Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयुवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी


काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी युवा नीतिमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का विषयलाई समेट्ने प्रतिबद्धता जनाएका छन् । एनआरएनए वार्षिक साधारणसभा र ग्लोबल कन्क्लेभ २०२४ को पाँचौं सत्र राष्ट्र निर्माणका लागि प्रवासी युवाको सशक्तिकरणलाई सोमबार सम्बोधन गर्दै उनले भने, “युवा नीति अख्तियार गरेर कानुन र अर्थमा पुगिसकेको छ । मन्त्रिपरिषद्बाट केही दिनपछि पारित हुँदैछ । तपाईहरूको केही कुरा राख्न सकिन्छ ।”

मन्त्री चौधरीले विश्वका विभिन्न मुलुकमा रहि फरक–फरक क्षेत्रमा हासिल गरेको अनुभव, क्षमता तथा पुँजी मातृभूमिको विकासमा लगानी गर्ने डायस्पोराको सोच उदाहरणीय भएको राससलाई बताए । “डायस्पोराले उद्यमशीलता, स्थानीय अर्थतन्त्रको विकासमा पनि मद्दत पुर्याउन सक्छ । यसका लागि राज्यले सहज लगानीको वातावरण, कर छुट तथा नागरिकताको सहज व्यवस्थापन गर्नुपर्छ”, उनले भने ।

भाषा, संस्कृति, उत्पादन, पर्यटन प्रवर्द्ध्न, शिक्षा, स्वास्थ्य, सामाजिक न्यायको क्षेत्रमा डायस्पोराका युवालाई परिचालन गर्न र अनुसन्धान नवप्रवर्तन क्षेत्रमा अनुभव तथा सीप प्रयोग गर्न सकिने मन्त्री चौधरीको भनाइ थियो । कार्यक्रममा पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता पदम गिरीले नयाँ पुस्तालाई राष्ट्र निर्माणमा जोड्न तत्कालै ठोस् योजना जरूरी रहेको बताए । यसमा विलम्बन नगरी छिटो नीति ल्याउनुपर्नेमा यहाँले जोड दिए ।

नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले मानव सभ्यताका लागि बसाइँसराइ नियमित प्रक्रिया भएको बताउदै राष्ट्र निर्माण अगाडि सकारात्मक धारणा विकास गर्नुपर्ने उल्लेख गरे । “पोजेटिभ एटिट्युड निर्धारण गर्न सकियो भने कसरी राष्ट्र निर्माण गर्ने स्पष्ट हुन्छ”, उनले भने ।

नेपाली कांग्रेसका नेता केदार कार्कीले नेपालका हरेक सुखदुःखमा साथ दिने प्रवासी नेपालीलाई स्वदेशमा आउँदा सकारात्मक व्यवहार गर्नुपर्ने बताए । उनले दोस्रो र तेस्रो पुस्ताका नेपालीको सीप तथा पुँजी भित्र्याउन राज्यले ढोका खोल्नुपर्नेमा जोड दिए ।

एनआरएन नेपाली युवा समिरा केसीले आधा नेपाली र आधा विदेशी भएर बाँचेका आफूहरूलाई एनआरएनएले नेपालसँग जोड्ने काम गरेको बताए । उनले प्रवासी नेपाली युवाहरू मातृभूमिलाई आफ्नो सीप क्षमता सहयोग गर्न तयार रहेको उल्लेख गरे । एनआरएनए उपाध्यक्ष रोशन थापाले नेपाली जनशक्ति पठाउने र उनीहरूको सीप, क्षमता र पुँजी भित्र्याउने दोहोरो नीति आवश्यक रहेको बताए ।

खेलाडीलाई नगदसहित सम्मान
यसैगरी गैरआवासी नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले खेलाडीलाई सम्मान गरेको छ । गैरआवासीय नेपाली दिवस वार्षिक साधारणसभा र ग्लोबल कन्क्लेभ २०२४ का अवसरमा राष्ट्रका लागि मेडल ल्याउने खेलाडीलाई सम्मान गरिएको हो । प्यारा ओलम्पिकमा पदक विजेता पलेशा गोवर्धनलाई खेलकुदमन्त्री तेजुलाल चौधरी र एनआरएनएका युवा उपाध्यक्ष रोशन थापाले रु. ३० हजार नगद र प्रमाणपत्रसहित सम्मान प्रदान गरे ।

समारोहमा पलेशाका बुबा प्रदिप गोवर्धले पुरस्कार ग्रहण गरेका थिए । कराँतेमा प्रथम एसियन रजतपदक विजेता एरिका गुरुङलाई रु. २५ हजार नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

अष्ट्रियाको भियनामा सम्पन्न गोजुरियो कराँतेको कातातर्फ स्वर्णपदक विजेता एनआरनएका खेलाडी एनोज महर्जनलाई रु. २० हजार नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x