Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतत्काल अन्तर्राष्ट्रिय हवाइ उडान नहुने संकेत

तत्काल अन्तर्राष्ट्रिय हवाइ उडान नहुने संकेत


काठमाडौं, असार २३
काठमाडौंमा विदेशबाट आउनेमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण तीव्र रुपमा फैलिनुका साथै विदेशबाट नेपालमा यात्रु ओसार्ने विमानका चालकमा समेत कोभिड–१९ देखिएको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान सुरु नहुने संकेत देखिएको छ ।

सरकारले अहिले चार्टर्ड उडानमार्फत विदेशमा रहेका नेपालीहरुलाई ल्याइरहेको छ । चार्टर्ड उडानमा निश्चित तोकिएका यात्रु मात्र आउने गर्छन् । अन्तर्राष्ट्रिय उडान खोल्दा नेपालमा सञ्चालन भइरहेको विमान कम्पनीहरुलाई क्रमशः उडान अनुमति दिनुपर्ने हुन्छ । त्यसरी उडान अनुमति दिँदा जोसुकै व्यक्ति पनि नेपाल प्रवेश गर्ने हुनाले कोरोनाको जोखिम अझै बढ्ने हुनाले तत्काल चार्टर्डबाहेकको अन्तर्राष्ट्रिय उडान नहुने देखिएको हो ।

‘अहिले चार्टर्ड उडानमार्फत यात्रु ल्याउँदैमा विमान चालकलाई नै कोरोना देखिएको छ’, पर्यटन मन्त्रालयका एक अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय उडान खोल्ने हो भने कोरोनाको संक्रमण धेरै देखिने संकेत मिलेको छ । त्यही भएर नेपालमा चार्टर्डबाहेकको अन्तर्राष्ट्रिय उडान खुल्न अझै केही साता कुर्नुपर्ने देखिन्छ ।’ सरकारले साउन महिनामा अझै कोरोना संक्रमितको संख्या बढ्ने अनुमान गरेको कारण साउनमा अन्तर्राष्ट्रिय उडान खुल्ने सम्भावना न्यून बन्दै गएको हो ।

अन्तर्राष्ट्रिय उडान खुल्नासाथ छिमेकी भारतबाट समेत मानिसको प्रवेश बढ्नेछ । अहिले स्थलमार्गबाट नेपाल प्रवेश गर्नेहरुकै कारण कोरोना नियन्त्रण गर्न हम्मेहम्मे परेको बेला हवाइमार्गबाट पनि भारतबाट प्रवेश गर्न दिने हो भने कोरोनाको फैलावट दरमा उच्च वृद्धि हुनेछ । भारत विश्वमा कोरोना संक्रमितहरुको सूचीमा तेस्रो नम्बरको देशमा पर्छ । नेपाल र भारतबीच खुला सिमाना भएको कारण भारत नै नेपालमा कोरोना फैलाउने मुख्य देश भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि नेपालमा कोरोना संक्रमितमध्ये झण्डै ९५ प्रतिशत विदेश र खासगरी भारतबाट आउनेमा देखिएको बताइरहेको छ । सोही कारण अन्तर्राष्ट्रिय उडान खुल्ने सम्भावना पछि धकेलिन गएको हो । यसैबीच, नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सका सात उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका सात सदस्यको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको निगमले जनाएको छ । अन्य सात सम्बधित क्रु मेम्बरको पुष्टि हुन बाँकी रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । यसले पनि विमान चालक र कर्मचारीहरुमा कोरोनाको त्रास बढाएको छ ।

निगमका उडान कर्मचारी उद्धार उडानका क्रममा सोल्टी होटलमा क्वारेन्टाइनमा बसेका थिए । निर्धारित उडान सकेर क्वारेन्टाइनबाट घर पठाउने क्रममा पीसीआर परीक्षण गर्दा सात जना क्रु मेम्बरलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको निगमले सोमबार विज्ञप्ति जारी गरी जनाएको छ । उनीहरूको उपचारसम्बन्धी आवश्यक व्यवस्था निगम व्यवस्थापनले गरिरहेको र थप सतर्कता अपनाई पूर्वनिर्धारित उद्धार उडान यथावत् सञ्चालन हुने निगमले स्पष्ट गरेको छ ।

निगमले उद्धार उडानमा सम्मिलित चालक दलका सदस्य एवं अन्य उडान कर्मचारीका लागि आवश्यक निर्धारित मापदण्डअनुसारको जिम्मेवारी पूरा गर्दै आएको पनि उल्लेख गरेको छ । निगमले आवश्यक मापदण्ड अपनाइएको बताए पनि कोरोनाको संक्रमण बढेको कारण कर्मचारीमा त्रास पनि बढेको छ । साउदी अरब, कुवेतबाट मानिस उद्धार गरेर नेपाल ल्याउँदा उनीहरूमा सङ्क्रमण सरेको हुनसक्ने बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x