Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहामारी सम्झौता समतामूलक बनाउन एएचएफको माग

महामारी सम्झौता समतामूलक बनाउन एएचएफको माग


काठमाडौं । एड्स हेल्थ केयर फाउन्डेशन (एएचएफ)ले विश्व स्वस्थ्य संगठनको महामारी सम्झौता समतामूलक हुनुपर्नेमा जोड दिएको छ । अहिले तयारी गरिएको सम्झौताले नेपाललगायतका विकासोन्मुख देशहरू आपतकालीन महामारीको समयमा तत्काल सेवा पाउनबाट बञ्चित हुन सक्ने भन्दै फाउन्डेसनले त्यस्तो सम्झौता मानव अधिकारविरुद्ध हुने समेत बताएको छ ।

काठमाडौंमा पत्रकारहरूसँगको अन्तरक्रियामा आफ्ना विचार राख्दै एएचएफका राष्ट्रिय कार्यक्रम व्यवस्थापक दिव्यराज जोशीले महामारीमा आपतकालीन स्वास्थ्य उपचार सेवामा एसिया र अन्य क्षेत्रका अतिकम विकसित मुलुकले समेत लाभ लिन सक्नुपर्ने र यस्तो आवाज सम्बन्धित निकायसम्म पुगोस् भन्ने उद्देश्यले विश्वभर सेभ आवर सोसाइटी अभियान सुरु गरिएको बताए ।

सोही कार्यक्रममा आफ्ना विचार राख्दै एएचफका प्रोग्राम एन्ड मार्केटिङ को–अर्डिनेटर राधेश्याम श्रेष्ठले विगतका महामारीहरूमा भ्याक्सिन र कतिपय उपचारात्मक तथा निरोधात्मक स्वास्थ्य सेवा र उपकरणको वितरण समतामूलक नभएको र त्यसले कयौँ मुलुकहरूले उच्च क्षति बेहोर्नुपरेको भन्दै त्यस्ता घटना पुन नदोहोरियोस् भन्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको प्रष्ट पारे ।

सन् २०१९ को कोभिड र त्यसयताका अन्य कयौँ महामारीका घटनाबाट पाठ सिकेर सम्झौतालाई सबैको पहुँचयोग्य बनाउनुपर्ने उनको मत छ । विश्व स्वास्थ्य संगठनको उक्त महामारी सम्झौता अन्तिम चरणमा छ । उक्त सम्झौताजस्ताको त्यस्तै पारित गरिए त्यो धनी र शक्ति राष्ट्रहरको पक्षमा मात्रै हुने र विश्वको ठुलो जनसंख्यालाई महामारी सम्झौताले छुन नसक्ने भन्दै उक्त प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्नेमा जोड दिइएको हो ।

सम्झौतालाई समतामूलक बनाउन खासगरी क्षेत्रीय उत्पादन क्षमता अभिवृद्धि गरिनुपर्ने, महामारी प्रतिकार्यसम्बन्धी प्रविधि हस्तान्तरण गरिनुपर्ने, दिगो आर्थिक व्यवस्थापनको ग्यारेन्टी हुनुपर्ने तथा नागरिक समाज र संस्थाहरूलाई समेत सम्झौताले समेट्न पर्नेमा जोड दिइएको छ ।

एएचएफ एचआईभीमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था भए पनि यसले समय–समयमा क्रस कटिङ विषयका रूपमा यस्ता जनस्वास्थ्य सवालहरूमा अभियानहरू समेत सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x