Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपोखरामा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान

पोखरामा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान


काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ  । पोखरामा आयोजित इन्टरनेसनल माउन्टेन क्रस कन्ट्री कम्पिटिसनमा भाग लिन चीनको कुनमिङबाट आएका खेलाडीहरूलाई लिएर सिचुवान एयरलाइन्सको जहाज बिहीबार पोखरामा अवतरण गरेको हो । यो जहाजले एक सय २० जना यात्रु बोकेर आएको हो । सिचुवानले एयरबस ३१९ जहाजबाट पोखरामा उडान गरेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको २०७९ पुस १७ गते उद्घाटन गरिएको थियो । विसं २०८० असार ६ गते सिचुवान एयरलाइन्सले पोखरामा पहिलो चार्टर्ड उडान गरेको थियो । उक्त एयरलाइन्सले १७ महिनापछि आज दोस्रो उडान भरेको हो ।

खेलकुदका माध्यमबाट नेपाल र छिमेकी मुलुक चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले पर्यटकीय राजधानी पोखरामा यही कात्तिक २४ गतेदेखि हुन लागेको तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगितामा सहभागी हुन आउने चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक र अन्य व्यक्ति चार्टर्ड उडानमार्फत पोखरा आएका हुन् । ‘साझा समृद्धिका लागि दौड’को नारासहित हुने प्रतियोगितामा नेपाल र छिमेकी मुलक चीनका खेलाडीले प्रतिस्पर्धा जनाउने छन् ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका दौडको आयोजक रहेका छन् । हिमालयन टुरिज्जम फोरमले कार्यान्वयन गर्ने उक्त प्रतियोगिता यही कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । नेपालस्थित चिनियाँ दूतावास, चीनको युनान प्रान्तीय खेलकुद ब्युरो, युनान प्रान्तीय सरकारको विदेश मामिला कार्यालय, सिल्क रोड सिटिज एलायन्सजस्ता संस्थाहरूले प्रतियोगितालाई सघाउने बताइएको छ ।

प्रतियोगिताका लागि चिनियाँ खेलाडी आज चीनको कुनमिङबाट पोखरासम्म अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडानबाट आएको प्रतियोगिताको आयोजक हिमालय टुरिजम फोरमले जनाएको छ ।

यसअघि पोखरा विमानस्थलमा बंगलादेश, संयुक्त अरब इमिरेटसलगायतका मुलुकका हवाई कम्पनीहरूले पोखरामा उडान भर्ने बताए पनि हालसम्म उडान हुन सकेको छैन । बंगलादेशको एयर असट्राले ढाका पोखरा उडान गर्ने आवेदन नागरिक उड्डयन प्राधिकरणलाई दिए पनि हालसम्म उडान गर्ने नगर्ने सुनिश्चित भएको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x