सहकार्यमा सो गोष्ठी आयोजना गरिएको थियो । साथै कार्यक्रममा महिला आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका तीन महिला अधिकारकर्मीलाई सम्मान गरिएको थियो । मन्त्री सुडीले महिला अधिकारकर्मी लक्ष्मीकेशरी मानन्धर, इन्दिरा श्रेष्ठ र तुलसालता अमात्यलाई कदरपत्रसहित सम्मान गरेका थिए । साथै, यस वर्षदेखि युवासमेतलाई प्रोत्साहन गरी एसेस प्लानेटकी लक्ष्मी नेपाललाई सम्मान गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x