हवाई भाडा पुरानो दरमा कायम नगरे उडान बन्द गर्ने चेतावनी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरिएपछि हवाई भाडादर बढाएका वायुसेवा कम्पनीहरूलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्ने चेतवनी दिएको छ । वायुसेवा कम्पनीहरूले विनाकारण हवाई भाडादर वृद्धि गरेपछि प्राधिकरणले सामान्य अवस्थामा जस्तै हवाई भाडा कायम गर्न निर्देशन दिएको हो ।
प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले शनिबार पर्यटन, श्रम मन्त्रालयका प्रतिनिधिहरू राखेर वायुसेवा कम्पनीका प्रतिनिधिहरूलाई पुरानै भाडादर कायम गर्न निर्देशन दिएका हुन् । ‘अन्तर्राष्ट्रिय वायुसेवा भन्दैमा नेपालमा मनपरी गर्न पाइँदैन, सामान्य अवस्थामा जस्तो भाडादर कायम नगरे कारबाही हुन्छ’, महानिर्देशक अधिकारीले बैठकमा भने, ‘हामीले विमानस्थल बन्द गर्ने जानकारी गराउनुको साथै विकल्पको रूपमा पोखरा र भैरहवा विमानस्थलको व्यवस्था गरेका छौँ, यो रहर होइन बाध्यता हो ।’
हवाई सेवालाई मारमा पर्नेगरी उडान संख्या नघटाएको बताउँदै हवाई भाडादर चर्को रूपमा बढाउनुपर्ने आवश्यकता नभएको अधिकारीले बताए । अन्तर्राष्ट्रिय उडानतर्फ आठवटा उडान मात्र कटौती गरेको महानिर्देशक अधिकारीले जानकारी दिए । दैनिक चार–चारवटा उडान गर्दै आएका कतार, एयर इन्डिगो, एयर इन्डिया र फ्लाई दुबाइको एक–एकवटा उडान मात्र घटाएको बताउँदै महानिर्देशक अधिकारीले नेपाल वायुसेवा निगम राष्ट्रिय ध्वजावाहक भएका कारण उडान संख्या यथावत् राखिएको बताए । ‘अन्तर्राष्ट्रिय उडानतर्फ जम्मा आठवटा उडान मात्र कटौती गरेका छौँ नेपाल वायुसेवा निगमको उडान यथावत् राखेको छौँ, भाडादर भने छ गुणासम्म आकाशिएको छ, यो कालोबजारी हो’, उनले बैठकमा भने, ‘सबैले यात्रु पाएका छन् अप्ठ्यारो छैन । कतारले चारवटा उडानमार्फत एक हजार दुई सयवटा टिकट काट्थ्यो । अब तीनवटा आएपछि नौ सय जनालाई टिकट बिक्री गर्छ ।’ प्राधिकरणले एउटै रुटमा पनि वायुसेवा कम्पनीले भाडादर अत्यधिक फरक पारेर यात्रुहरूलाई मारमा पारेको बताएको छ ।
बैठकमा कतार एयरवेजको टिकटमूल्यको विषयलाई लिएर प्रश्न गरिएको थियो । कतार एयरवेजले दोहो–बाकु टिकटको मूल्य तीन लाख ६४ हजार रुपैयाँ लागू गर्नको कारण नेपालका लागि कतार एयरवेजका व्यावसायिक प्रबन्धक सारिक बोगटीलाई सोधिएको थियो । बोगटीले कम्पनीको व्यावसायिक रणनीतिअनुसार भाडादर कायम गरेको बताए । ‘टिकटमूल्य आफ्नो हातमा नहुने बताउँदै उनले भने, ‘ग्लोबल टेन्डर’ गर्दा जसले बढी मूल्य दिन्छ हामी त्यसलाई टिकट दिन्छौँ । कतार एयरवेजलाई गत ५ जुनमा उडान अनुमति माग गरेको अक्टोबरका लागि अनुमति पाएको बताए । बोगटीले भाडादरको विषय आफ्नो मुख्यालयलाई जानकारी गराउने बताए ।
दोहो–बाकु मार्गमा इन्डिगोलले ७६ हजार रुपैयाँ भाडादर लागू गरेको महानिर्देशक अधिकारीले जानकारी गराए । ‘कतार एयरवेज ठूलो कम्पनी हो, त्यसो भन्दैमा छ गुण बढी भाडादर लागू गर्न मिल्छ ?’, उनले प्रश्न गरे, ‘विमानस्थल बन्द रहने कतार एयरवेज मात्र होइन सम्पूर्णलाई पाँच महिनाअगावै जानकारी गराउँदा भाडादर छ गुण बढी बनाएर यात्रुमा त्रास सिर्जना गर्ने ?’ कतार एयरवेजको तीनवटा काठमाडौं र एउटा उडान भैरहवाबाट हुने व्यवस्था मिलाइएको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले यही कात्तिक २३ गते शुक्रबारदेखि करिब पाँच महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्ने बताएको छ । जसका कारण साबिकको ‘उडान समय’ घटाई बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्ने ‘नोटिस टू एयर म्यान’ (नोटाम) जारी गरेको छ ।
मर्मतकार्यका लागि विमानस्थल बन्द गरिँदा ३० प्रतिशत उडान बन्द हुने र ठूलो घाटा बेहोर्नुपर्ने भन्दै वायुसेवा सञ्चालक संघले स्तरोन्नति कार्य तदारुकताका साथ निर्धारित समयमै गर्न माग गरेको छ । संघले विमानस्थल स्तरोन्नति निर्धारित समयमा सम्पन्न नभएमा सदस्य वायुसेवा कम्पनीहरू आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने हुँदा सरोकारावाला निकायहरूले सो विषयमा ध्यान दिन संघका पदाधिकारीले आग्रह गरेका छन् । बैठकमा महानिर्देशक अधिकारीका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलासहित पर्यटन र श्रम मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका सञ्चालकहरू सहभागी थिए ।
हवाई भाडादर यथावत् राख्न टीबीए खारेजी गर्ने
नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्रदायक संस्थाहरूबीच शनिबार हवाई भाडालाई लिएर पाँच बुँदे सहमति भएको छ । हवाई भाडादर सामान्य बनाउनका लागि भएको सहमतिमा सम्पूर्ण वायुसेवा सञ्चालकहरूले ट्राभल एजेन्सीहरूलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्टरूपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (टीबीए) खारेज गर्ने र सम्पूर्ण वायुसेवा कम्पनीहरूले यसको अनिवार्य पालना गर्नुपर्ने उल्लेख गरिएको छ । जसले गर्दा ट्राभल एजेनसीहरूले टिकटको मूल्य मनलाग्दी गर्न नपाउने भएका छन् भने यसले यात्रु र एयरलाइन्स कम्पनीहरूलाई सहज हुने देखिन्छ ।
दोस्रो बुँदामा सबै वायुसेवा सञ्चालकहरूले द्विपक्षीय हवाई सेवा सम्झौताको मूल्य शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्नेगरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ प्रावधानको पूर्णतः पालना गर्नुपर्ने, सबै वायुसेवा सञ्चालकहरूले उडान वृत्तबमोजिमको हवाई भाडासूची तोक्ने तथा सार्वजनिक गर्नुपने, ट्राभल एजेन्सीहरूसँग टिकट बिक्रीको सम्झौता गर्दा निश्चित संख्या मात्र बिक्री गर्न सकिने र तोकिएको परिधिमा रही मात्र सेवाशुल्क लिनेगरी व्यवस्था मिलाउने जिम्मेवारी वायुसेवा सञ्चालकको हुने उल्लेख गरिएको छ ।
त्यस्तै तोकिएबमोजिमको हवाई भाडा मात्र कायम राख्ने जिम्मेवारी वायुसेवा सञ्चालकको हुनेछ । वायुसेवा सञ्चालकहरूले उपभोक्ता अधिकार सुनिश्चित हुनेगरी कार्य गर्नुपर्ने उल्लेख गरिएको छ । यदि उक्त निर्णयहरू कार्यान्वयन भए÷नभएको गुनासो सुन्ने अधिकारीको पनि प्राधिकरणले व्यवस्था गरेको छ । प्राधिकरणका अनुसार शनिबारको बैठकमा भएको निर्णय कार्यान्वयन भए नभएको हेर्न प्राधिकरणले गुनासो सुन्ने अधिकारीको व्यवस्था गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
- रवि लामिछाने विरुद्धको अनुसन्धानमा अब भैरहवामा के हुन्छ, पोखरामा के-के भयो ?
- जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने
- धर्मका नाममा राजनीति हुनु हुँदैन: प्रधानमन्त्री
- उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन
- कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया