एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित
रुकुम । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१४ का हर्क पुन घरविहीन भएको एक वर्ष भयो । एक हिउँद र एक बर्खा टिनको टहरामा कटाएका उनलाई यो वर्षको चिसो पनि टिनकै टहरामा बित्ने हो कि भन्ने डर छ । गत वर्षको कात्तिक १७ गते रातिको भूकम्पले घर भत्काइदिएपछि केही दिन त्रिपालमुनि रहेको उनको परिवार हाल टिनको टहरामा छ ।
‘हामीले एक वर्ष कष्टकर बितायौंँ । अब फेरि चिसो बढ्न थालेको छ, यो वर्षको चिसो कसरी कटाउने भन्ने पिर छ’, पुनले भने । भूकम्प गएको केही महिना त्रिपालमुनि र त्यसयता टहरामा बसिरहेका भूकम्प प्रभावित परिवार सुरक्षित आवासको आशामा छन् । कठ्याङ्दिो चिसोमा त्रिपाल, गर्मीमा टिनको टहरामा बस्न बाध्य यहाँका भूकम्पपीडितले अझै सुरक्षित आवास पाउन सकेका छैनन् । ‘हामीले सरकारबाट समयमै घर निर्माणका लागि सहयोग पाउन सकेनौँ । हाम्रा बालबालिका र बुढापाकालाई कसरी बचाउने भन्ने पिर छ । गत वर्षझैँ यो वर्ष पनि कतिले चिसोको कारण ज्यान गुमाउने हुन्’, सानीभेरी गाउँपालिका–४ का हीरालाल परियारले भने ।
एक वर्षमा पनि सरकारले पुनःनिर्माण कार्यविधि ल्याउन सकेको छैन । भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० तयार गरेर टहरा निर्माणका लागि तत्कालै प्रतिपरिवार ५० हजार अनुदान व्यवस्था गर्ने जनाएको थियो । तर, उक्त रकम पूरा नदिएको भूकम्पपीडितको गुनासो छ । तत्काल त्रिपाल र त्यसपछि अस्थायी आवासको प्रबन्ध भए पनि पुनःनिर्माण हुन नसकेको सानीभेरी गाउँपालिका–४ का वडाध्यक्ष मनोज बुढाथोकीले बताए । संघीय सरकारले पुनःनिर्माणका लागि कार्यविधि ल्याउन नसकेकाले भूकम्पपीडितको आवास निर्माण ढिलाइ भएको उनको भनाइ छ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले भूकम्प प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत अध्ययन गरेको थियो । समितिको अध्ययन प्रतिवेदनमा भूकम्प प्रभावितको पुनःनिर्माण र पुनःस्थापना यथाशक्य चाँडो पूरा गर्न सरकारलाई सुझाव दिइएको छ ।
जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार जिल्लाभर ३४ हजार नौ सय ८९ लाभग्राही छन् भने ३२ हजार नौ सय ९६ घरधुरीले अस्थायी टहरा निर्माणको पहिलो किस्ता प्राप्त गरेका छन् । दुई हजार दुई जनाले पहिलो किस्ताकै रकम पाएका छैनन् । १६ हजार परिवारका लागि दोस्रो किस्ता निकासा भइसकेको छ ।
क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
- बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँ : मन्त्री अधिकारी
- चीन भ्रमणका एजेन्डा कांग्रेस–एमालेको सहमतिमा तय हुने
- टोरन्टो घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी
- नेपाल–क्यानडा सम्बन्धका साथै साझा चासोका विषयमा छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया