Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसात जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण

सात जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण


काठमाडौं । मारवाडी सेवा समितिअन्तर्गतको पशुपति गौशाला धर्मशालाले सात जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरेको छ । ८४औँ गोपाष्टमी महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सो खुट्टा वितरण गरिएको हो ।

धर्मशालाले आवश्यक पर्ने व्यक्तिलाई जुनसुकै बेला निःशुल्क कृत्रिम खुट्टा वितरण गर्ने गरे पनि चाडपर्वको बिदाका कारण रोकिएको कृत्रिम खुट्टा वितरण गोपाष्टमीको अवसरमा गरिएको जनाइएको छ । मारवाडी सेवा समितिका अध्यक्ष प्रमोदकुमार अग्रवालले धर्मशालाले २०५४/५५ सालबाट निःशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम सुरु गरेको जानकारी दिए । उनका अनुसार यसबाट हालसम्म विभिन्न कारणले खुट्टा गुमाएका छ हजार सात जना लाभान्वित भएका छन् । आगामी दिनमा पनि निःशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम निरन्तर रहने उनले बताए ।

धर्मशालाले कृत्रिम खुट्टा वितरणका अतिरिक्त मिर्गौलाका बिरामीलाई हेमोलाइलाइसिस सेवा पनि निःशुल्क उपलब्ध गराइरहेको छ । धर्मशालाका अध्यक्ष रमेश तापडियाका अनुसार २०७८ चैत २१ बाट सुरु गरिएको निःशुल्क हेमोडाइलाइसिस सेवाबाट हालसम्म तीन सय २४ बिरामीलाई २७ हजार नौ सय ७५ पटक डाइलाइसिस गरिसकिएको छ । हाल एक सय ९५ बिरामीले निःशुल्क लाइलाइसिस गराइरहेको पनि उनले जानकारी दिए । ‘दैनिक ८० देखि ९० जनाको डाइलाइसिस हुने गरेको छ,’ धर्मशालाका अध्यक्ष तापडियाले भने । यसका अलावा धर्मशालाले हरेक शनिबार निःशुल्क भोजन, निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण, शव वाहनको निःशुल्क सेवा, मेला र पर्वमा तीर्थालुलाई निःशुल्क भोजन र आवासलगायत सेवा पनि प्रदान गर्दै आएको उनले बताए ।

मारवाडी सेवा समितिका अध्यक्ष अग्रवालका अनुसार मारवाडी समुदायले देशका विभिन्न सहरमा १५ वटा गौशाला स्थापना गरी गोवंशको संरक्षण गर्दै आएको छ । काठमाडौंको मारवाडी समुदायले ८४ वर्षअघि नै गौशाला स्थापना गरी गोवंशको संरक्षण गर्दै आएको उनले जानकारी दिए । काठमाडौंको गौशालामा दुुई सय ५० र समितिअन्तर्गत धादिङको धार्केस्थित मारवाडी सेवा ग्राम गौधाममा दुई सय ५० गाईको संरक्षण भइरहेको छ । धादिङमा वृद्ध अवस्थाका गाईहरू संरक्षित छन् । उनका अनुसार मोरङको मारवाडी समुदायले श्री रंगेली गौचर गौशाला र श्रीकृष्ण गो सेवा सदनमार्फत गौ संरक्षणको काम गरिरहेको छ । रंगेली गौचर गौशाला २०३७ सालदेखि सञ्चालनमा छ । जनकपुरमा २०१० सालदेखि सीताराम गौशाला सञ्चालनमा छ ।

अन्य गौशालाहरूले पनि गोपाष्टमीमा विशेष अनुष्ठान सम्पन्न गरेका छन् । यी गौशालाहरूले मारवाडी समुदायमा सीमित गोपाष्टमी पर्व मनाउने चलनलाई सबै हिन्दु समुदायमा विस्तार गर्ने गरी काम गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x